कोरोना महामारीमा किन आवश्यक छ मास्कको प्रयोग?

    • स्वास्थ्य पेज

  • १२ श्रावण २०७७, सोमबार

डा सुनिल सापकोटा-

के मास्कको प्रयोगले कोरोना भाइरसको संक्रमण कम गर्छ त? यो प्रश्न सबैको मनमा उठ्न सक्छ। यदि मास्कको साथमा अरु रोकथामका उपाय जस्तै: बारम्बार साबुनपानीले हात धुने अथवा सामाजिक दूरीको नियम पालन गर्ने हो भने कोरोना भाइरसको संक्रमण कम गर्न सकिन्छ।

विश्व स्वास्थ्य संगठनले मास्कलाई कोरोना भाइरसको नियन्त्रणको अभिन्न अङ्ग मानेको छ। अमेरिकाको  वासिङ्टन विश्वविद्यालयले गरेको एक अनुसन्धानले के जनाउँछ भने यदि ९५  प्रतिशित अमेरिकी जनताले सामाजिक तथा भीडभाड हुने ठाउँमा मास्कको प्रयोग अनिवार्य रुपमा गर्ने हो भने आगामी नोभेम्बर महिनासम्ममा कोभिड-१९ को कारणबाट ४५ हजार जनाको ज्यान जानबाट बचाउन सकिन्छ। यसबाट के प्रष्ट हुन्छ भने कोरोना भाइरसको संक्रमण दर कम गराउन मास्कको प्रयोग अति आवश्यक छ।

किन आवश्यक छ मास्कको प्रयोग?
कोरोना भाइरस मुख्यतः खोकी अथवा हाच्छिउँ गर्दा निस्कने कफ तथा र्‍यालको छिटाबाट सर्ने गर्दछ, जुन छिटामा कोरोना भाइरसका किटाणु रहेका हुन्छन्। कोरोना भाइरसको संक्रमण भएका व्यक्ति अथवा संक्रमणको आशंका गरिएका व्यक्तिले मास्क लगाउन अत्यन्त जरुरी छ किनभने यो रोगका किटाणुहरु छिटाका माध्यमबाट बाहिर ननिस्कुन्।   सर्वसाधारण तथा स्वास्थ्यकर्मीले मास्क लगाउन जरुरी छ किनकी ती स-साना छिटाहरु नाक र मुखको माध्यमबाट शरीरभित्र नछिरुन्। तसर्थ मास्कको प्रयोग सबैको लागि अनिवार्य छ। तर  कस्तो  मास्क प्रयोग गर्ने भनेर मास्कको प्रकारमा जनाकारी पाउन उपयुक्त हुन्छ, जसले यसको सुरक्षाको स्तरमा फरक पार्छ।

मास्कको प्रकार र सुरक्षाको स्तर
सबैखाले मास्कको एउटै सुरक्षाको स्तर हुँदैन। उचित खालको मास्कले खोक्दा वा हाच्छिउँ गर्दा नाक वा मुखबाट निस्कने छिटालाई रोक्ने गर्छ। यही छिटा नै कोरोना भाइरसको संक्रमणको मुख्य कारण हो। यसको साथमा मास्कले बोल्दा तथा श्वासप्रश्वास गर्दा मुख र नाकबाट निस्कने स-सानादेखि सबै छिटालाई पनि रोक्ने गर्छ।

१.  सर्जिकल अथवा मेडिकल मास्क
सर्जिकल मास्क एक पटक मात्र प्रयोग गर्न मिल्ने मास्क हो, जसको प्रयोगले नाक र मुखलाई साना तथा ठूला छिटाहरुबाट बचाउँछ, जसमा कोरोना भाइरसका किटाणुहरु हुन सक्छन्। साथै यो मास्क लगाउने मान्छेबाट यी  छिटा बाहिर निक्लनबाट पनि रोक्छ। तर यसले एकदमै साना छिटालाई नाक र मुखभित्र प्रवेश गर्न भने रोक्न सक्दैन।

२. एन-९५ अथवा एन-९९ 
यो मास्क पनि सामान्यतः एक पटक मात्र प्रयोग गर्न मिल्ने खालको मास्क हो। तर अत्यावश्यक अवस्थामा सरसफाइ गरेर पुनः प्रयोग गर्न सकिन्छ। यसले एकदमै सानादेखि ठूलासम्म छिटालाई रोक्न सक्छ, यो सबैभन्दा उच्चतम सुरक्षा दिने मास्क हो। एन-९५ मास्कले ९५ प्रतिशत सानाभन्दा साना किटाणुहरुलाई रोक्न सक्छ भने एन-९९ मास्कले ९९  प्रतिशतसम्म किटाणुहरुलाई रोक्न सक्छ।

भर्खरै आइरहेका अध्ययनहरुले के देखाएको छ भने भल्भ भएका एन-९५/एन-९९ मास्क त्यति सुरक्षित छैनन्। तसर्थ एन-९५/एन-९९ मास्कको प्रयोग गर्दा भल्भ नभएका मास्क प्रयोग गर्नु सुरक्षित हुन्छ। भल्भ भएको एन-९५ अथवा एन-९९ मास्क कुनै पनि संक्रमित तथा संक्रमणको आशंका भएका व्यक्तिहरूले प्रयोग गर्नु हुँदैन किनकी यो मास्क लगाए पनि खोकी वा हाच्छिउँ गर्दा  किटाणुहरु बाहिर निस्किन्छन्।

३. कपडाको माक्स 
कपडाको माक्स प्रयोग गर्नाले प्रयोगकर्ताले खोक्दा वा हाच्छिउँ गर्दा रोगका किटाणुहरु बाहिर निस्कन पाउँदैनन्। सामाजिक ठाउँ तथा भीडभाडमा सर्वसाधारणले कपडाको मास्क मात्रै पनि प्रयोग गर्ने हो भने कोराना संक्रमणको दर कम गर्न सकिन्छ। यदि कपडाको माक्स उपलब्ध छैन भने कुनै पनि कपडाले पनि नाक, मुख ढाक्न सकिन्छ। कपडाको मास्क सफाइ गरेर बारम्बार प्रयोग गर्न सकिन्छ। कपडाको मास्क किन्दा  सकेसम्म २ /३  तह भएको हुनुपर्छ।

कुन मास्कको प्रयोग कसले गर्ने?
–    एन-९५ अथवा  एन-९९ : कोरोना संक्रमित तथा कोरोना संक्रमणको आशंका भएका व्यक्तिहरूको उपचारमा संलग्न स्वास्थ्यकर्मी, सरसफाइमा खटिएका व्यक्ति तथा  नजिक रहेर काम गर्ने सबै जना।

–    सर्जिकल अथवा मेडिकल मास्क : कोरोना संक्रमित तथा संक्रमणको आशंका भएका व्यक्ति बाहेक अरु बिरामीको हेरचाह गर्ने स्वास्थ्यकर्मी। कोरोना विशेष अस्पताल बाहेक अरु अस्पतालमा काम गर्ने सबै जना। उच्च जोखिममा भएका व्यक्तिहरु। कोरोना संक्रमित अथवा कोरोना संक्रमणको आशंका भएका व्यक्ति र अन्य  स्वस्थ व्यक्ति।

–    कपडाको मास्क : कोरोना संक्रमित अथवा कोरोना संक्रमणको आशंका भएका व्यक्तिहरु। सामाजिक तथा भीडभाडमा जानु परेमा स्वस्थ व्यक्तिहरुले पनि।

मास्क प्रयोग गर्दा ध्यान दिनुपर्ने कुराहरू
•    मास्क लगाउनुभन्दा पहिला तथा मुखबाट निकालिसकेपछि साबुनपानी अथवा सेनिटाइजरले राम्रोसँग हात सफा गर्ने।
•    मास्कलाई मुख र नाक छोप्ने गरी लगाउने।
•    मास्कलाई चिउँडोमा सारेर नलगाउने।
•    मास्क लगाइसकेपछि हातले नछुने यदि कुनै कारणवस  छुनुपर्‍यो भने हातलाई साबुनपानी अथवा  सेनिटाइजरले राम्रोसँग सफा गर्ने र त्यसपछि मात्र छुने।
•    यदि मास्क फोहोर भयो भने,  पुनः प्रयोग गर्न मिल्ने मास्कलाई सफा गरेर प्रयोग गर्ने अन्यथा नयाँ प्रयोग गर्ने।
•    पुनः प्रयोग गर्न मिल्ने मास्क साबुनपानीले राम्रोसँग सफा गरी घाममा सुकाएर प्रयोग गर्ने।
•    खाना खानुअघि अथवा पानी पिउनु अगाडि मास्कलाई पूरै निकाल्ने तर तल चिउँडोतर्फ नतान्ने।
•    श्वासप्रश्वासमा गाह्रो हुने तथा अर्धचेतन अवस्थामा भएका व्यक्तिहरुले मास्कको प्रयोग नगर्ने।
•    दुई वर्षभन्दा कम उमेरका बच्चा-बच्चीलाई मास्क प्रयोग नगराउने।

मास्कको प्रयोग कहिले गर्ने?
•    स्वस्थ व्यक्तिले आफ्नो परिवार बाहेक सामाजिक स्थान, भीडभड अथवा अरू मानिससँग भेट्दा माक्स लगाउने।
•    स्वास्थ्यकर्मीले कुनै पनि बिरामीको उपचारमा खटिँदा मास्क लगाउने।
•    सार्वजनिक स्थान तथा कुनै पनि कार्यालयमा काम गर्ने कर्मचारीले आफू कार्यालयमा रहँदा अथवा सार्वजनिक स्थानमा रहँदा माक्स प्रयोग गर्ने।
•    कोरोना संक्रमित अथवा कोरोना संक्रमणको आशंका भएका व्यक्तिले सकेसम्म निरन्तर रुपमा माक्स प्रयोग गर्ने यदि श्वासप्रश्वासमा समस्या छ भने स्वास्थ्यकर्मीको सल्लाहमा मास्क प्रयोग गर्ने।
•    उच्च जोखिममा भएका व्यक्तिहरुले मास्क प्रयोग गर्ने।

  • १२ श्रावण २०७७, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech