हरेक विहान म निस्किन्छु,
भनौँ म स्वयम् निकालिन्छु
कसैको लागि अक्सिजन बोकेर
भनौँ स्वयम् आफै बोकिएर हिँडिरहेकी मलाई
खिया लागेका भित्ताहरुको बीचमा
जीवनबीँजहरुले पर्खिरहेका हुन्छन्
अनन्त आकासले थिचेका रातहरु,
भवरात्रीले थिचेका निन्द्राहरु
निन्द्राले थिचेका अजागृत सपनाहरु
सपनाले थिचेका पैतालाहरु डोर्याउँदै
हर रात्रीमा म निस्किन्छु
भनौँ म स्वयम् निकालिन्छु
कसैको लागि अक्सिजन बोकेर
भनौँ स्वयम् आफै बोकिएर हिँडिरहेकी मलाई
आकास बोकेर बीच शहरमा ठिङ्ग उभिएको,
हस्पिटलका बेडहरुले पर्खिरहेका हुन्छन् ।
दौडिरहेको समयभन्दा तेज भाग्नु छ,
झरीभन्दा, शितभन्दा, वतासभन्दा, घामभन्दा
तिमी जे–जे देख्छौ त्यो भन्दा बढ्ता दौडिनु छ
मलाई तिम्रो शक्तिहिनताको बिल्ला नठाँटिन सक्छ
मलाई तिम्रो कायर शब्द बरदास्त नहुन सक्छ
मेरा खुट्टा बाउँडिन्छन्, श्वास फूल्छ सत्य हो
घाँटी सुक्छ, शरीर दुख्छ त्यो पनि सत्य हो
तर म स्वयम् कहिलै दुख्दिन, कहिलै दुखाउँदिन
हर दुखाइमा पनि म निस्किन्छु,
भनौँ म स्वयम् निकालिन्छु ।
कसैको लागि अक्सिजन बोकेर ।
भनौँ स्वयम् आफै बोकिएर हिँडिरहेकी मलाई ।
कसैको अत्यासलाग्दो जीन्दगीले पर्खिरहेको हुन्छ ।
म हरेक दिन, हरेक क्षण गुज्रिने गल्ली ।
बिहान हुन सक्छ, साँझ हुन सक्छ वा रात्री हुन सक्छ ।
छेवै लडियाको मकै मेरो नाकमै पोलिन्छ ।
सम्झिन्छु आमैले पस्किएको भातै छोडेर आएकी हुँ ।
मन्दिरमा बेजोडले भगवान पुकारीरहेका घन्टीहरु बज्छन् ।
सम्झिन्छु, यो छिमेकीको रात्रीकालिन पूजा हो ।
तर म त्यहीँ भोक छोडेर रात्रीलाई कुल्चिँदै ।
हर श्वासहरु गन्दै निस्किन्छु ।
भनौँ म स्वयम् निकालिन्छु ।
कसैको लागि अक्सिजन बोकेर ।
भनौँ स्वयम् आफै बोकिएर हिँडिरहेकी मलाई ।
ड्युटी खटाउने रजिष्ट्ररका पानाहरुले पर्खिरहेका हुन्छन् ।
अचेल कोही आएको छ दुस्मन बनेर ।
ऊ हराम छ, बिरामी पार्छ, कसैलाई मार्छ
अर्को आएको छ, मेरो परिचित,
कुनैबेला उसले मलाई सलाम ठोक्थ्यो,
साइकिलको घन्टिले सिस्टर नमस्कार भन्थ्यो,
उहीँ त अचेल अस्पतालको शैयामा दुस्मनसँग छ
उनीहरु सँगसँगै सुत्छन्, अनि उठ्छन् पनि ।
कहिँलेकाहीँ बेजोडले खोक्छ, श्वाँ श्वाँ गर्छ
कहिलेकाँही जीन्दगी भुलेर फत्किन्छ
म दौडेर उसको सिरानीमा पुग्छु,
ऊ विस्तारै मलाई चियाउँदै बोल्छ,
हजुरभन्दा कोरोना बलियो कसरी सिस्टर ?
हस्पिटलको बेडमा पल्टिएका हरेक ऊ हरु
सोच्दा हुन् म जस्तै महरु धेरै बलिया छौँ
शायद् यस्तै प्रतीत हुँदो हो
सेतो कोटभित्रको जीन्दगीले श्वास फेर्दैन
मानौ हाम्रा ढुङ्गा निर्मित मनहरु हुन्
जुन बज्रजस्तै छन्
कहिलै फुट्दैनन्, कहिलै दुख्दैनन्
हर अजनवीहरु जो चराजस्तै छन्
भुर्र उडेर आउँछन्, कोहि घाइते भएर आउँछन्
आइरहन्छन् आइरहन्छन्
त्यसैले प्रियहरु , म चाहनाहरु साँचेर के गर्छु ?
चाहनाहरु छताछुल्ल छोडेर निस्किन्छु
भनौँ म स्वयम् निकालिन्छु
कसैको लागि अक्सिजन बोकेर
भनौँ स्वयम् आफै बोकिएर हिँडिरहेकी मलाई
तिनै अजनवीहरुको भरोसाले पर्खिरहेको हुन्छ ।।