‘महिला क्यान्सर रोग विशेषज्ञ डा घोष जसले नेपालगन्जमा बसेर जटिल शल्यक्रिया गरिरहेका छन’

    • स्वास्थ्य पेज

  • ९ आश्विन २०७९, आईतवार

नेपालगन्जः नेपालमा पछिल्लो समय पाठेघरको मुखको क्यान्सरको समस्या विकराल बन्दै गएको छ । पश्चिम नेपालका महिलामा पनि पाठेघरको मुखको क्यान्सरको अवस्था विकराल नै देखिएको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालका कन्सल्टेन्ट गाइने अंकोलोजिष्ट डा इन्द्रनिल घोषले बताउनुभयो ।

विगत ९ महिनादेखि क्यान्सर अस्पतालमा सेवारत महिला क्यान्सर रोग विशेषज्ञ डा घोषले अहिलेसम्म करिव चार दर्जनबढी मेजर सर्जरी गरेर जटिल अवस्थामा पुगेका महिलाहरुको ज्यान जोगाउनु भएको छ । क्यान्सर रोग उपचारमा भारतको कोलकोता टाटा मेडिकल सेन्टरबाट विज्ञता हासिल गर्नुभएका यसक्षेत्रका एक्ला महिला क्यान्सर रोग विशेषज्ञ डा घोषको नेतृत्वमा पहिलो पटक क्यान्सर अस्पतालमा कोल्पोस्कोपी सेवा प्रारम्भ भएको छ ।

कोल्पोस्कोपी मेसिनबाट महिलाहरुको पाठेघरको मुखको जाँच गर्ने प्रक्रिया हो जसको मुख्य उद्देश्य पाठेघरको मुखमा हुन सक्ने घाउहरु समयमै पत्ता लगाई क्यान्सर हुनबाट बचाउनु हो । यसका अलावा कोल्पोस्कोपीको प्रयोग पाठेघरको असामान्य अवस्थाहरुको जानकारी लिनको लागि समेत गरिन्छ । पाठेघरको मुखको क्यान्सरको सफल शल्यक्रिया हुन थालेपछि यसक्षेत्रका बिरामीहरुलाई भारत तथा काठमाडौं जानु पर्ने बाध्यता टरेको छ ।

कोल्पोस्कोपी मेसिन नहुँदा पाठेघरको मुखको क्यान्सर पहिचान गर्नकै लागि बिरामीहरु भारत तथा काठमाडौं जानु पर्ने अवस्था थियो । क्यान्सर पत्ता लगाउने आधुनिक पद्धतिको विकास सँगसँगै समुदायमा जनचेतनामुलक कार्यक्रमहरु संचालन गरेमा क्यान्सरबाट हुने स्वास्थ्य समस्या न्यूनिकरण भई मानिसहरुको शारीरिक, मानसिक र सामाजिक स्वास्थ्यलाई सुधान गर्न सकिने डा. घोषको भनाइ छ ।

‘अझै पनि समाजमा जनचेतनाको कमी छ जस्तो लाग्छ उहाँले भन्नुभयो–‘गाउँमा त सेवा–सुविधा पनि धेरै छैन । तर, सहरी क्षेत्रका नै मानिस पनि आफूलाई केही नपरेसम्म अस्पताल जाँदैनन् ।’ बिरामीले श्रीमान्सँग शारीरिक सम्पर्क गर्दा रगत देखापर्ने, महिनावारी सुकिसकेपछि पनि अलिअलि रगत देखापर्नु, यौन सम्पर्क गर्दा योनीको भित्री भागमा दुख्नेजस्ता कुनै पनि लक्षण देखिए पाठेघरको मुखको क्यान्सरको शंका गर्न सकिन्छ ।

डा घोष महिनावारी सुकिसकेपछि एक थोपा पनि रगत देखिए तत्काल विशेषज्ञ चिकित्सक कहाँ जानै पर्ने सुझाव दिनुहुन्छ । अहिलेसम्मका बिरामीको अवस्था केलाउँदा ग्रामीण क्षेत्रका महिलामा पाठेघरको मुखको क्यान्सर र सहरी क्षेत्रका महिलामा पाठेघर मुखभित्रको क्यान्सर बढी देखिएको पाइएको उहाँको भनाइ छ । नेपालगन्जस्थित कान्ति आरोग्य अस्पतालमा समेत कार्यरत डा घोष पाठेघरको नियमित जाँच गराइराख्न र केही समस्या नपरे पनि वर्षमा एकपटक आफ्नो स्वास्थ्यकर्मीलाई गएर एकपटक जचाउँने हो भने पाठेघरको क्यान्सरबाट जोगिने सुझाव दिनुहुन्छ । कान्ति आरोग्यमा पनि डा घोषले थुप्रै जटिल शल्यक्रिया गरिसक्नु भएको छ ।

को हुन् डा इन्द्रनिल घोष ?
वीरगन्ज महानगरपालिका–६ आदर्शनगरमा २०४१ सालमा घोषको जन्म भएको हो । २०५६ सालमा जनज्योति उच्च माविबाट एसएलसी उर्तिण गर्नु भएका घोषले २०५८ सालमा भारतको भोलानन्द नेशनल विद्यालयबाट १२ कक्षा उर्तिण गर्नुभयो ।

२०६५ मा चिनबाट एमबिबिएस गर्नुभएका डा घोषले छात्रावृत्तिमा गाइनेमा एमडी गर्नुभएको हो । त्यसपछि उहाँ भारतको कोलकोत्तास्थित टाटा मेडिकल सेन्टरमा गएर दुई वर्ष क्यान्सर सर्जनको विज्ञता हासिल गरेर फर्किनुभयो ।

कोलकोत्ताबाट फर्केपछि जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पाँच महिना सेवा दिएपछि उहाँ खजुरा क्यान्सर अस्पताल आउनुभएको हो ।

क्यान्सर सर्जन घोषले अहिले नेपालगन्जमा बसेर यसक्षेत्रमा प्रसूति तथा स्त्रीरोगको उपचार र परामर्श सेवा दिँदै आउनुभएको छ ।

  • ९ आश्विन २०७९, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech