एम्बुलेन्स चालक धर्मवीरको अनुभव–‘छिमेकीले एम्बुलेन्स चलाउने मान्छे नआए हुन्थ्यो भन्थे’

    • स्वास्थ्य पेज

  • २८ कार्तिक २०७७, शुक्रबार

तस्विरः नेपालगन्ज ग्यालरी

नेपालगन्ज २८, कात्तिक ।
कान्ति आरोग्य अस्पताल नेपालगन्जको एम्बुलेन्स चलाउनुहुन्छ धर्मवीर काहर । नेपालगन्जमा एउटामात्र त्यही एम्बुलेन्स हो जस्मा आईसीयू र भेन्टिलेटर छ । गम्भीर प्रकृतिका विरामीलाई यही एम्बुलेन्सले बोक्ने गर्छ । ‘कोरोनाको त्रासमा विरामी बोक्नु पर्यो हदै डर लाग्थ्यो नेपालगन्ज–१६ जयसपुरका धर्मवीर भन्नुहुन्छ–‘अव त डर लाग्दैन् ।’

कोभिड महामारीमा विरामी बोक्दाका सुरुवाती दिनहरुमा उहाँले खेप्नु परेका पीडा धेरै छन् । ‘परिवारले समेत कस्तो बिरामी बोकेर आएको हो, कोरोनाको भाइरस पो छ कि, बरु उतै कोठामै बस्ने गर्नु भन्ने गथ्र्ये,’ धर्मवीरको भनाइ छ । ‘घर परिवारले भन्दा पनि छिमेकीले एम्बुलेन्स चलाउने मान्छे यो अवधिभर त नआए हुन्थ्यो भन्ने गर्थे’ उहाँले भन्नुभयो । उहाँले विभिन्न आन्दोलन, बन्द हड्ताल, चक्काजाम, नाकाबन्दी सबै समयमा एम्बुलेन्स चलाएर विभिन्न जिल्ला पुग्नुभयो ।

बन्द हड्तालमा समेत एम्बुलेन्स चालकलाई बास र खाना खाजाको कुनै समस्या भएन् । तर कोरोना महामारीमा भने भोकै बस्नुपर्ने बाध्यता रहेको उहाँको भनाइ छ । ‘नेपाल बन्द र नाकाबन्दीको बेला त खाना खान पाइन्थ्यो, तर योपालि त भोकै कुद्नु पर्यो’ धर्मबीरले भन्नुभयो–‘घरमा खाना खान एम्बुलेन्स लिएर जाँदा पनि टोल छिमेकका मान्छे तर्सिने, कस्ता बिरामी लिन आए या कस्ता बिरामी छोड्न आए भनेर स्थानीयले कौशी र झ्यालबाट चियाउँथे।’ अहिले त एम्बुलेन्स देख्यो की बालबालिकाले समेत कोरोनाको बिरामी बोकेर हिँडेको एम्बुलेन्स भन्दै जिस्काउने गरेको उहाँको अनुभव छ ।

तस्विरः नेपालगन्ज ग्यालरी

तस्विरः नेपालगन्ज ग्यालरी

‘आफूले जानेको काम नै यही हो, एम्बुलेन्स चलाउनु पेसामात्र नभएर सेवा हो, तर हामीलाई देख्यो की कोरोना आयो, कोरोना भाइरस कहाँ हिँडेको छस् भन्दै जिस्काउँछन्,’ उहाँले भन्नुभयोे । उहाँ आफै पनि कोभिड पोजेटिभ भएर निको भएर अहिले फेरि सेवामा फर्किसक्नुभएको छ ।

यस्तो महामारीको बेला दिनरात नभनी बिरामीको सेवामा खटिएका एम्बुलेन्स चालकको कोरोनासँग जुध्न भइरहेका प्रयासमा उत्तिकै योगदान छ । आफ्नो ज्यानको ख्यालै नगरी बिरामी ओसार्न खटिरहेका उनीहरुलाई समाजमा विभिन्न शंका तथा अपहेलनाको दृष्टिकोणले हेर्दा उनीहरुको मनोवलमा पुराएको चोट अझै निको भएको छैन् ।

तर धर्मवीर भन्नुहुन्छ–‘सुरुवाती दिन सम्झदा त मन खिन्न् हुन्छ तर जुन सेवा दिने प्रणका साथ एम्बुलेन्स चलाउने जिम्मेवारी छ त्यसले सधैं यही सेवालाई निरन्तरता दिओस् भन्छ ।’ उहाँको चाहना अव यही सेवामा रमाउने छ ।

  • २८ कार्तिक २०७७, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech