नेपालगन्ज ०२, भदौ ।
नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा मृत्यु भएका एक व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ ।
बर्दिया मधुवन नगरपालिका वडा नं. ९ का ७८ वर्षिय पुरुषको उपचारको क्रममा आज मंगलबार बिहान ७:३० बजे मृत्यु भएको थियो । उनको सोमबार परिक्षणकालागि श्वाव संकलन गरिएको थियो र रिपोर्ट मंगलवार दिउँसो पोजिटिभ आएको थियो । उनी भदौ १ गते अस्पतालमा भर्ना भएका थिए । अस्पतालका सहायक निर्देशक डा. दिनेश श्रेष्ठका अनुसार उनी निमोनिया र मधुमेहका रोगी थिए ।
कोरोनाबाट मृत्यु भएको बर्दियाको यो पहिलो केस हो । उनको आजै अन्त्यष्टि भएको बर्दियाका प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले स्वास्थ्य पेजलाई जानकारी दिनुभयो । बर्दियामा अहिलेसम्म संक्रमितको संख्या तीन सय तीन पुगेको छ ।
कोभिड १९ लेभल ३ को रुपमा रहेको नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा ५ जना संक्रमितको मृत्यु भइसकेको छ । यसअघि बाँकेका दुई जना, कैलाली र अछामका एक एक जनाको मृत्यु भएको थियो ।
अहिले एकजना रुकुमकी संक्रमित महिलाको उपचार भईरहेको छ । सातदिन अघि भर्ना भएकी ती महिलाको दोस्रो पटक गरिएको पीसीआर रिपोर्ट पनि पोजिटिभ आएको डा. श्रेष्ठले बताउनुभयो ।