बाँकेमा कोरोनाको चेन तोड्न सकिन्छः तर दुई काम अहिलेदेखि नै गरौं

    • स्वास्थ्य पेज

  • २४ श्रावण २०७७, शनिबार

तस्विरः फाइल

प्रियास्मृति ढकाल- नेपालगन्ज २४, साउन ।
सरकारले १२० दिन लामो लकडाउन खोलेसँगै देशभैर कोरोना भाइरसको संक्रमण फैलिएको छ । संक्रमण फैलिनेमात्र होइन् भाइरसबाट मृत्युवरण गर्नेको संख्या पनि ह्वात्तै बढेको छ । पछिल्लो समय त अझ लक्षण देखिएका संक्रमित देखिन थालेका छन् । चिकित्सकहरुका अनुसार, लक्षण देखिएका संक्रमित बढ्नु भनेको खतराको घण्टी बज्यो भन्ने सन्देश हो । पछिल्लो सातादेखि नेपालगन्ज कोरोनाको इपिसेन्टर नै बनेको छ ।
जनप्रतिनिधी, सरकारी कर्मचारी, व्यापारी, प्राध्यापक, बैंकर, सुरक्षाकर्मीदेखि पत्रकारसमेत संक्रमणको चपेटामा परेका छन् । एकैदिन संक्रमितको संख्या ५० को हाराहारीसम्म पुगेको छ । संक्रमण समुदायस्तरमै फैलिन थालेपछि बाँकेमा निषेधाज्ञा लगाइएको छ । नेपालगन्जको केही एरीया सील गरिएको छ । त्यही पनि मानिसहरु लखरलखर बजार निस्किरहेका छन्। पसलहरु खुलेका छन् । बौद्धिक जमातबाटै सामाजिक दुरीको पालना भएको छैन् । मास्कको प्रयोग भएको देखिदैन् ।
तपाई हाम्रै स्वास्थ्य सुरक्षाका लागि सरकारले बनाएको नियम मान्न किन गाहे भएको ? यो नियम स्वयम आफैले बनाएर आफैले कडाईका साथ कार्यान्वयन गर्नु पर्ने हो । तर त्यसको ठिक उल्टो यही नियम कार्यान्वयन गराउन सरकार हर्कतमा उत्रनु पर्ने अवस्था छ । यो तपाई हामी नागरिकको लागि लज्जाको बिषय हो । कुनै पनि समाज, समुदाय तथा विपत्ति र महामारी आएमा त्यसबाट प्रत्यक्ष प्रभावित र क्षति व्यहोर्ने भनेको नागरिकहरुले हो । यस्ता विपतहरुको सामना गरि त्यसको प्रभाव कम गर्नका लागि नागरिकको भुमिका अहम रहेको छ । अहिलेको समयमा हामी नागरिकहरुले मात्र दुईवटा काम गरौं । पहिलो कसरी हुन्छ आफु सुरक्षित रहने र दोस्रो सरकारलाई सहयोग गर्ने ।

आफू कसरी सुरक्षित रहने ?
सहि सूचनाः आजको समय सुचनाको समय हो । तपाईको शक्ति भनेको तपाईसँग भएको सही र सत्य तथ्य सुचना हो । तपाईले प्राप्त गरेको सुचना कति सहि हो भन्ने कुरा सुचना प्राप्त गर्ने स्रोतमा भर पर्दछ । कुनै पनि सुचना लिदा र त्यसको प्रयोग गर्दा त्यसको विश्वसनियता परिक्षण गरेर मात्र गरौं । आधिकारिक निकाय सरकार र सरकार मातहतका निकायहरु, विश्व स्वास्थ्य संगठन लगायत अन्य विश्वसनिय सञ्चार माध्यमका सुचना मात्र ग्रहण गरौ ।

आफ्नो व्यक्तिगत सुरक्षा, परिवारका सदस्यहरुको सुरक्षा, वरिपरिको वातावरण र समाजको सुरक्षाका लागि विभिन्न निकाय र सरकारद्धारा प्रदान गरेका सुचना तथा निर्देशनको पुर्णरुपमा पालना गरौं । कोरोना भाइरसको संक्रमणबाट जोगिन सरसफाई र खानपिनमा ध्यान पुर्याउनु सबैभन्दा ठूलो सजगता हो । घरमा बस्दा पनि सावुन पानीले पटक पटक मिचिमिच हात धौं र परिवारका अन्य सदस्यहरुलाई हात धुन र सरसफाई गर्न प्रेरित गरौं । अर्को पोषिलो र हरियो सागपात खान बढी जोड दियौं । चिकित्सकहरुले हरियो सागपात र फलपूmल नियमित खाने हो भने धेरै रोगबाट जोगिन सक्ने तथ्यहरु सार्वजनिक गर्दै आएका छन् ।

निषेधाज्ञाको पालना गरौं

कुनै काम हामीलाई कसैको करकापमा सजाय र आफ्नो स्वेच्छामा गर्दा मनोरञ्जन लाग्ने गर्दछ, जुन मानविय स्वाभाव पनि हो । हाम्रो सोचाई र विचारले पनि हामीलाई असर गरिरहेको हुन्छ । धेरै कोरोना सम्बन्धि समाचार तथा तथ्याङ्क सुन्ने तथा हेर्ने नगरौं । त्यसको चिन्तामा सयम खेर नफालौ, कोरानाको कुरा मनमा खेलाउदा त्यसको लक्षणहरु पनि आफूलाई मिलेमिले जस्तो लाग्ने, मानसिकरुपमा कमजोर हुने र मनोवल घट्ने भएकाले हामीले सरकारले तोकेको लकडाउन वा निषेधाज्ञाको समय अवधिसम्मलाई वाहिरको संसार विर्सौ र घरलाई संसार संझेर त्यसैमा रमाउनका लागि तयार होऔं ।

एक तिहाई समय त सुतेर वित्छ बाँकी समयमा परिवारका सदस्यसँग रमाइलो गरेर, व्यक्तिगत सरसफाई तथा सुरक्षामा लगाएर, घरमै बसेर गर्न मिल्ने अफिसको काम वा अन्य रचनात्मक क्रियाकलापहरुमा लगेर समय विताउ । अहिले कोरोना नियन्त्रणको प्रमुख अस्त्रकोरुपमा लकडाउन/निषेधाज्ञालाई लिइएको छ र भाइरस संक्रमणको सम्भाव्य विभिन्न जिल्लामा निषेधाज्ञा लगाइएको छ । बाँके प्रशासनले अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन पटकपटक आग्रह समेत गर्दै आएको छ । दिनभर घरमा बस्ने र साझ विहान बाहिर निस्कने, साथी भाईभेटघाट गर्ने, गफगाफ गर्ने र सामाजिक दुरी कायम नागरिकतहबाट हुन सकेको छैन् ।

निषेधाज्ञालाई समेत तोड्ने क्रम बढेपछि स्थानीय प्रशासनले नेपालगन्जमा एरीया नै तोकेर सील नै गर्नुपर्ने अवस्था आएको छ । अत्यावश्यक काम नपरी घरबाट बाहिर नजाऔं, जानै परे सामाजिक दुरी कायम गरौ र निषेधाज्ञाको पुर्णरुपमा पालना गरौं । प्रशासनको नियमलाई नागरिकको तहबाट पूर्णरुपमा पालना गर्ने हो भने कोरोना भाइरसको चेन तोड्न सकिने छ । यो काम तपाई हामीले आज होइ्न अहिलेदेखि नै सुरु गरिहालौं । महामारी तथा विपत्तिमा पार पाउनको लागि एक अर्कालाई सहयोग गरौ र जिम्मेवार नागरिको दायित्व पुरा गरौ ।

  • २४ श्रावण २०७७, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech