‘कोभिड-१९ उपचारमा प्रभावकारी केही एन्टिभाइरलका लागि अनुमति दिने प्रक्रियामा छौं’

    • स्वास्थ्य पेज

  • १० श्रावण २०७७, शनिबार

विश्‍वव्यापी महामारीको रुप लिएको कोरोना भाइरसको औषधि अहिलेसम्म पत्ता लागेको छैन । तर विभिन्न मुलुकले रोगप्रतिरोधात्मक क्षमता बढाउनका लागि केही औषधिहरु चलाइरहेका छन् । यसै सन्दर्भमा कोरोना भाइरसको महामारी र लकडाउनले गर्दा औषधि आपूर्तिमा परेको अप्ठ्यारो, औषधि अनुगमन लगायतका विषयमा औषधि व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकालसँग बुनु थारुले गरेको कुराकानी ।

लकडाउनयता औषधिको आयात कसरी भइरहेको छ ? कत्तिको सहज छ ?

नेपालमा एलोपेथिक औषधि तयारी अवस्थामा तथा कच्चा पदार्थका रुपमा पैठारी भइ आउँछ । नेपाली उत्पादकहरुले कच्चा पदार्थ ल्याउँछन् भने पैठारीकर्ताहरुले तयारी औषधि बाहिरबाट ल्याएर वितरण गर्छन् । त्यसको आपूर्ति व्यवस्थापन पनि सरकारी तथा निजी स्तरमा हुने गरेको छ । लकडाउन सुरु भएपश्चात सुरुका दिनमा कोभिड–१९ को महामारीलाई दृष्टिगत गरेर अभाव हुनसक्ने खालका केही औषधिको निश्चित सूची तयार पारेका थियौं । स्वास्थ्य मन्त्रालयले पनि ती औषधिको स्वीकृति दियो । त्यही औषधिको हामीले मनिटरिङ गर्‍यौं । खास गरेर निजी व्यवसायीहरु जसले पैठारी गर्छन् र केही औषधि स्वदेशमा बनाउनेहरुले पनि नेपाली उद्योगहरुलाई त्यो सूचना माग गर्‍र्यौं र सानो एप पनि बनायौं । अनलाइनमा त्यसको सूचना दिने व्यवस्था मिलायौं र मनिटर गर्दै गयौं । त्यसमा अभाव देखिएका औषधिको हकमा भने के कस्तो परिमाणमा उपलब्ध छ र बजारमा साँच्चै अभाव छ कि छैन भनेर यकिन गर्ने काम पनि गर्‍यौं।

दोस्रो भनेको नेपाली उद्योगलाई उनीहरुसँग भएका कच्चा पदार्थ प्रयोग गरेर उत्पादन गर्न र अभावको हुन नदिन अनुरोध गर्‍यौं । यहाँका उद्योगीले उत्पादन गरेर सहयोग नै गरे । तेस्रो भनेको, भारतबाट वा अन्य मुलुकबाट आउने औषधिको भन्सार सहजीकरणका लागि हामीले प्रयास गर्‍र्यौं । त्यसैगरी वाणिज्य विभागसँग र मन्त्रालयसँग समन्वय गरेर रोकिएका जति पनि औषधि थिए तिनीहरुलाई नेपाल भित्र प्रवेश गराउने र आन्तरिक ढुवानीको लागि पनि स्थापित गर्न प्रशासनसँग समन्वय गरेर सहजीकरणका लागि काम गर्‍यौं । यसमा हामी निरन्तर लागि परेका छौं । बजारमा औषधि अभाव नहुन दिनका लागि केही औषधिलाई विशेष सिफारिस दिएर बाहिरबाट नेपालमा आयात गर्न अनुमति पनि प्रदान गरेका छौं । अहिलेसम्म औषधिको अभाव भएको छैन ।

यो समयमा कति औषधि आयात भए ?

कति औषधि आए भनेर यकिनका साथ भन्न सकिँदैन । किनभने, हरेक पैठारीकर्ताले आफूले ल्याएको औषधि के कति ल्यायो त्यसको निरन्तर रिपोर्टिङ नगरेसम्म हामी तथ्यांक राख्न सक्ने अवस्थामा छैनौं । भन्सारमा उसले पैठारी गरेको मूल्य तथा संख्या कति छ भन्ने विवरण हामीले नपाएसम्म भन्न सकिँदैन । मोटामोटी अहिले बजारमा जुन किसिमको माग र आपूर्तिको अवस्था हेर्दा सामान्य तरिकाले चलिरहेको अवस्था छ भन्ने बुझिएको छ ।

बजारमा औषधि अभाव छैन भन्नुभयो, विभिन्न ठाउँमा जस्तै क्वारेन्टाइनमा औषधि नपाएर मृत्यु भएका खबर आएका छन् त?

क्वारेन्टाइनमा औषधि नपाएर मृत्यु भएको मेरो जानकारीमा आएको छैन । यसबारे सूचना थाहा पाए हामी खोजी गर्छौं । क्वारेन्टाइन नै त उपचार केन्द्र होइन । औषधि नपाए अस्पताल लगिनुपर्थ्यो ।तर, लामो समयदेखि औषधि खाइरहेका केही व्यक्तिले नपाएको पनि हुनसक्छ । त्यसमा बुझ्नुपर्ने देखिन्छ । औषधि अभाव छैन । कति स्टक होला भन्नुपर्दा व्यवसायीहरुका अनुसार ६ महिनालाई औषधि पर्याप्त छ भनेर भनेका थिए । तर, औषधि बीचमा खपत भएन भन्ने कुरा पनि थियो । तर, अभाव छैन । निरन्तर पैठारी र उत्पादन प्रक्रिया चलिरहेको र आपूर्ति भइरहने हिसाबले अभाव भएको छैन ।

 

कोरोना भाइरससँगै मास्क, स्यानिटाइजर लगायतका मेडिकल सामाग्रीहरु ब्रिकी वितरण भइरहेका छन् ? त्यस्ता वस्तुको गुणस्तरलाई कसरी अनुगमन गरिराख्नु भएको छ ?

यसको अनुगमन हाम्रो नियमित क्रियाकलाप भित्रै पर्छ । विगत आर्थिक वर्षमा र लकडाउन तथा बन्दाबन्दीकै समयमा पनि हाम्रा निरीक्षकहरु बजारमा खटिएर उजुरीहरुको अनुगमन गर्ने काम पनि भइरहेकै थियो । अहिले पनि गरेका छौं ।स्यानिटाइजरको कुरा गर्दा चैत्र ९ पछि मापदण्ड बनाएर दर्ता तथा नियमन प्रक्रिया अगाडि बढाएका थियौं । मास्क लगायतका अन्य वस्तूहरुको नियमन चाहिँ गरेका छैनौं । यसमा अरु संस्थाहरुसँग समन्वय गरिरहेका छौं । यसका लागि नापतौल तथागुणस्तर विभागसँग पनि समन्वय गर्ने गरेका छौं । यी सामाग्री नेपालमा पनि उत्पादन भइरहेका छन् । औषधि विभागको पुनःसंरचनाको क्रम चलिरहेको हुँदा त्यस्ता सामग्रीलाई स्वास्थ्य वस्तुकै रुपमा नियमन गर्ने सोचाइ चाहिँ छ ।पहिले मास्क लगायतका सामानको बजार मूल्य बढी भयो भन्ने पनि थियो । तर, अहिले आपूर्ति बढी भएकाले मूल्यमा पनि कमी आएको छ ।

स्यानिटाइजर उत्पादनको लागि म्याद थपिएको विषयमा औषधि उत्पादक संघले आन्दोलन गरिरहेको छ ? कत्तिको जायज छ ?

स्यानिटाइजरको मागको बारेमा खासमा आन्दोलन गर्ने विषय त होइन । हामीले लकडाउनभन्दा अघि निश्चित मापदण्डमा आउनुस्, ३ महिना समय छ भनेका थियौं । लकडाउन भयो तत्पश्चात व्यवसायी, उत्पादनकर्ता तथा पैठारीकर्ताका सरसामान कोही बोर्डरमा अड्किएको लगायत समस्या तथा अनिश्चितताको बीचमा लकडाउन अघि बढ्यो । उनीहरुलाई मापदण्डमा आउन समय पुगेन । त्यसैले लकडाउनको मोडालिटीमा केही परिवर्तन भएपछि थप ३ महिना दिनुपर्छ भनेर स्वाभाविक रुपमा थपेको हो । यो आन्दोलन गर्नुपर्ने विषय होइन ।

नेपाली औषधि उद्योग जो विदेशमा उत्पादन हुने औषधि बनाउने क्षमता राख्छन् । यस्तै ३६ वटा स्यानिटाइजरका फर्महरुलाई अनुमति९लाइसेन्स० दिइसकेका छौं । केही फार्मेस्युटिकल उद्योग नभएपनि स्यानिटाइजरको व्यापार व्यवसाय गरिरहेकाको क्षमता अभिवृद्धि गर्दै औषधि उद्योगको रुपमा अग्रसर हुन चाहनेको ३–४ वटा आवदेन पनि आएको छ । त्यसैगरी विदेशबाट ल्याउनको लागि पनि १ देखि २ वटा आवेदन आएको छ । हामीले उनीहरुलाई लाइसेन्स दिइसकेका छैनौं । मूल्यांकनको क्रममा रहेको छ । मूल्यांकन पछि लाइसेन्स दिनेरनदिने निर्णय गर्छौं ।

कोरोना भाइरस संक्रमितको उपचारमा केही एन्टिभाइरल औषधिको प्रयोग राम्रो हुने समाचारहरु आइरहेका छन् । त्यस्ता औषधिलाई अनुमति दिने प्रक्रियामा के गर्दैछ विभाग ?

कोभिड–१९ को उपचारमा सहयोगी मानिएका केही एन्टिभाइरललाई अनुमति दिने प्रक्रियामा छौं । खास गरेर जसको प्रभावकारिता स्थापित भएका छन् । त्यस्ता औषधिलाई एउटा निश्चित मापदण्ड बनाएर नयाँ औषधिका रुपमा अनुमति दिने कानुनी व्यवस्था छ, त्यही अनुसार गर्छौं ।कोरोना संक्रमणलाई नै उपयोगी हुने केही औषधि आए भने छिटो अनुमति दिएर बजार तथा बिरामीलाई उपलब्ध गराउने सोचमा छौं । यसमा हाम्रो छलफल भइरहेको छ । ‘रेम्डेसिभिर’ र ‘फ्याबिपिराभिर’को लागि आवेदन आएको छ । दुवै एन्टिभाइरल औषधि हुन् । यी औषधि अन्य भाइरल संक्रमणका लागि प्रयोग हुने एन्टिभाइरल औषधि हुन् । यी कोभिड–१९ उपचारका लागि पनि उपयोगी छ भनेर विभिन्न अन्तर्राष्ट्रिय जर्नलमा लेखहरु प्रकाशित पनि भएका छन् ।

मारवाडी सेवा समितिले कोभिड–१९ विरुद्ध उपयोगी भनेर होमियोप्याथिक औषधि खुलेआम वितरण गर्‍यो । विभागले यसमा केही निरीक्षण गरेन ?

मारवाडी सेवा समितिले सुरुमा औषधिको अनुमति दिनुपर्‍यो भनेर प्रमाणिकरणका लागि आएको थियो । यसले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ भन्ने प्रचारका साथ कोभिडको लेबल नै लगाएर औषधि ल्याएका थिए । हामीसँग अनुमति माग्नुभन्दा पहिल्यै नै केही ठाउँमा उनीहरुले ती औषधि बाँडेका रहेछन् । प्रमाणिकरणका लागि पदाधिकारी आउँदा मैले उनीहरुलाई स्पष्टसँग कुनैपनि औषधि कोभिडका विरुद्धमा उपायोगी छ भन्ने प्रमाणित नभएसम्म त्यो लेखिएको लेबल हटाउनुस् र स्वास्थ्य मन्त्रालयसँग अनुमति माग्नुस् भनेको थिएँ । उनीहरु मन्त्रालय पनि गए । तर, अनुमति दिइएन । अनुमति नपाए पनि वितरण गर्दै गए । विभिन्न गुनासो आएपछि विभागमा दोस्रोपटक बोलायौं । र, अनुमति लिएर मात्रै वितरण गर्नुस् भन्यौं । अनुमति लिएको जानकारी अहिलेसम्म छैन । हाल त्यस विषयमा चर्चा नआएकोले सायद वितरण रोकिएको हुनुपर्छ भन्ने लागेको छ ।त्यो औषधि पहिला पनि प्रयोग हुँदै आएको औषधि हो । तर, कोभिडको लागि उपयोगी हुन्छ भन्ने प्रमाणित भएको छैन । होमियोप्याथिक चिकित्सकको निगरानीमा प्रयोग गर्नुहुन्छ भने ठिक छ नत्र अनुमति लिनपर्छ भनिएको हो ।

विभागमा अहिलेको समयमा कस्ता गुनासाहरु धेरै आउँछन् रु विभागले त्यसमा के गरिरहेको छ ?

हामीलाई आउने गुनासो भनेको पर्याप्त मात्रामा अनुगमन भएन भन्ने हो । केही म्याद गुज्रेका औषधि फार्मेसीमा पाइयो, व्यवसायी बस्दैनन्, बिना दर्ताको औषधि ल्याइएको छ भन्ने गुनासा पनि आएका छन् । हामी जाँदा निरीक्षणमा केही ठाउँमा त्यस्तो पनि पाइएको छ । त्यसैले हामी यो वर्ष वितरण भएका औषधिको गुणस्तर यकिन गर्नका लागि जोखिममा आधारित नमुना संकलन र परीक्षण प्रक्रिया लागू गरेका छौं । निरीक्षण कार्यक्रम प्रभावकारी बनाउन पहिल्यै कार्ययोजना बनाएर अघि बढ्ने सोचेका छौं । नीति तथा कार्यक्रममा फुड एन्ड ड्रग एडमिनिस्ट्रेसनको कार्यक्रम छ यसलाई साकार पार्न संरचनागत सुधार र कानुनमा संसोधन गर्न पनि हामी लागेका छौं ।

साभार कान्तिपुर

  • १० श्रावण २०७७, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech