जो कोभिड महामारीका अदृष्य हिरो थिए

    • स्वास्थ्य पेज

  • ७ जेष्ठ २०८०, आईतवार

वि.स २०७६ साल चैतमा नेपालमा कोरोना महामारीको सुरुवाती चरण थियो । सरकारले प्रयोगशाला विज्ञकारुपमा नियुक्त गरेर भाइरोलोजिष्ट सुलभ आचार्यसहितको विज्ञ टोलीलाई खटाइसकेको थियो । आचार्यसहितको टिमको जिम्मा थियो कोरोना परीक्षणका लागि पिसिआर परीक्षण संचालनगर्ने र परीक्षण दर बढाउने । त्यसकालागि पिसिआरमा दख्खल भएको जनशक्ति नेपालमै न्यून थियो । आचार्यसहितको टिम पिसिआर मेसिन संचालन गर्ने गरी चितवन पुग्यो ।

टिमले पिसिआर मेसिन संचालनको लागि उपयुक्त ठाउँ पशुपंक्षी अन्वेशन प्रयोगशाला ठहर गर्यो । तर प्रयोगशालाको हविगति दुरावस्था थियो । मेयर रेणु दाहाल, जिल्लाको उच्च सुरक्षा निकायको पहलमा तत्काल सरसफाईदेखि रंगरोगन गरियो । रामपुरबाट पिसिआर मेसिन लगियो । भरतपुर क्यान्सर अस्पतालबाट सेफ्टी क्याविनेट झिकाइयो । माइक्रो सेन्टीफ्युजको व्यवस्थापन गरियो । संचालनमा आयो पिसिआर मेसिन । तत्कालिन समयमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड महामारी नियन्त्रण प्रमुख कमान्डेट डा.गुणराज लोहनीको निर्देशनमा ४८ घण्टाभित्र पिसिआर मेसिन संचालन गर्ने गरी टिम चितवन पुगेको थियो ।

‘तर हाम्रो टिमले २४ घण्टामै संचालन गर्यौं’ आचार्य सम्झनुहुन्छ । यस्तो महामारीमा सबै जनमानसहरु भयको अवस्थामा आचार्यको पहलमा कोरोना महामारीमा थुप्रै ठाउँमा पिसिआर सेवा संचालन भयो । पिसिरआर परिक्षण गर्न सक्ने अनुभवी जनशक्ति नभएको अवस्थामा आचार्यले त्यस्ता मेसिनहरु संचालनका लागि प्रयोगशालाकर्मीहरुलाई प्राविधिक तालिम दिँदै हिड्नुभयो ।

कतै आफै उपस्थिति भएर तालिम दिनुभयो भने कतै भर्चुअल माध्यममा तालिम दिएर प्राविधिक ज्ञान दिनुभयोे । भेरी अस्पताल नेपालगन्ज, जुम्ला, दाङ, दैलेख, सुर्खेत, धनगढीसहितका ठाउँमा पुगेर उहाँले पिसिआर मेसिन संचालनकालागि महत्वपूर्ण योगदान पुर्याउनुभएको छ । जसका कारण समयमै कोरोना भाइरस पत्ता लगाएर उपचार र निदानमा ठूलो सहयोग पुर्यायो ।

किन आवश्यक छ नियमित ल्याव परीक्षण ?
नियमित प्रयोगशालाको परीक्षण गर्दा कुनै पनि रोगको सुरुवाती चरणमानै रोग पत्ता लगाउन सकिन्छ । क्यान्सर, मुटु सम्बन्धी रोग, मधुमेह, भनेको सुरुवाती दिनमा बिना लक्षणको हुन्छ । तर ल्याव परीक्षण गर्ने हो भने यसको अवस्था पत्ता लगाउन सहज हुन्छ । यसरी सुरुवाती दिनमै रोग पत्ता लगाउन सकियो भने उपचार समयमै भै हुने र विरामीलाई थप जटिलता आउनबाट जोगाउन सकिन्छ भने खर्च पनि जोगाउन सकिन्छ ।

आफ्नो स्वास्थ्यलाई नियमित परिक्षण गरायौं भने रोगहरुको रोकथामबारे ज्ञानलिन सक्छौं र डाक्टरहरुको सल्लाह बमोजिम आफ्नो आहारविहारको सन्तुलन कायम गर्न सकिन्छ । यसले तनाव व्यवस्थापनमा पनि ठूलो भूमिका निर्वाह गर्छ । प्रयोगशाला परीक्षणहरु प्रायःहाम्रो स्वास्थ्यमा आएका परिवर्तनहरु हेर्नको लागि नियमित जाँचका भागहरु हुन ।

को हुनुहुन्छ सुलभ आचार्य
बर्दियाको बारबर्दियामा बुवा शरद कुमार शर्मा र आमा सरिता आचार्यको कोखबाट वि.स २०४४ साल कार्तिक १६ गते सुलभ आचार्यको जन्मभयो । सुलभका एउटी दिदी र एकजना भाइ हुनुहुन्छ । प्रारम्भिक अध्ययन बर्दियाको गुलरिया स्थित बागेश्वरी इंग्लिस स्कुलमा भयो । १ देखि कक्षा ३ सम्म बागेश्वरीमा अध्ययन गरिसकेपछि कक्षा ४ देखि एसएलसी भने उहाँले नेपालगन्जको ब्राइटल्याण्ड स्कुलबाट गर्नुभयो । पढाइमा अब्बल आचार्यले वि.स २०६३ मा काठमाडौंस्थित क्यासपियन भ्यालीकलेजबाट आइएस्सी गर्नुभयो । नोवेल कलेजबाट मेडिकल माइक्रो बायोलोजीमा विएस्सी गर्नुभएका आचार्यले मेडिकल माइक्रो बायोलोजी विधाको भाइरोलोजीमा एमएस्सीे, छात्रावृत्तिमा थाइल्याण्डको खोनक्यान युनिभर्सिटीको फ्याकेल्टी अफ मेडिसिनबाट गर्नुभयो ।

सन् २०१४ माअध्ययन गरेर नेपाल फर्केपछि आचार्यले नोवेल कलेजमा वायोइन्फरमेटिक्स विषयमा अध्यापन गर्ने देखि नयाँ बानेश्वरमा रहेको नेशनल रेफरेन्स ल्यावोरेटरीमा मलिकुलर विभागमा विभागिय प्रमुख भएर काम गर्नुभयो । तत्कालिन समयमा नीजि क्षेत्रका कुनै पनि रेफरेन्स प्रयोगशालामा पिसिआर परीक्षण नभएको अवस्थामा आचार्य एक्लैले नेशनल रेफरेन्स ल्यावोरेटरीमा पिसिआर परीक्षणको सुरुवात गर्नु भएको थियो । सो परीक्षणको सुरुवात हुनुभन्दा अगाडि नेपालमा हेपाटाइटिस बि, हेपाटाइटिस सि का भाइरल लोड, एचपिभि भाइरस र एचएलए B27 परीक्षणको लागि नमूना भारत पठाउनु पर्ने बाध्यता थियो । र, रिपोर्ट आउन २० देखि २५ दिन लाग्ने अवस्था थियो । उहाँले नेशनल रेफरेन्स ल्यावोरेटरीमा पिसिआर परीक्षण सुरुवात गरेपछि २ देखि ३ दिनमा आउन थाल्यो । जसका कारण विरामीलाई डायग्नोसिस र उपचार सेवामा सहजता पुग्यो ।

स्वास्थ्य पेजका लागि प्रियास्मृति ढकालसँग कुराकानी गर्दै आचार्य ।

साथै आचार्यले सिएनालाइटेकमा एप्लिकेशन स्पेशियलिष्टको रुपमा समेत काम गर्न थाल्नुभयो । पश्चिम नेपालका विशेष गरी थारु समुदायमा देखिएको रगतका वंशाणुगत रोग सिकलसेल एनिमिया थालेसेमियाको एचपिएलसी प्रविधि बाट कसरी थाहा पाउने भनेर विभिन्न जिल्लामा डाक्टर, प्याथोलोजिष्ट र स्वास्थ्यकर्मीहरुलाई तालिम समेत प्रदान गरेको अनुभव आचार्यसँग छ ।

वि.स २०७६ साल चैत २२ गते आचार्यलाई स्वास्थ्य मन्त्रालयले प्रयोगशाला विज्ञकारुपमा नियुक्त गर्यो । त्यसपछि उहाँले भेरी अस्पताल नेपालगन्जमा रहेर युएसएआइडीको स्वास्थ्यका लागि सक्षम प्रणाली परियोजनामा ल्याब्रोटरी स्पेशियलिष्टका रुपमा कर्णाली र लुम्विनी प्रदेशका १६ जिल्ला हेर्नेगरी काम गर्नुभयो । काममा सधैं अब्बल हुने सफल प्रयोगशाला विज्ञ आचार्य अहिले नेपालगन्ज चारवाहिनी रोडमा रहेको नेपालको ‘बि’ लेबलको रिफरेन्स प्रयोगशाला थोपा प्रयोगशालामा प्रमुख कार्यकारी अधिकृतको रुपमा रहि पश्चिम नेपालका सयौं बिरामीहरुको ल्याव परिक्षण गरिरहनु भएको छ ।

(भाइरोलोजिष्ट सुलभ आचार्यसँग गरिएको कुराकानीमा आधारित ।)

  • ७ जेष्ठ २०८०, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech