काठमाडौंः वरिष्ठ वाथरोग विशेषज्ञ डा. विनित वैद्यको अध्यक्षतामा सोसाइटी अफ प्यारेन्टेरल एन्ड एन्टेरल न्युट्रिशन अफ नेपाल (स्पिन) गठन गरिएको छ। राजधानीमा आयोजित एक कार्यक्रममा संस्थाको औपचारिक घोषणा गरिएको हो। संस्थाको उपाध्यक्षमा डायटिसियन नानीशोभा शाक्य, सचिवमा डा. पावना कायस्थ, सहसचिवमा डा. सुवास पन्त तथा कोषाध्यक्षमा डा. दीपेश शाक्य चयन भएका छन्।
सदस्यहरूमा डा. विजय केसी, डा. मनिषा भोछिभोया, डा. रोशन घिमिरे, डायटिसियन मीना कुमारी गुरुङ, डायटिसियन योगिता सापकोटा र डायटिसियन प्रियंका सैंजु रहेका छन्। कार्यक्रममा बोल्दै सचिव डा. पावना कायस्थले दीर्घरोग, शल्यक्रियापछिको अवस्था तथा गम्भीर बिरामीहरूको उपचारमा ‘प्यारेन्टेरल’ र ‘एन्टेरल’ न्यूट्रिशनको महत्व दिनप्रतिदिन बढ्दै गएको बताइन्।
उनले पोषण व्यवस्थापनलाई अझ व्यवस्थित र प्रभावकारी बनाउन संस्थाले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिन्। आयोजकका अनुसार नेपालमा पोषणसम्बन्धी सेवा अझै पर्याप्त प्राथमिकतामा नपरेको अवस्था छ। यस क्षेत्रमा नीतिगत स्पष्टता, जनचेतना अभिवृद्धि तथा व्यावसायिक तालिमको आवश्यकता औँल्याइएको छ। सिएमई कार्यक्रममार्फत सहभागी स्वास्थ्यकर्मीहरूलाई नवीनतम चिकित्सा ज्ञान, प्रविधि तथा पोषणसम्बन्धी अभ्यासबारे अद्यावधिक गराइएको थियो। यस्ता कार्यक्रमले स्वास्थ्य सेवा प्रवाहको गुणस्तर अभिवृद्धिमा सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ।







