आर्थिक अभावका कारण क्यान्सर पीडितको उपचारमा समस्या

    • स्वास्थ्य पेज

  • ९ आश्विन २०७७, शुक्रबार

नेपालगन्ज ९, असोज ।

बाँके कोहलपुर नगरपालिका– १ कौशिलानगरकी क्यान्सर पीडित सीमा सिरिसलाई आर्थिक अभावका कारण उपचारमा समस्या भएको छ । ४ वर्षअघि शल्यक्रिया गरि फालेको पाठेघरमा मासु पलाएपछि पुनः शल्यक्रिया गर्नुपर्ने चिकित्सकहरुले बताएका छन् । तर शल्यक्रियाका लागि रकम अभाव हुँदा सीमा मृत्युसँग लडिरहनु परेको छ ।

पाठेघर क्यान्सर भएको थाहा पाएपछि उपचारका लागि सीमाको परिवारले घरजमिन बेचेर १८ लाख खर्च गर्यो । तर, केही समयपछि शल्यक्रिया गरेको ठाउँमा मासु पलाएपछि आफन्त र साहुमहाजनबाट ऋण गरेर करिब १५ लाख खर्च भइसकेको सीमाका छोरा प्रेम सिरिस मगरले बताउनुभयो । सिरिसलाई एक पटक किमो दिंदा २५ हजार रुपैयाँ खर्च लाग्ने भएपनि स्वास्थ्य बीमा गराएका कारण एक पटक किमो दिंदा १५ हजार पर्ने गरेको छ ।

थप ४ पटकसम्म किमो दिनुपर्ने चिकित्सकहरुले बताएका छन् । तर, क्यान्सर पीडित आमाको उपचारमा लाखौं खर्च भएपछि यतिबेला आर्थिक अभावका कारण आमाको उपचार गराउन समस्या परेको उहाँको भनाइ छ । बाँकेको खजुरा स्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालबाट सीमालाई ६ पटक किमो दिइसकिएको छ ।

रुटिङ्ग चेकअपका लागि भदौ १४ गते चितवनको भरतपुर क्यान्सर अस्पताल पुगेका सीमालाई चिकित्सकले थप किमो दिइ पाठेघरमा पलाएको मासु फाल्न पुनः शल्यक्रिया गर्नुपर्ने र शल्यक्रिया पश्चात आमा निको हुने बताएका छोरा प्रेमले बताउनुभयो । आर्थिक अभावका कारण आमाको पुनः शल्यक्रिया गर्न नसकिएकाले प्रेमले आर्थिक सहयोगको लागि आग्रह गर्नुभएको छ ।

  • ९ आश्विन २०७७, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech