दशैं र कोरोनाः संयम र सावधानी आवश्यक

    • स्वास्थ्य पेज

  • ७ कार्तिक २०७७, शुक्रबार

 

नेपालगन्ज, ०७, कात्तिक ।
घुम्दै फिर्दै रुम्जाटार भने झै नेपालीहरुको सबैभन्दा लामो र महत्वपूर्ण पर्व दशैं घरआगनमा भित्रिसकेको छ । उत्साह, उमङ्ग र आनन्दपूर्वक मनाइने दशैं यसपटक भने संयम, सावधानी र सचेतताका साथ मनाउनु पर्ने अवस्था आएको छ । कोभिड—१९ को संक्रमण नभएको भए वा नियन्त्रित भएको भए नेपालीले  दशैं मन फुकाएर मनाउँथे ।

देवीको पूजा, बलि र टीका दशैंका प्रमुख धार्मिक र सांस्कृतिक गतिविधि हुन् । तर, नेपालमा दशैं देवीको पूजा नगर्ने, बलि नदिने र टीका नलगाउनेहरूले पनि उत्तिकै रमाइलोसँग मनाउने गर्छन् । त्यसैले पनि दशैं धार्मिक भन्दा  नेपालीको मौलिक पहिचानसहितको सांस्कृतिक पर्वको रुपका विकास भएको देखिन्छ  पारिवारिक पुनर्मिलन र स्नेह तथा सद्भावको पर्व हो दशैं । यसैले वर्षभर घरबाहिर भएकाहरू पनि आआफ्ना परिवारसँगै दशैं मनाउन फर्कने चलन छ ।

यस वर्ष भने घरबाहिर रहेकाहरू परिवार भएका ठाउँमा फर्कन निकै सोचविचार गर्नुपर्ने देखिएको छ । नेपाल सरकारले पनि यो पटकको दशैं जुन ठाउँमा बसेको छ त्यही ठाउँमा मनाउन आग्रह गर्दै आएको छ । घर फर्केर पनि छरछिमेकी, इष्टमित्र, साथीसंगीसँग भेटघाट र रमाइलो गर्न निकै सावधान हुनुपर्ने स्थिति छ । यसैले दशैंका अवसरमा परिवार र समुदायमा आफ्नो कारणबाट संक्रमण फैलन नदिन कसैले पनि हेलचेक्य्राइँ गर्नु हुँदैन ।

नेपालमा कोभिड—१९ को संक्रमण रोकिने लक्षण देखिएको छैन । सरकारले भने महामारीका अगाडि घुँडा टेकेको स्पष्ट देखिसकेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमको ‘बेहोस भएमा वा हुन लागेमात्र अस्पताल आउनु’ भन्ने अभिव्यक्तिबाट सरकार महामारी अगाडि के गर्न सक्छ र के गर्दै छ भन्ने यसैले स्पष्ट हुन्छ ।  घरमा अभिभावक गैरजिम्मेवार भए सन्तान बढी जिम्मेवार हुनुपर्छ । नेपालका हकमा सरकार गैरजिम्मेवार भएपछि जनताले बढी जिम्मेवारी बोध गर्नुपर्ने अवस्था  छ । कोरोना महामारीको यो विषम परिस्थितिमा चाडपर्वमा मनाउँदा अझ सचेत हुनु पर्ने अवस्था छ ।

मानिसहरुको भीडभाड र जमघट बढी हुने भएकाले सचेतना अपनाउन जवरजस्तको बाध्यता छ । मेरो बुवाआमा, मेरा दाजुभाई, मेरा छोराछोरी, मेरा दिदीवहिनी, मेरो आफन्त हुन भनेर भीडभाड र हेल्चेक्र्याइ गरेर चाडपर्व मनाउन थालियो भने ठूलो दुर्घटनाको जोखिम आउन सक्ने अवस्था छ । त्यस्तो अवस्थाका कारक अरु नभएर हामी आफै भएको हुने छौं । किनकी माहामारीले दशैं भन्दैन । नेपालीहरुलाई दशैं–तिहार लागेको रहेछ है भनेर कोरोना भाइरस इनएक्टिभ भएर  बस्दैन । त्यसैले दशैंमा भीडभाड कम गर्नु र संक्रमणको जोखिमबाट जोगिनुको विकल्प देखिँदैन ।

गएको तीजमा नेपाली महिलाले बडो संयम अपनाएर राम्रो उदाहरण दिए । कौसीमै नाचेर संयमितरुपमा तीज मनाइएको उदाहरण हामीसँग ताजै छ । स्रोहश्राद्धमा पनि अनलाइनबाटै श्राद्ध गरिएका अनुभव हामीकहाँ छन्  । त्यसैले यो दशैंमा पनि सकेसम्म कम भेटघाट गर्ने उपायहरुको खोजी गर्न सकिन्छ ।

यस्तोबेला विज्ञ, डाक्टरले दिएका सुझावलाई पालना गर्नैपर्ने हुन्छ । संक्रमणबाट बच्न प्रत्येक नागरिकले आफैं सचेत रहनुपर्ने हुन्छ । चाडबाड आयो भन्दैमा स्वास्थ्यसम्बन्धी प्रोटोकोललाई पालना गर्न बिर्सनु हुँदैन । आर्शिवाद थाप्ने भन्दैमा स्वास्थ्यको जोखिममा रहेका ज्येष्ठ नागरिककहाँ टीका थाप्न जानैपर्छ भन्ने सामाजिक मान्यतामाथि पनि यस वर्ष विचार गर्नु आवश्यक देखिन्छ । आफन्तजनको भेटघाटमा दुरी कायम गर्ने कुरामा सचेत बन्नैपर्ने बाध्यता छ ।

गएको तीजमा नेपाली महिलाले बडो संयम अपनाएर राम्रो उदाहरण दिए । कौसीमै नाचेर संयमितरुपमा तीज मनाइएको उदाहरण हामीसँग ताजै छ । स्रोहश्राद्धमा पनि अनलाइनबाटै श्राद्ध गरिएका अनुभव हामीकहाँ छन्  । त्यसैले यो दशैंमा पनि सकेसम्म कम भेटघाट गर्ने उपायहरुको खोजी गर्न सकिन्छ । घर र ससुरालीबाहेक अलि टाढाका नातेदारहरुसमेत खोजीखोजी टीका लगाउन जाने परम्परालाई यसपालि निरुत्साहित गर्न सके स्वास्थ्यका लागि कम हानीकारक हुने देखिन्छ ।

यस वर्ष धेरै नजिक गएर, भिडभाड गरेर टीका नथापौँ । सार्वजनिक यातायातमा लामो दूरीको यात्रा गर्नुपर्ने भए यो वर्षको दशैं बसिरहेकै ठाउँमा मनाऊँ । सञ्चार प्रविधिमा भएको उन्नतिले दिएको सुविधा प्रयोग गरौँ । परिवारमा सबै सकुशल रहनसके त दशैं अर्को वर्ष उल्लासपूर्वक मनाउन पाइहालिन्छ । जानी नजानी संक्रमणको वाहक भएर पछुताउनु भन्दा त इष्टमित्र, साथीसँगी र घरपरिवार सबैसँग घुलमिल हुन अर्को वर्षसम्म पर्खनु नै बुद्धिमानी हुन्छ ।

उल्लास, उमङ्ग र आनन्दपूर्वक मनाउने गरेको दशैं यसपटक संयम, सावधानी र सचेततासाथ मनाऊँ ।अहिलेको अन्योलपूर्ण अवस्थामा कोरोनासँग नजिस्कनु र यसबाट टाढै बस्नु नै सबैभन्दा उत्तम विकल्प हो । त्यसैले कोरोनाबाट आफू पनि बचौं र अरुलाई पनि बचाऔं ।

विजया दशमी तथा दिपावली २०७७ को हार्दिक मंगलमय शुभकामना

(स्वास्थ्य पेज परिवार)

  • ७ कार्तिक २०७७, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech