हड्डीको गुणस्तर कसरी खस्किन्छ ?

    • स्वास्थ्य पेज

  • ४ कार्तिक २०७७, मंगलवार

 

नेपालगन्ज ४, कात्तिक ।

विश्वमा हाल वार्षिक रूपमा ८९ लाख हड्डी भाँचिने कारण अस्टियोपोरोसिस रहेको अध्ययनले देखाएका छन्। हरेक तीन सेकेन्डमा अस्टियोपोरोसिसका कारण मानिसहरूको हड्डी भाँचिने गरेको छ। संसार विस्तारै बुढ्यौलीउन्मुख भइरहेको छ। सन् २०५० सम्ममा संसारको एकतिहाइ जनसंख्या ६५ वर्षभन्दा माथिका र हरेक १० जनामध्ये एकजना अर्थात् १० प्रतिशत जनसंख्या ८० वर्षभन्दा माथिका हुने प्रक्षेपण गरिएको छ।

सन् २०५० सम्ममा पुठ्ठाको हड्डी भाँचिने क्रम वार्षिक रूपमा ६२ लाखभन्दा बढी हुने अनुमान गरिएको छ। यसको आधाभन्दा बढी हिस्सा एसियाली मुलुकहरूमा हुने प्रक्षेपण गरिएको छ। हालै भारतमा गरिएको एक अध्ययनअनुसार कम आय भएका जनसंख्याको एकतिहाइमा अस्टियोपोरोसिस रहेको देखिएको छ।

अस्टियोपोरोसिसका कारण स्वास्थ्यका उपलब्ध सीमित साधनस्रोत तथा त्यसमा रहेको अपर्याप्ततालाई अझ जटिल अवस्थामा लैजाने जोखिम बढेको छ। के हो अस्टियोपोसिस ? कस्ता हुन्छन् यस्का लक्षण ? कसरी निदान गर्न सकिन्छ ? यीनै बिषयमा बरिष्ठ हाडजोर्नी तथा नशा रोग बिशेषज्ञ डा गोपाल सागर डिसीसँग गरिएको कुराकानीमा आधारित

के हो अस्टियोपोरोसिस ?
अस्टियोपोसिस भनेको सामान्य भाषामा हड्डीको गुणस्तर कमजोर हुनु वा खस्किनु हो । यो रोगले हड्डीको गुणस्तर खस्किएर, कमजोर भएर सजिलै भाँचिने अवस्था आउँछ। हड्डीको घनत्व बढ्ने यो क्रम ३० ३५ वर्षको उमेरसम्म निरन्तर रहन्छ। यसबाहेक हड्डी शरीरलाई चाहिने क्याल्सियमको भण्डार पनि हो। हड्डीको घनत्व कति हुन्छ भन्ने कुरा यसको विकासक्रममा व्यक्तिले गर्ने खानपान र शारीरिक तन्दुरुस्तीले निर्धारण गर्छ। यद्यपि हड्डीको घनत्व कम हुने किसिमका रोग तथा उपचारका क्रममा हुने विभिन्न गतिविधिका कारण हड्डीको घनत्व कम भएर पनि अस्टियोपोरोसिस हुन्छ। अर्को कुरा नदुख्ने र दमलगायतको औषधि लामो समयसम्म खानाले पनि अस्टियोपोरोसिस हुन्छ ।

अस्टियोपोरोसिसका लक्षण र हुने कारण ?

यस रोगमा मुख्यगरी मानिस सामान्य चोटमा पनि हड्डी भाँचिने, ढाड बेस्सरी दुख्ने, शरिर झमझम गर्ने, जहाँ थिचे पनि दख्ने, उचाइ कम हुँदै गएको महसुस हुनेलगायतका लक्षण देखिन्छन्। अर्को यसको लक्षण भनेको हल्का चोट लाग्ना साथ हात होस् वा खुट्टा भाँचिहाल्ने हुन्छ । शरीरमा क्याल्सियमको कमी हुनु, अपोप्टोसिस प्रक्रियाका कारण हुने कोषमा आउने परिवर्तन, शरीर सुन्निने, स्टेरोइड औषधिहरूको लामो समयसम्मको सेवन, शरीरमा अक्सिडेन्ट्स तथा फ्री रेडिकल्सको कमी हुनु तथा अनियमितता हुनु, महिलामा समयअगावै महिनावारी सुक्नुलगायत रहेका छन्।

अस्टियोपोरोसिस निदान

अस्टियोपोरोसिसको निदान तथा उपचारको मुख्य कुरा भनेको हड्डी भाँचिने जोखिममा रहेका तर भाँचिइनसकेका बिरामीको समयमै उपचार गरेर भविष्यमा आउन सक्ने जटिल अवस्थाबाट जोगाउनु रहेको छ। एकजना प्रोफेसरले भन्नुभएको थियो पहिलो पटक हात भाँचिएर अस्पताल आउनु यस्को दोष हो । तर दोस्रो पटक पनि हात भाँचेर आउनु भनेको चिकित्सकको त्रुटी हो ।

त्यसैले यसको निदान भनेकै समस्याको पहिचान गरेर फेरी समस्या नदोहोरिन दिने नै हो ।अस्टियोपोरोसिसको रोकथाम मानिसको खानपान र जीवनशैलीमा निर्भर रहन्छ। हुर्कंदो उमेरमा पाएको पोषण र शारीरिक तन्दुरुस्तीले यसमा महत्वपूर्ण भूमिका खेलेको हुन्छ। अस्टियोपोरोसिस रोकथाममा क्याल्सियम र भिटामिन डीको भूमिका महत्वपूर्ण हुन्छ। त्यसैले खानामा यी पोषकतत्वहरूको मात्रा मिलाएर खानु अनिवार्य हुन्छ। माछा–मासु, हरिया सागपातका साथै दुधबाट बनेका परिकार महत्वपूर्ण मानिन्छ ।

भिडियो हेर्न तलको लिंक क्लिक गर्नुहोस् ।

  • ४ कार्तिक २०७७, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech