विश्व क्षयरोग दिवसः क्षयरोग कसरी लाग्छ ? लक्षण कसरी थाहा पाउने ?

    • प्रियास्मृति ढकाल

  • ११ चैत्र २०७७, बुधबार

क्षयरोग अर्थात टिबी रोग । धेरैलाई थाहा छ, यो एक सरुवा रोग हो । क्षयरोग कसरी लाग्छ, यसका लक्षण के कस्ता हुन्छन् भन्ने विषयमा भने धेरैलाई जानकारी नहुन सक्छ । दुई हप्ताभन्दा बढी समय एकनासले खोकी लाग्नु, खोकीसँगै खकारमा रगत देखिनु, हल्का ज्वरो आउनु क्षयरोगको सामान्य लक्षण हो । क्षयरोगका यसबाहेक पनि अन्य धेरै लक्षण छन् । यी लक्षण हेरेर क्षयरोग लागे÷नलागेको थाहा पाउन सकिन्छ । सामान्यतया क्षयरोग माइक्रोबैक्टेरियम ट्यूबरकुलोसिस नामक व्याक्टेरियाको संक्रमणका कारण हुने रोग हो । कुनै पनि क्षयरोगीको सम्पर्कमा आउनाले यो रोग सर्ने जोखिम हुन्छ । अस्वस्थ जीवनशैली तथा अस्वस्थकर खानपानका कारण पनि मानिसलाई क्षयरोगको संक्रमण हुने खतरा बढ्छ । हालै सम्पन्न राष्ट्रिय क्षयरोग प्रिभ्यालेन्स सर्वेक्षणले नेपालमा वार्षिक ६९ हजार नयाँ विरामीहरु थपिने गरेको उल्लेख गरेको छ । हालका वर्षमा प्रति बर्ष करिव ३२ हजार हाराहारीमा क्षयरोगका विरामीहरु पत्ता लागि उपचारमा आउने गरेका छन् । क्षयरोगको अवस्था र यस्का लक्षण कसरी थाहा पाउने ? स्वास्थ्य कार्यालय बाँकेका क्षयरोग फोकलपर्सन

बाँकेमा क्षयरोगको अवस्था कस्तो छ ?
बाँकेमा गएको आर्थिक वर्ष २०७६/०७७ मा ८ सय ३३ जना क्षयरोग (टिबी)का विरामी फेला परेका थिए भने चालु आर्थिक वर्षको हालसम्म ०७७/७८ मा ५ सय २५ जना फेला परेका छन् । ८ सय ३३ जना मध्ये ४ सय ७८ जनामा खकारमा क्षयरोगको संक्रमण देखिएको थियो भने ३ सय ५५ जनामा खकार भन्दा बाहिर क्षयरोग देखिएको थियो । चालु आर्थिक वर्षको हालसम्म फेला परेका ५ सय २५ मध्ये ३ सय १० जनामा खकारमा क्षयरोगका किटाणु देखिएका छन् भने २ सय १५ जनामा खकारभन्दा बाहिरी शरिरमा टिभीका किटाणु फेला परेका छन् ।

उसो भए क्षयरोगीहरु फेला पर्ने क्रम बढेको हो ?
सहि भन्नुभयो । नेपालको कुल जनसंख्याको आधा जनसंख्यामा क्षयरोगको संक्रमण भएको अनुमान छ । सरुवा रोग भएकाले एउटै व्यक्तिले १० जनासम्म सार्ने गर्छ । हामीलाई रोगीहरु पत्ता लगाउनमात्र समस्या भएको हो । जुन अनुपातमा रोगीहरुको पहिचान गर्नु पर्ने हो त्यो सकिएको छैन् ।

मानव जी किन सकिएन ?
सबैभन्दा पहिलो कुरा त स्वास्थ्य चेतना नै हो । मानिसहरुमा चेतनाको अभावका कारण धेरैजस्तोको स्वास्थ्य संस्थासम्म पुग्दै पुग्दैनन् । सामान्य रुघाखोकी हो भनेर त्यसैको उपचार गरेर बसिरहेका हुन्छन् । यसले गर्दा परिवारका अन्य सदस्यसँगै छिमेकी तथा समाजमा समेत संक्रमण फैलिरहेको हुन्छ । कतिपय विरामी प्राइभेट क्लिनिकमा उपचार गर्ने गर्छन् । त्यसको रिपोर्टिङ हामीसँग आइपुग्दैन् ।

क्षयरोग कति प्रकारको हुन्छ ?
मुख्यतः क्षयरोगलाई दुई भागमा वर्गीकरण गर्न सकिन्छ –फोक्सोको क्षयरोग र फोक्सो बाहेक अन्य भागमा लाग्ने क्षयरोग (ग्रन्थी, आन्द्रा, मेनेन्जेस, हाड, प्रजनन तथा मूत्र प्रणाली, छाला आदि)। फोक्सो बाहेक अन्य भागमा लाग्ने क्षयरोगको निदान गर्न फोक्सोको क्षयरोग भन्दा गाह्रो हुन्छ । फोक्सोको क्षयरोगका लक्षणहरू –दुई साता वा सो भन्दा बढी समयसम्म लगातार खोकी लागिरहनु, शरीरको तौल घट्नु, खाना खान मन नलाग्नु, खासगरी बेलुकापख ज्वरो आउनु, छाति दुख्नु, खकारमा रगत देखिनु आदि । त्यसैगरी फोक्सोबाहेक अन्य भागमा लाग्ने क्षयरोगका लक्षणहरु अंग अनुसार फरक हुने गर्छ । जस्तै टि.बी. मेनेन्जाइटिस भएको खण्डमा विस्तारै– विस्तारै टाउको दुख्न थाल्ने, ज्वरो आउने, घाँटी अररो हुने, मानसिक भ्रम हुने, शरीर काम्ने तथा बेहोस हुने आदि हुन सक्छ । हाड तथा जोर्नीको क्षयरोग भएको खण्डमा क्षयरोगले प्रभावित पारेको हाड वा जोर्नी दुख्ने, हाड जोर्नी चलाउन गाह्रो हुने तथा सुन्निने, पछि छालामा प्वाल बनि पीप निस्कने आदि हुन सक्छ । पेटको क्षयरोग भएको खण्डमा पेट दुख्ने, दिसा पातलो हुने, दुब्लाउँदै जाने, पेटमा छाम्दा डल्लो फेला पनेर्, मन्द ज्वरो आउने तथा खाना रुची नहुने आदि हुन सक्छ । त्यस्तै ग्रन्थीको क्षयरोग भएको खण्डमा ग्रन्थीको आकार बढ्ने, ग्रन्थीमा तातोपन नहुने, सुन्निने ग्रन्थी नदुख्ने साथै धेरै ग्रन्थीहरु एक अर्कामा जोडिएको जस्तो हुने र पछि छालामा प्वाल बनि पीप निस्कने आदि हुन सक्छ ।

क्षयरोग कसरी सर्छ ?
फोक्सोको क्षयरोग भएका विरामीहरुले खोक्दा, हाच्छिउँ गर्दा र थुक्दा क्षयरोगका किटाणुहरु बाहिर बातावरणमा निस्कन्छन् । यसरी निस्किएका किटाणु स्वस्थ मानिसमा श्वास प्रश्वासको माध्यमबाट फोक्सोमा पुग्दछन् र क्षयरोग लाग्न सक्छ । क्षयरोगका किटाणुबाट प्रभावित भएका सबै व्यक्तिलाई क्षयरोग लाग्दैन् । यदि क्षयरोगका किटाणुहरुको आक्रमण गरेका व्यक्तिहरुमा रोगसँग लड्ने क्षमता राम्रो छ भने रोग लाग्दैन् । तर रोगसँग लड्ने क्षमता कम भए यो रोगले छिटो आक्रमण गर्छ । जस्तैः कुपोषण, एचआईभी संक्रमण तथा मधुमेह भएका मानिसहरुमा यो रोग छिटो विकसित हुन्छ । एकजना क्षयरोगीले एक बर्षमा कम्तीमा पनि १० देखि १५ जनासम्म स्वस्थ मानिसलाई क्षयरोग सार्न सक्छ ।

क्षयरोगको निदान कसरी गर्न सकिन्छ ?
दुइ हप्ता भन्दा बढी खोकी लागेमा अनिवार्य खकार परीक्षण गर्नुपर्दछ । त्यस्तै क्षयरोग निदानको लागि एक्स–रे, मण्टुटेष्ट पनि सहायक माध्यम हुन् । फोक्सोको क्षयरोग निदान गर्ने सरल र भरपर्दो उपाय भनेको खकार परीक्षण गर्नु नै हो । क्षयरोगीको पहिचान गरेर उपचारको पहुँचमा ल्याउन सकियो भने सर्ने दर कम हुन्छ । सर्ने दर कम हुना साथ संक्रमण फैलिने जोखिम घट्दै जान्छ । मुख्य कुरा सर्ने जुन चेन छ त्यस्लाई ब्रेक गर्नु पर्छ ।

केही गरी निदान गर्न गाह्रो भएमा Gene Xpert प्रविधिबाट परीक्षण गराउनु पर्छ। फोक्सोबाहेक अन्य भागमा लाग्ने क्षयरोग निदानको लागि FNAC, Biopsy, Culture test आदि परीक्षण उपयोगी हुन्छन् । क्षयरोग नियमित रूपमा औषधिको सेवनबाट पूर्ण रूपमा निको हुन्छ । नेपाल सरकारले क्षयरोग विरुद्धमा अति प्रभावकारी औषधिहरु निःशुल्क वितरण गराउँदै आएको छ ।

उपचार अवधी भने संक्रमित अंग, रोगको प्रकृति हेरी फरक हुन्छ । यस अवधिमा सबै विरामीहरुलाई डट्स अन्तर्गत राखेर उपचार गरिन्छ, जसमा विरामीलाई प्रत्येक दिन उपचार सहयोगीको प्रत्यक्ष निगरानीमा औषधि खुवाउने गरिन्छ । औषधिहरुको सेवनबाट पिसाव रातो हुन सक्छ तर यो सामान्य हो, डराउनु पर्दैन ।

 

  • ११ चैत्र २०७७, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech