सर्पले डसेर अन्तिम अवस्थामा पुगेका बिरामीले भेरी अस्पतालबाट नयाँ जीवन पाइरहेका छन्

मस्तिस्क पनि सुस्त अवस्थामा पुगिसकेका बिरामीलाई भेरी अस्पतालमा सर्पदंशको उपचारमा संलग्न डा.कृष्ण आचार्यको टोलीले सघन उपचार कक्षमा राखेर ‘क्रिटिकल केयर’सहित सर्पदंशको उपचार सुरु गर्‍यो। नौ दिनसम्म भेन्टिलेटरमा राखेर उपचार गरेपछि बिरामीले नयाँ जीवन पाएको डा.आचार्यले बताउनुभयो ।


    • स्वास्थ्य पेज

  • १८ जेष्ठ २०८०, बिहीबार

नेपालगन्जः सर्पले डसेर अन्तिम अवस्थामा पुगेका बिरामीले भेरी अस्पतालबाट नयाँ जीवन पाइरहेका छन् । तिनै मध्ये दैलेख दुल्लुका माधव आचार्य पनि एक हुनुहुन्छ । कामको खोजीमा भारत जान हिँडेका आचार्यलाई गत वैशाख ३१ गते बाँकेको कोहलपुरमा सर्पले डस्यो। कोहलपुरस्थित आफन्तकोमा बन्दै गरेको नयाँ घरमा सुतेका बेला राति आचार्यलाई सर्पले डसेको थाहा भएन। बिहान जिब्रो बाक्लो हुँदै गयो। केही पनि निल्न सक्ने अवस्था नभएपछि स्वास्थ्य उपचारका लागि आचार्य नजिकैको मेडिकल हुँदै शिक्षण अस्पताल कोहलपुर पुग्नुभयो ।

बिहान ७ बजे शिक्षण अस्पताल पुगेका आचार्यको स्वास्थ्य अवस्था बिग्रिएको थियो। सर्पदंशका कारण हो भन्ने एकीन नभएकाले शिक्षण अस्पतालका चिकित्सकले नाक, कान, घाँटी, आँखा विभागमा जाँच गर्दा गर्दै बिरामीको श्वास प्रश्वास प्रणालीमै समस्या भयो। सास फेर्न नसकेर ढलेपछि बिरामीको सघन उपचार कक्ष (आइसीयू)मा उपचार सुरु भयो।

आइसीयूमा राखेर उपचार गर्ने क्रममा पुगेका सर्पदंश व्यवस्थापन तालिम लिएका चिकित्सकले बिरामीको लक्षणअनुसार सर्पदंश भएको अनुमान गरे। त्यसपछि बिरामी १४ घण्टापछि राति ९ बजे शिक्षण अस्पताल कोहलपुरबाट भेरी अस्पताल नेपालगञ्ज रेफर गरियो। बेहास अवस्थामा भेरी अस्पताल पुगेका बिरामीको राति साढे १० बजे मात्रै उपचार सुरु भयो।

मस्तिस्क पनि सुस्त अवस्थामा पुगिसकेका बिरामीलाई भेरी अस्पतालमा सर्पदंशको उपचारमा संलग्न डा.कृष्ण आचार्यको टोलीले सघन उपचार कक्षमा राखेर ‘क्रिटिकल केयर’सहित सर्पदंशको उपचार सुरु गर्‍यो। नौ दिनसम्म भेन्टिलेटरमा राखेर उपचार गरेपछि बिरामीले नयाँ जीवन पाएको डा.आचार्यले बताउनुभयो ।

‘बिरामीको हिस्टोरी र लक्षण हेर्दा सर्पले टोकेको पुष्टि भए पनि भेरी अस्पताल पुग्दा बिरामीको अवस्था गम्भीर भएकाले क्रिटिकल केयरमा राखेर उपचार सुरु गरे बिरामी बाँच्ने सम्भावना देखियो’, डा आचार्यले भन्नुभयो, ‘यस्तो अवस्थामा एनटीस्न्याक भेनमको कुनै भूमिकानै थिएन, बिरामीलाई क्रिटिकल केयरको आवश्यकता थियो।’ नौ दिनमा भेन्टिलेटरको ट्यूब निकालिएको थियो ।

यो एउटा उदाहरण मात्र हो। सर्पले डसेर अन्तिम अवस्थामा पुगेका बिरामी भेरी अस्पतालमा आएपछि नयाँ जीवन पाएका धेरै घटना छन्। डा आचार्यले सर्पले टोकेका बिरामीलाई अस्पताल वा उपचार केन्द्रसम्म ल्याउनै ढिलो हुने गरेका कारण ज्यान जोखिममा पर्ने भएकाले सर्पले टोकेमा तुरुन्त अस्पताल वा उपचार केन्द्रमा पुर्‍याए बिरामीको ज्यान जोगिने बताउनुभयो ।

सर्पले टोकेमा गाउँटोलकै धामी, झाँक्री, गुरुवा वा अरु परम्परागत विधिमा नअल्झेर बिरामीलाई तुरुन्त सर्पदंश उपचार केन्द्र वा उपचार हुने प्रेषण अस्पतालमा ल्याउन उहाँको सुझाव छ । भेरी अस्पतालका प्रमुख कन्सल्टेन्ट फिजिसियन डा राजन पाण्डेले ८० प्रतिशत बिरामीको अस्पताल ल्याउँदा ल्याउँदै मृत्यु हुने गरेको बताउनुभयो। उहाँले भने,‘सर्पले टोकेमा प्रि हस्पिटल केयर नै सबैभन्दा महत्वपूर्ण हुन्छ, समयमै अस्पताल ल्याउन सके अकालमै ज्यान गुमाउनुपर्दैन।’,

भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा बद्री चापागाईँले सर्पले टोकेमा सरकारी अस्पतालमा एन्टिस्नेक भेनम निःशुल्क भए पनि भेन्टिलेटर र अरु उपचार तथा औषधि महँगो पर्ने भएकाले विपन्न व्यक्ति मारमा परिरहेको बताउनुभयो ।

 

  • १८ जेष्ठ २०८०, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech