‘बेसारबारे प्रधानमन्त्रीले भनेका कुरा एकदमै सत्य हुन्’

    • स्वास्थ्य पेज

  • १४ श्रावण २०७७, बुधबार

प्रतिभा चन्द-

बर्षौँ पहिले आयुर्वेद पद्धतिबाट उपचार हुने गरे पनि अहिले मानिसहरु विज्ञानलाई धेरै विश्वास गर्न थालेका छन्। कयोँ मानिसलाई आफ्नै भान्छामा प्रयोग गरिने अनेकौँ मरमसलाबारे थाहा नहुन पनि सक्छ। हामीले दैनिक प्रयोग गर्ने गरेका मसलाले मानिसको स्वास्थ्यमा कस्तो फाइदा पुर्‍याउँछ? अनि पछिल्लो समय विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइसरबाट जोगिन विभिन्न ठाउँमा वितरण गर्ने गरिएका आयुर्वेदिक औषधी के साँचै नै स्वास्थ्यका लागि फाइदा जनक छन् त? यति मात्र नभएर प्रधानमन्त्रीले पटक–पटक भन्ने गरे जस्तै बेसारको प्रयोगले कोरोना भाइसरको संक्रमणबाट मानिसलाई जोगाउँछ? बेसार स्वास्थ्यका लागि कति फाइदाजनक छ? बेसारको प्रयोग कसरी गर्नुपर्छ? यस्तै विषयमा केन्द्रित रहेर आयुर्वेद चिकित्सक डा. बिपी तिमिल्सिनासँग गरिएको कुराकानीः

पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओलीले पटक–पटक बेसारको प्रयोगले धेरै रोग निको हुने अभिव्यक्ति दिइरहेका छन्। यो कत्तिको सत्य हो? बेसारका फाइदा के के छन्?

प्रधानमन्त्रीले भनेको कुरा एकदमै सत्य हो। वास्तवमा एन्टिबायोटिक द्रव्यहरु आयुर्वेदभित्र धेरै छन्। त्यसमध्यको एउटा वनस्पतिभित्र बेसार पर्छ। वास्तवमै बेसार एकदमै शक्तिशाली ‘मेडिसिनल प्लान्ट’ हो। अहिले २६ वटा देशले बेसारलाई नै एन्टिबायोटिकको रुपमा प्रयोग गरिरहेका छन्। हाम्रो शरीरमा घाउचोट लाग्यो भने कम बेसार खाने मानिसहरुका लागि उक्त घाउ वा चोट निको हुने गर्छ। तर बेसार धेरै खानेहरुको हकमा भने बेसारले काम गर्दैन। त्यस कारण बेसार कहिलेकहिले मात्रै खानुपर्छ। बेसार अत्यन्तै धेरै खाने व्यक्ति चाँडै बुढो देखिन्छ। किनभने यो एन्टिबायोटिक हो। उमेरलाई सन्तुलित राख्नका लागि पनि मानिसले बेसारको प्रयोग कम गर्नु पर्छ। आवश्यक्ता पर्दा मात्र खानु पर्छ। रुघाखोकी, ज्वरो, भाइरल इन्फेक्सन हुँदा खानुपर्छ। त्यो बाहेक काटेको घाउमा वा छाला सम्बन्धी रोग लाग्दा बेसार लगाउनु पर्छ। बेसारमा कर्कुमिन भन्ने तत्व हुन्छ। त्यसैले बेसारको प्रयोग गर्दा होसियार हुनु पर्छ। बेसार गुन्द्रक, घिरौँला, फर्सी, चिचिन्डो, लौका, साग विभिन्न तरकारीका परिकारमा प्रयोग गर्नु हुँदैन। किनभने भिटामिन र मिनरलहरु तरकारीमा कहिल्यै पनि बेसारको प्रयोग गर्नु उपयुक्त हुँदेन। तर आलु, दाल लगायत सुख्खा चिजहरुमा भने बेसारको प्रयोग गर्न सकिन्छ। खास गरी बेसार भनेको कहिले कहिले मात्र प्रयोग गरिने चिज हो। यसलाई निरन्तर प्रयोग गर्न मिल्दैन। अहिले प्रधानमन्त्रीले जुन कुरा उठाउनु भएको हो, त्यो अत्यन्त महत्वपूर्ण कुरा थियो। उहाँले उठाउन लायक कुरा उठाउनु भएको हो। तर उहाँको विषय भन्दा बाहिरको कुरा भएर कतिपय ठाउँमा उहाँलाई समस्या परेको हो। उहाँले कारण दिन सक्नु भएन। लजिक दिन सक्नु भएन। तर वास्तवमा उहाँले उठाउन भने सही कुरा नै उठाउनु भएको हो।

बेसार कति मात्रामा प्रयोग गर्ने भन्ने पनि हुन्छ?

हुन्छ। यसको मात्रा कस्तो हुन्छ भने कसैलाई जिउ दुख्यो, कुनै दुर्घटनामा परेको वा तनावमा भएको बेलामा करिव आधा ग्राम बेसार एकपटक दुध वा अमलामा मिसाएर मात्रा मिलाई खान सकिन्छ। यस्तै बेसार, सख्खर र मह मिसाएर खान पनि सकिन्छ। तर त्यो भन्दा धेरै मात्रा उपयुक्त हुँदैन। जति भन्यो त्यति अनि जेमा पायो त्यसमा बेसार मिसाएर खान मिल्दैन। हाम्रो बानी जतिबेला पनि बेसार सबैमा मिलाउने चलन छ जुन एकदमै गलत कुरा हो। बेसार एन्टिबायोटिक भएका कारण कहिले कहिले मात्रै खाने चिज हो। मात्रै आवश्यक्ता अनुसार प्रयोग गर्नु पर्छ।

बेसारका बेफाइदा के–के छन्? तरकारीमा बेसार राख्दा ध्यान दिनु पर्ने कुराहअरु के हुन्?

बेसार भनेको महत्त्वपूर्ण ‘प्लान्ट’ हो। धेरै जसोको तरकारी पकाउँदा बेसार भुटनमा डढाउने चलन छ। तर त्यसो गर्न मिल्दैन। बेसार तेलमा डडाउँदा कार्बन बन्छ। उक्त कार्बनबाट ब्लड क्यान्सर, टिजी, कोलेस्ट्रोल, फ्याट्टी लिभर, मानसिक तनावसँगसँगै अनेक किसिमका बाथ रोगहरु स्थापित हुने गर्छन्। त्यसकारण भुटनमा बेसार हाल्ने काम भुलेर पनि गर्नु हुँदैन। त्योभन्दा बाहेक बेसार लगाउनु पर्ने तरकारीमा पछि लगाउँदा हुन्छ। बेसारका जति फाइदा हुन्छ, त्यो सँगै बेफाइदा पनि हुन्छ। जस्तै छाला सम्बन्धी चिलाउने रोगमा बेसारको प्रयोग गरिन्छ। पछिल्लो समय किरा मर्छ भनेर सागमा बेसार छर्किने गरिन्छ। त्यो अत्यन्त हानिकारक कुरा हो। सागमा बेसार प्रयोग गर्ने हो भने छालामा समस्या आउने, पिसाबको समस्या आउने, आँखाको ज्योतिमा कमी आउने, मिर्गौला खराब हुने, स्मरण शक्ति कम हुनुका साथै अन्तत: अल्जाइमर हुने समस्या देखिन थाल्छन्।  त्यसैले बेसार प्रयोग गर्न जाने फाइदै फाइदा छन्, तर प्रयोग गर्न नजाने बेफाइदा पनि।

साभार देशसञ्चार

  • १४ श्रावण २०७७, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech