चितवन मेडिकल कलेजमा पहिलोपटक कलेजो प्रत्यारोपण सेवा सुरु

    • स्वास्थ्य पेज

  • १२ चैत्र २०७७, बिहीबार

चितवन:चितवन मेडिकल कलेजले काठमाडौं उपत्यकाबाहिर पहिलोपटक कलेजो प्रत्यारोपण सेवा सुरु गरेको छ ।

भरतपुर महानगरपालिका वडा नं १० घरभई हाल काठमाडौं बस्दै आउनुभएकी ५४ बर्षकी धनकुमारी लामाको शल्यक्रिया गरी उपत्यकाबाहिर कलेजले कलेजो प्रत्यारोपण सेवा सुरु गरेको हो ।

५४ वर्षीया लामालाई उनकी ३४ वर्षीया छोरी उषा तामाङले कलेजो दिएकी हुन्। भारतको नयाँदिल्लीस्थित एपोलो अस्पतालका डा निरभ गोयलको प्राविधिक सहयोगमा प्रत्यारोपण सेवा सुरु भएको मेडिकल कलेजले जनाएको छ ।

प्रत्यारोपण टोलिमा डा सञ्जय यादव, डा एकानन्द सिंह, डा प्रविण जोशी, डा जयन्त कुमार साह, डा अभिषेक भट्टराई लगायत हुनुहुन्थ्यो । १२ घण्टा लगाएर सफल कलेजो प्रत्यारोपण गरिएको डा सञ्जय यादवले जानकारी दिनुभयो ।

कलेजो प्रत्यारोपण गर्ने आमा र दान गर्ने छोरी दुवैको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको अस्पतालले पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको छ ।

यसअघि काठमाडौं उपत्यकामा त्रिवि शिक्षण अस्पताल र मानव अंग प्रत्यारोपण केन्द्रबाट कलेजो प्रत्यारोपण हुँदै आएको थियो ।

  • १२ चैत्र २०७७, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech