के हो कन्भलेसेन्ट प्लाज्मा थेरापी ? 

    • स्वास्थ्य पेज

  • २० श्रावण २०७७, मंगलवार
डा.ज्ञानेन्द्रमान सिंह कार्की, कोरोना संक्रमण भएर गम्भीर अवस्थामा पुगेका उहाँको प्लाज्मा थेरापी विधिबाट उपचार गरिएपछि स्वस्थ हुनुभएको छ ।

डा.ज्ञानेन्द्रमान सिंह कार्की, कोरोना संक्रमण भएर गम्भीर अवस्थामा पुगेका उहाँको प्लाज्मा थेरापी विधिबाट उपचार गरिएपछि स्वस्थ हुनुभएको छ ।

सरकारले भेरी अस्पताल नेपालगन्ज र नेपालगञ्ज मेडिकल कलेज कोहलपुरलाई कोरोना संक्रमण भएर गम्भीर अवस्थामा पुगेका बिरामीको उपचार प्लाज्मा थेरापी विधिबाट गर्न अनुमति दिएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले गम्भीर अवस्थामा पुगेका संक्रमितको कन्भालेसेन्ट प्लाज्मा थेरापी विधिबाट उपचार गर्न बाँकेका दईसहित १२ अस्पतालले स्वीकृति पाएका छन् । के हो  कन्भलेसेन्ट प्लाज्मा थेरापी ? यो कसरी गरिन्छ ? त्रिवि शिक्षण अस्पताल काठमाडौँका कोभिड–१९ व्यवस्थापन संयोजक प्रा.डा. सन्तकुमार दाससँगको कुराकानी ।


के हो कन्भलेसेन्ट प्लाज्मा थेरापी ? 

कन्भलेसेन्ट प्लाज्मा थेरापी भनेको कुनै पनि कोरोना भाइरस संक्रमित व्यक्ति निको भएको दुई हप्ता भइसकेको छ र उक्त व्यक्तिको पीसीआर रिपोर्ट दोहोर्‍याएर नेगेटिभ आएको छ भने उसको रगत झिकिन्छ। सामान्यतया रक्तदान गरे जसरी रगत भिक्ने गरन्छ। रगत झिकिसकेपछि उक्त रगतबाट रोतो रगत (आरबीसी) र प्लेटलेट्स छुट्याइन्छ। त्यपछि बाँकी भएको रगतलाई प्लाज्मा भनिन्छ। त्यही प्लाज्मालाई अर्को संक्रमित व्यक्ति जो आइसियु वा भेन्टिलेटरमा उपचार भइरहेको हुन्छ, जसलाई धेरै अक्सिजनको आवश्यक्ता परेको हुन्छ, त्यस्तो व्यक्तिलाई दिने गरिन्छ। यसैलाई कन्भलेसेन्ट प्लाज्मा थेरापी भनिन्छ।

उपचार कसरी गरिन्छ?

संक्रमित व्यक्तिलाई हामी अन्य विरामीलाई रगत जसरी दिन्छौँ, ठ्याक्कै त्यही तरिकाले प्लाज्मा दिइन्छ। दुई घण्टामा २ सय एमएल प्लाज्मा दिइन्छ। कुनै व्यक्तिलाई एक पटक दिँदा पुग्न सक्छ, कसैलाई दोहोर्‍याउनुपर्ने पनि हुन सक्छ। शिक्षण अस्पतालको केसमा भने एक पटक दिएको डोजले नै सुधार भएको थियो।

कन्भलेसेन्ट प्लाज्मा थेरापीबाट निको हुन्छ त?

यो थेरापी अहिले संसारभरि नै ‘इन्भेस्टिगेसनको फेज’मा छ। अहिले धेरै देशले यो थेरापीको प्रयोग गरिरहेको छ। विश्व स्वास्थ्य संगठनले पनि यो थेरापी गर्न सकिन्छ भनेको छ। त्यही हिसाबले हामीले पनि पहिलो केसमा सफल उपचार गरेका छौँ। पहिलो केसमै नतिजा राम्रो आएको छ। पछि गर्दै जाँदा के हुन्छ, अहिले नै भन्न सकिन्न।

एक पटक दिएको प्लाज्माले कति समयसम्म काम गर्छ?

यसमा समय भन्दा पनि बिरामीलाई प्लाज्मा दिएपनि उक्त बिरामीले ‘रेस्पोन्स’ गर्‍यो कि गरेन भनेर हेर्ने हो। यसमा तीन वटा कुरा हुर्नु पर्ने हुन सक्छ। विरामीको अक्सिजको ‘रिक्वायरमेन्ट’ घट्यो कि घटेन, निमोनियामा सुधार भएर एक्सरे रिपोर्ट राम्रो आयो आएन, स्वास फेर्न सजिलो भयो कि भएन भनेर हेर्नु पर्छ। यी तीन वटै कुरामा सुधार भएपछि उपचार सफल भएको बुझ्नु पर्छ। यहाँको पहिलो केसमा बिरामीको अक्सिजनमा पनि राम्रो भएको छ। अनि एक्सरेमा पनि सुधार भएको छ। त्यसले गर्दा विरामीको सुधार भयो, उपचारले काम गर्‍यौँ भन्न सक्छौँ। ४८ घण्टामा ७० प्रतिशत जति उहाँमा सुधार भएको छ। यो भनेको धेरै राम्रो सुधार हो।

निको भएको एक व्यक्तिले कति पटकसम्म प्लाज्मा दिन मिल्छ?

जति पनि मिल्छ। यो रक्तदान गरेको जस्तै हो। जसरी एउटा स्वस्थ व्यक्तिले रगत दिन्छ, त्यसरी संक्रमण देखिएर निको भएको व्यक्तिले हप्तैपच्छिे पनि प्लाज्मा दिन सक्छ। तर स्वास्थ्य अवस्था राम्रो हुनु पर्छ। उक्त व्यक्तिले एक पटकमा एक पिन्ट दिन सक्छ।

संक्रमित भएर निको भएको कति समयमा प्लाज्मा झिक्न मिल्छ?

कोरोना भाइरस संक्रमित व्यक्ति निको भएको ४ देखि ६ हप्ताभित्र प्लाज्मा लिइसक्नुपर्छ। प्लाज्मा कोरोना भाइरसको संक्रमण शरीरमा नभएको व्यक्तिबाट लिने हो।

कन्भलेसेन्ट प्लाज्मा थेरापी कसलाई काम लाग्छ?

प्लाज्मा थेरापी काम लाग्ने भनेकै संक्रमित व्यक्ति जो भेन्टिलेटर वा आइसियूमा उपचाररत उसलाई नै हो। संक्रमित भएर निको भएको व्यक्तिको रगत संक्रमित भएर जटिल अवस्थामा पुगेको व्यक्तिलाई दिने हो।

प्रतिभा चन्द


Nabintech