नेपालगन्जः श्री रणबम गण ओभरी ब्यारेक र राप्तीसोनारी गाउँपालिकाको संयुक्त आयोजनामा बाँकेको राप्तीसोनारी गाउँपालिका–८, पेरानीमा आयोजित निःशुल्क स्वास्थ्य शिविरबाट ६५६ जनाले उपचार सेवा लिएका छन् । मंगलवार शिवशक्ति मावि, पेरानीमा सञ्चालन भएको उक्त शिविरमा ६५६ जनाले विशेषज्ञ सेवा लिएको राप्तीसोनारी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख देवेन्द्र केसीले जानकारी दिए ।
उनका अनुसार ल्याब सेवा २१२ जनाले, मेडिसिन सेवा ६८ जनाले, अर्थोपेडिक सेवा ८७ जनाले, दन्त सेवा ५८ जनाले, जनरल ओपीडी सेवा ३४० जनाले, आँखा सेवा २२८ जनाले, इको सेवा ३९ जनाले तथा पाठेघरको मुखको क्यान्सरसँग सम्बन्धित सेवा ६५ जनाले लिएका थिए ।

स्वास्थ्य चेकजाँचका लागि शिविरमा आएका स्थानीयहरु
शिविरमा आएका अधिकांश सेवाग्राहीले उपलब्ध सबै प्रकारका सेवाहरू उपयोग गरेको प्रमुख केसीले बताए । ‘सेवा लिनेको संख्या ६५६ जना भए पनि एउटै व्यक्तिले विभिन्न सेवा लिएकाले कुल सेवा उपयोग संख्या करिब १ हजार ९७ पुगेको छ’–उनले भने ।
उत्तर–पश्चिम पृतनापति उपरथी दिपेशजंग शाहले यस्ता शिविरहरूले नागरिक र नेपाली सेनाबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउने तथा आधारभूत स्वास्थ्य सेवाबाट वञ्चित बिरामीलाई उपचारको पहुँचमा ल्याउने बताए । निःशुल्क स्वास्थ्य शिविरले अपेक्षित उद्देश्य हासिल गरेको उनको भनाइ छ ।
राप्तीसोनारी गाउँपालिकाकी कार्यवाहक अध्यक्ष मनिषा सिंह थारुले गाउँघरमै विशेषज्ञ चिकित्सकसहितको उपचार सेवा उपलब्ध हुँदा उपचारबाट वञ्चित महिला तथा पुरुषहरूलाई सहजता पुगेको बताइन्।

स्वास्थ्य चेकजाँचका लागि शिविरमा आएका स्थानीयको स्वास्थ्य चेकजाँच गर्दै सेनाका स्वास्थ्यकर्मी ।
शिविरमा सैनिक अस्पताल नेपालगन्जका आँखा रोग विशेषज्ञ डा. सागरराज कर्णिकार, अर्थोपेडिक सर्जन डा. अर्जुन पौडेल, दन्तरोग विशेषज्ञ डा. आश्मा राना, जनरल फिजिसियन डा. मुक्तीनाथ साँची तथा मेडिकल अधिकृतहरू डा. केदार बाबु डागर, भुवन चपाइँ, डा. अरुणा न्यौपाने र डा. ववी शाहलगायतको टोलीले स्वास्थ्य परीक्षण गरेको थियो ।
त्यसैगरी गाउँपालिकाबाट स्वास्थ्य शाखा प्रमुख केसीको नेतृत्वमा खटिएको टोलीले महिलाहरूमा पाठेघरको मुखको क्यान्सरसम्बन्धी भिआइए परीक्षण गरेको थियो । तालिमप्राप्त स्टाफ नर्स वविता नगरकोटी र परिवार नियोजन संघबाट खटिएकी स्टाफ नर्स कुसुम श्रेष्ठले उक्त परीक्षण गरेका थिए ।

शिविरमा सहकार्य गरेवाफत सेनाबाट प्रमाणपत्र ग्रहण गर्दै राप्तीसोनारी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख देवेन्द्र केसी ।
शिविरमा राप्तीसोनारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मनिराम खराल, ४ नम्बर वाहिनीका वाहिनीपति सहायक रथी प्रशान्त विक्रम राणा, बज्रदल गणका प्रमुख सेनानी रामचन्द्र श्रेष्ठलगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा रणबम गणका प्रमुख सेनानी खिमबहादुर डाँगीले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।







