बालबालिकाका लागि भिटामिन ए र जुका विरुद्धको औषधिको किन खुवाईन्छ ?

    • स्वास्थ्य पेज

  • ११ मंसिर २०७७, बिहीबार

नेपालगन्ज ११, मंसिर ।

आजदेखि देशभर बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाइँदै छ । सरकारले राष्ट्रिय रुपमा ६ महिनादेखि ५ वर्षसम्मका बालबालिकाको लागि निःशुल्क भिटामिन ए र जुका विरुद्धको औषधि खुवाउने कार्यक्रम सञ्चालन गर्दै आएको छ। ६ महिनादेखि पाँच बर्ष उमेर समूहका बालबालिकालाई भिटामिन ए र एक वर्षदेखि ५ वर्ष सम्मका बालबालिकालाई जुका विरुद्धको औषधि खुवाउने गरीन्छ ।

६-६ महिनामा सञ्चालन हुने यो कार्यक्रम चालु आर्थिक वर्षको प्रथम चरणको रुपमा आज र भोली देशैभर महिला स्वास्थ्य स्वयंसेविका र स्वास्थ्यकर्मीहरुबाट सुरु भएको छ । भिटामिन ए वितरण कार्यक्रम अन्तर्गत भिटामिन ए क्याप्सुल र जुका विरुद्धको औषधि अल्बेण्डाजोल ट्याबलेटले रोग प्रतिरक्षा शक्ति बढाउने र श्वासप्रश्वास सम्बन्धी रोगलाई रोकथाम गर्न सहयोग पुर्‍याउँने भेरी अस्पताल नेपालगन्जका बालरोग विशेषज्ञ डा कुलदिप गोइतले बताउनुभयो ।

भिटामिन ए को महत्व
शरीरलाई स्वास्थ्य राख्न र रोगबाट बच्न भिटामिन अनिवार्य आवश्यक पर्छ।बालबालिकाको ५ वर्ष उमेर भित्रमा मानसिक र शारीरिक विकास तीव्र रुपमा हुने भएकोले पोषणको कमी हुन नदिन भिटामिनयुक्त स्थानीय खानाहरु खुवाउन आवश्यक हुन्छ। शरीरमा भिटामिन ‘ए’ को काम शरीरले भिटामिन ए लाई कलेजोमा संचित गरेर राखेर आवश्यक अन्य स्थानहरुमा पुर्याउँछ । भिटामिन ए ले शरीरको छाला र शरीरका विभिन्न अंगको झिल्लीलाई चुस्त दुरुस्त राख्न मद्दत गर्छ ।

जसमा श्वासप्रश्वास, आन्द्रा आँखा, कान, पिसाब थैली लगायतका झिल्ली पर्दछन्। साथै कम प्रकाशमा आँखाले देख्नको लागि पनि भिटामिन ए अत्यावश्यक हुन्छ । यसका अतिरिक्त शरीरको वृद्धि विकास, प्रजनन शक्ति र रोग प्रतिरोधात्मक शक्तिको विकासका लागि पनि भिटामिन ए जरुरी हुन्छ ।

भिटामिन ए भएका तत्वहरुको सेवनले समग्र रुपमा स्वस्थ रहन र दीर्घरोग विरुद्ध उत्कृष्ट मानिन्छ। दैनिक आहारमा भिटामिन एको उपयोगले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ। भिटामिन ए प्रसस्त मात्रामा पाइने खानेकुराहरु पनि छन् । जस्तै हरियो सागसब्जी, गाजर, फर्सी, मेवा आँप, कलेजो, अण्डा, दुध आदी। यी खानेकुराहरु धेरैको घरमै उपलब्ध हुने हुनाले आमाबाबुले आफना बालबालिकालाई यी खानेकरा नियमित दिन सकिन्छ ।

भिटामिन ए कमीले के हुन्छ ?
शरीरमा भिटामिन ‘ए’ को कमी भएमा विभिन्न समस्याहरु देखा पर्छन्। जस्तै आँखाको नानीको सुख्खापन, रतन्धो, छालाको सुख्खापन र अन्य समस्या, हड्डीको विकासमा कमी, रोगसँग लड्ने क्षमतामा कमी, बारम्बार र कडा किसिमको निमोनिया हुनु एवं झाडापखाला लागिरहनु आदी ।

भिटामिन एको कमीले बालबालिकाको वृद्धिविकास र स्वास्थ्यलाई असर गर्छ। विशेषगरी बाल स्वास्थ्य सम्बन्धी रोग र अन्य क्लिनिकल समस्याको उपचारमा भिटामिन एको प्रयोग गरिन्छ। जस्तैः दादुरा, दीर्घ झाडापखाला, कडा कुपोषण, श्वासप्रश्वास रोग र छालाको रोग आदिमा भिटामिन एको प्रयोग गरिन्छ।

जुका विरुद्धको औषधि अल्बेण्डाजोल
जुका विरुद्धको औषधि शरिरभित्र रहेको जुका र हाइडाटिड डिजिजहरुलाई रोकथाम तथा निको पार्ने काम गर्छ। जुकाको कारण शरीरमा रक्तअल्पता, भिटामिन तथा खनिज पदार्थको कमी हुने गर्छ । त्यस्तै कलेजो, फोक्सो, मस्तिष्क, आँखा जस्ता शरीरका प्रमुख अंगहरुमा समेत असर पुर्याउने गर्छ ।

जस्का कारण शारीरिक तथा मानसिक विकासमा असर गर्छ। फोहोर पानी र सरसफाइको कमीको कारण जुका हुने गरेको पाइएको छ। जुका विरुद्धको औषधिले त्यसलाई जुका मार्छ र शरिरलाई स्वस्थ राख्न प्रेरित गर्छ ।

 

  • ११ मंसिर २०७७, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech