वायु प्रदूषणले कोरोना संक्रमणको थप जोखिम

    • स्वास्थ्य पेज

  • ६ मंसिर २०७७, शनिबार

 

काठमाडौं ६, मंसिर ।

जाडोयाममा वायु प्रदूषण बढ्ने भएकाले कोभिड–१९ को संक्रमण थप फैलिन सक्ने चेतावनी विज्ञहरूले दिएका छन् । मंसिर दोस्रो सातादेखि माघ तेस्रो सातासम्म चिसो बढी हुन्छ ।वातावरणविद् भूषण तुलाधरका अनुसार जाडो अर्थात हिउँदमा वायु प्रदूषण वर्षायाममा भन्दा ४–५ गुणा बढी हुन्छ । ‘जाडोमा बिहान ८ देखि १० बजेसम्ममा वायु प्रदूषण बढी हुन्छ, त्यतिबेला अत्यन्तै सचेत हुनुपर्छ,’ उनले भने ।

ह्याम्स अस्पतालका छाती तथा फोक्सो रोग विशेषज्ञ डा राजु पंगेनीले वायु प्रदूषण, कोरोना भाइरस र चिसोले मुटु, छाती र श्वासप्रश्वास जस्ता दीर्घरोगीलाई सिधै आक्रमण गर्ने सम्भावना बढी हुने बताउनुभयो । ‘दीर्घरोगी भएकाहरूलाई घर बाहिर निस्किएका व्यक्तिसँग टाँसिएर जाने धूलोको कणले संक्रमण बढाउन सक्छ,’ उहाँले भन्नुभयो, ‘त्यस्ता कणमा भाइरसको लोड बढी हुने भएकाले जाडोयाममा इन्फेक्सनको सम्भावना झनै उच्च हुन्छ ।’

विज्ञहरूका अनुसार पानी नपर्ने र हावा नचल्ने भएकाले जाडो मौसममा प्रदूषण बढी हुन्छ । यही समयमा भाइरस पनि बढी सक्रिय रहन्छ । त्रिवि शिक्षण अस्पतालका कोभिड व्यवस्थापन समितिका संयोजक एवं छाती रोग विशेषज्ञ डा सन्तकुमार दासका अनुसार प्रदूषणले शरीरको रोग प्रतिरोधक क्षमतालाई कमजोर पार्छ, त्यसले विशेष गरी फोक्सोमा असर गर्छ ।

‘प्रदूषणले बिग्रेको फोक्सोमा भाइरसको आक्रमण हुँदा संक्रमणको गम्भीरता बढी हुन्छ,’ उहाँले भन्नुभयो । राष्ट्रिय क्षयरोग केन्द्रका वरिष्ठ छाती रोग विशेषज्ञ डा। नवीनप्रकाश शाहले पनि सास फेर्दा भित्रिएको प्रदूषणले फोक्सोको क्षमता प्रभावित पार्ने हुनाले कोरोना वा कुनै भाइरसको आक्रमण हुँदा बढी जटिलता देखिने बताउनुभयो ।

  • ६ मंसिर २०७७, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई healthpage0@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech