एम्बुलेन्सहरुलाई व्यवस्थित गर्न जीपीएस प्रणाली जडान

    • स्वास्थ्य पेज

  • ८ श्रावण २०७७, बिहीबार

बुटवल ०८, साउन ।
प्रदेश ५ मा चल्ने एम्बुलेन्सहरुलाई व्यवस्थित गर्न जीपीएस प्रणाली जडान गरिने भएको छ। प्रदेश स्वास्थ्य निर्देशनालयले सञ्चालनमा ल्याएको यो प्रविधिको बिहीबार प्रदेश ५ का सामाजिक विकासमन्त्री सुनर्शन बरालले उदघाटन गर्नुभयो । उदघाटन कार्यक्रममा बोल्दै मन्त्री बरालले सेवाग्राहीलाई ठग्ने, झुट बोल्ने र सेवा नदिने एम्बुलेन्स चालकहरुलाई निरुत्साहित गरी एम्बुलेन्सलाई सेवामूलक बनाउन प्रविधि प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो ।

निर्देशनालयले ल्याएको यो नियमले सेवाग्राहीलाई पनि फाइदा पुग्ने बताइएको छ। सेवाग्राहीले समेत एम्बुलेन्स रहेको स्थानदेखि खाली रहे/नरहेको जानकारी पनि सहजै पाउने निर्देशनालयले जनाएको छ।एम्बुलेन्स सेवालाई प्रभावकारी, गुणस्तरीय र भरपर्दो बनाउन एम्वुलेन्सको वास्तविक स्थान र अवस्था पहिचान गरी आकस्मिक बिरामीलाई छिटो सुविधा दिन प्रदेशका ६० वटा एम्बुलेन्सहरुमा जिपीएस डिभाइस जडान गरेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।

निर्देशनालयका अनुसार एन्ड्रोइड मोबाइल प्रयोगकर्ताले प्लेस्टोरमा रहेको ‘एम्बुलेन्स नेपाल’ नामको एप डाउनलोड गरी अनलाइनमा गएर आफ्नो नजिक रहेको एम्बुलेन्सको जानकारी पाउनेछन्। यसका लागि जीपीएस लोकेशन अन राख्नुपर्नेछ। एपमा देखाएको एम्बुलेन्समा क्लिक गरेपछि एम्बुलेन्स कति टाढा छ भन्ने थाहा हुने प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक विनोद कुमार गिरीले बतउनुभयो ।

मोबाइल एपमै एम्बुलेन्स चालकको नम्बर देखिने र सम्पर्क गरेर एम्बुलेन्स बोलाउन सकिने उहाँले बताउनुभयो । उहाँका अननुसार यो सेवा मन्त्रालयले सोझै पनि दिनेछ। निर्देशनालयले शुरु गरेको २४ घण्टे हटलाईन टेलिफोन सेवाबाट पनि यो जानकारी पाइनेछ।

सेवाग्राहीले निर्देशनालयको सेवा लिनका लागि ०७१/४२०४९६ मा सम्पर्क गर्न सक्ने निर्देशनालयले जनाएको छ। प्रदेश ५ मा विभिन्न संघ संस्थाहरुले सञ्चालन गरेका एम्बुलेन्सहरु सहित झण्डै ३ सय ५० एम्बुलेन्सहरु सञ्चालनमा रहेका छन्।

  • ८ श्रावण २०७७, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई healthpage0@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech