सर्वोच्चले सरकारलाई भन्यो, पीसीआर नगरी संक्रमितलाई डिस्चार्ज नगर्नू

    • स्वास्थ्य पेज

  • ९ असार २०७७, मंगलवार

काठमाडौ. ०९, असार ।
सर्वोच्च अदालतले लक्षण नदेखिएका कोरोना भाइरस संक्रमितलाई पीसीआर परीक्षण नगरी घर पठाउने सरकारी निर्देशिका कार्यान्वयन नगर्न आदेश दिएको छ ।पूर्ण रुपमा संक्रमण मुक्त भएको सुनिश्चितता भएपछि मात्रै बिरामीलाई अस्पतालबाट डिस्चार्ज गर्न सर्वोच्चले सरकारका नाममा अन्तरिम आदेश दिएको हो ।

अधिवक्ता सन्तोष भण्डारीले दायर गरेको रिटमा सुनुवाई गर्दै न्यायाधीशहरु आनन्द मोहन भट्टराई र टंकबहादुर मोक्ताङको इजलाशले पूर्ण रुपमा निको भएको सुनिश्चिता गरेर मात्रै बिरामीलाई घर पठाउन आदेश दिएको हो ।स्वास्थ्य उपचारलाई संविधानले मौलिक हक अन्तर्गत राखेकोले सरकारले आफ्ना नागरिकको पूर्ण रुपमा उपचार गर्ने दायित्वबाट भाग्न नमिल्ने आदेशमा उल्लेख छ ।जेठ २० गते सरकारले उपचारमा रहेका कोरोना संक्रमितलाई लक्षण नदेखिएका आधारमा डिस्चार्ज गर्ने र उनीहरुको पीसीआर परीक्षण गर्न नपर्ने निर्देशिका जारी गरेको थियो ।

सर्वोच्चले उक्त निर्देशिकाको दफा ६ मा उल्लेखित लक्षण नभएका बिरामीलाई पीसीआर परीक्षण बिनै घर पठाउने निर्देशन हाल कार्यान्नयन नगरी पीसीआर परीक्षणपछि रोग मुक्त भएको सुनिश्चितता भए मात्रै घर पठाउन आदेश गरेको हो ।

  • ९ असार २०७७, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई healthpage0@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech