एजेन्सी –
कोरोना भाइरसको महामारीबाट बढि प्रभावित भएको मध्ये एक ब्राजिलमा खोप अभियान सुरु भएको छ ।
दक्षिण अमेरिकी देश ब्राजिलमा अग्रपंक्तिमा रहेर सेवा प्रदान गर्ने नर्सलाई खोपको पहिलो डोज दिएर खोप अभियान थालिएको हो । ब्राजिलको नियामक निकाय एनविजाले दुई खोपलाई आकश्मिक प्रयोगका लागि स्वीकृति प्रदान गरेको छ ।
ब्राजिलले अक्सफोर्ड–एस्ट्राजेनेका र चीनले बनाएको सिनोभाक खोपलाई स्वीकृति प्रदान गरेको हो ।ब्राजिलका सबै २७ राज्यमा खोप अभियान आइतबारदेखि सुरु भएको हो ।
दक्षिण अमेरिकी देशहरुमा खोप अभियान यसअघि नै सुरु भइसकेको छ । कोरोना भाइरसका कारण ब्राजिलमा अमेरिकापछि सबैभन्दा धेरै व्यक्तिको ज्यान गएको छ ।
कोभिड–१९ ले अहिलेसम्म दुई लाख ९ हजार ८ सय भन्दा बढि ब्राजिलियनको ज्यान गएको छ । ब्राजिलमा कुल संक्रमितको संख्या ८४ लाख ८८ हजार भन्दा बढि छ ।
ब्राजिलका राष्ट्रपति जायर बोल्सोनारोले आफू संक्रमित भए पनि कोरोना भाइरसको महामारीलाई गम्भीर रुपमा लिनुभएम । महामारीको दोस्रो लहर चलेपछि उहाँ पछिल्लो समय आलोचनाको केन्द्रमा हुनुहुन्छ ।