एमडिजिपी डा.उमाकान्त तिवारी भित्रिएसँगै प्रतिष्ठानको सेवा सुधारिँदै

    • प्रियास्मृति ढकाल

  • २१ पुष २०७९, बिहीबार

नेपालगन्जः इमरजेन्सी विभागमा पहिलो पटक कन्सल्टेन्ट चिकित्सक वस्न थालेपछि घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको सेवा सुधारिन थालेको छ । अस्पतालमा एमडिजिपी डा. उमाकान्त तिवारी भित्रिएसँगै प्रतिष्ठानले उहाँलाई इमरजेन्सी विभागको प्रमुखको जिम्मेवारी दिएको छ ।

अहिले डा तिवारीकै कमाण्डमा ८ जना एमबीबीएस डाक्टर, प्यारामेडिक्स तथा नर्सहरु इमरजेन्सी विभागमा परिचालित छन् । यसअघि इमरजेन्सी विभाग एच.एको भरमा चलेको थियो । पाटन अस्पतालबाट एमडी पूरा गरेलगत्तै डा तिवारी एक महिना अघि प्रतिष्ठानमा हाजिर हुनु भएको हो । डा तिवारीले इमरजेन्सी विभागको कमाण्ड सम्हालेपछि विरामीहरुले सहज, सरल र गुणस्तरीय सेवा पाउन थालेका छन् ।

‘अस्पतालको इमरजेन्सी भनेको घरको मुल ढोका जस्तै हो उहाँले भन्नुभयो–‘जव तपाईको मूल ढोका ठिक छैन, बलियो छैन भने चोर पस्ने जोखिम हुन्छ । त्यस्तै अस्पतालको इमरजेन्सीले अस्पतालको अवस्था दर्शाउँछ । इमरजेन्सीमा जाँदाजाँदै तुरुन्त उपचार भयो कि भएन ? समयमा विरामीको रोग पहिचान भयो कि भएन ? भन्ने कुरा महत्वपूर्ण हो । अहिलेसम्म प्रतिष्ठानको इमरजेन्सी विभागमा एमडिजिपी गरेको चिकित्सक नै आएको रहिन्छ । म आएदेखि इमरजेन्सी विभागलाई विरामीमैत्री र गुणस्तरीय बनाउँदै लैजाने प्रयास प्रारम्भ भएको छ ।’

इमरजेन्सी विभागमा आउने विरामीको अवस्था वर्गिकरण गरेर उपचार गर्ने गरिएको छ । विरामीलाई छिटोछरितो, गुणस्तरीय र प्रभावकारी सेवा दिनका लागि रोगको जटिलताका आधारमा वर्गीकरण गरेर उपचार सेवा दिने गरिएको हो । इमरजेन्सी विभागले अहिले रोग पहिचान गरेरमात्रै उपचार गर्ने विधिलाई अवलम्वन गरिएको छ । ‘यसअघि एउटा विरामीलाई पाँच–सात थरीका औषधि भिडाउने गरिन्थ्यो, त्यतिधेरै औषधि दिँदा एकातिर विरामीले अनावश्यक औषधि खानु पर्यो अर्को तर्फ आर्थिक व्यवभार पनि थपियो उहाँले अगाडि भन्नुभयो–‘अहिले त्यो अवस्था बन्द भएको छ । विरामीको रोग पहिचान भएपछि मात्र औषधि दिने गरिएको छ ।’

एमडिजिपी डाक्टर हुँदा विरामीले तत्काल उपचार पाउने गरेका छन् । त्यस्तै विरामीको अवस्था अनुसारको उपचारका लागि अन्तर विभाग समन्वयको काम पनि प्रभावकारी देखिएको छ । ‘सामान्य खाले अप्रेसनका लागि जिल्लाबाहिर जानुपर्ने बाध्यता समेत अव रहँदैन डा तिवारीले भन्नुभयो–‘अहिले त प्रतिष्ठानमा रेफरल विरामी आइरहेका छन् ।’ उहाँले अहिले प्रतिष्ठानमा जनरल प्रयाक्टिस ओपिडि सेवा पनि सुरु गर्नुभएको छ । यो ओपिडि यसअघि प्रतिष्ठानमा थिएन । अहिले दैनिक २० देखि ३० जना बिरामी उपचारका लागि आउने गरेको डा तिवारीको भनाइ छ ।

को हुनुहुन्छ डा तिवारी ?
वि.स २०४६ साल बैशाख २२ गते जुम्लाको सिंजामा जन्मिनुभएका डा तिवारी पढाइमा अव्वल मानिनुहुन्छ । पढ्न तिक्षण तिवारी कक्षामा कहिले दोस्रो हुनु भएन् । जुम्लामा कक्षा ५ सम्म अध्ययन गरेपछि तत्कालीन सशस्त्र विद्रोहका कारण उहाँको परिवार विस्थापित भएर कैलाली झर्यो । कैलालीमा उहाँले कक्षा ६ र ७ सम्म अध्ययन गर्नुभयो ।

८, ९ र १० कक्षा भने किर्तिपुरमा पढ्नुभयो । २०६३ सालमा उत्कृष्ट नतिजासहित एसएलसी उर्तिण गरेपछि उहाँले २०६५ सालमा सेभिर्यस ललितपुरबाट आइएसी गर्नुभयो । भैरहवा युनिभर्सल कलेजबाट २०७२ सालमा छात्रवृत्तिमा एमविविएस गर्नुभएका डा तिवारीले २०७९ सालमा छात्रावृत्तिमै पाटन अस्पतालबाट एमडी गर्नुभएको हो ।

डा. उमाकान्त तिवारी

उहाँले जिल्ला अस्पताल कालिकोट, भजनी प्राथमिक स्वास्थ्य केन्द्र कैलाली, पाटन अस्पतालमा बसेर पनि सेवा प्रवाह गरिसक्नुभएको छ । भजनी प्राथमिक स्वास्थ्य केन्द्रमा उहाँकै पहलमा केन्द्रको फार्मेसी शुभारम्भ भएको हो । सम्भवतः स्वास्थ्य केन्द्रमा आफ्नै फार्मेसी भएको भजनी स्वास्थ्य केन्द्र नेपालकै पहिलो हो ।

उहाँको वुवा अझै पनि किसानी गर्नु हुन्छ भने आमा गृहणी । चार भाइवहिनी मध्ये उहाँकी ठूलो दिदी निजामति कर्मचारी हुनुहुन्छ भने वहिनी नि डाक्टर हुनुहुन्छ । भाइ भने इन्जिनियर हुनुहुन्छ ।

 

  • २१ पुष २०७९, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech