नेपाल चिकित्सक संघको नयाँ नेतृत्व छान्न मतदान सुरु, १९ कार्यसमितिका लागि ५५ जना प्रतिस्पर्धामा

    • स्वास्थ्य पेज

  • ४ बैशाख २०८३, शुक्रबार

वरिष्ठ कन्सल्टेन्ट फिजिसियन डा.खगेन्द्र जंग शाह ।

नेपालगन्जः नेपाल चिकित्सक संघ (एनएमए) को नयाँ नेतृत्व चयनका लागि मतदान सुरु भएको छ । बाँके र बर्दियाका एनएमएमा आवद्ध चिकित्सकहरुले नेपालगन्जस्थित एनएमए भवनमा मत हाल्ने निर्वाचन सहायक अधिकृत डा.लक्ष्मण सिक्देलले जानकारी दिए ।

मतदान विहान ८ बजेदेखि बेलुका ६ बजेसम्म चल्ने छ ।१९ सदस्यीय केन्द्रीय कार्यसमितिका लागि उपत्यका बाहिर आज र भोलि तथा काठमाडौं उपत्यका भित्र वैशाख १७ र १८ गते मतदान हुनेछ । एनएमए भेरीमा करिव दुई सय ५० मतदाता रहेको सहायक अधिकृत डा.सिक्देलले बताए ।

नेपालगन्जबाट वरिष्ठ उपाध्यक्षमा डा.कीर्तिपाल सुवेदी चुनावी प्रतिस्पर्धामा छन् । उनी भेरी अस्पतालका प्रमुख कन्सल्टेन्ट प्रसूति तथा स्त्रीरोग विशेषज्ञ हुन् । यस पटकको निर्वाचनमा डा. बद्री रिजाल, डा. मंगल रावल र डा. नारायण भुषालले आफ्नो प्यानलसहित उम्मेदवारी दिएका छन । तीन टिमका कुल ५५ जना चुनावी प्रतिस्पर्धामा रहेका छन् ।

मतदान गर्दै भिजन आँखा अस्पतालका वरिष्ठ आँखा रोग विशेषज्ञ डा.प्रचण्ड गौतम

उपत्यकाबाहिर आज र भोलि दुवै दिन एनएमए भेरी, विराटनगर (कोशी शाखा कार्यालय, एलाइट क्लब भवन), धरान (बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान परिसर), राजविराज (गजेन्द्र नारायण सिंह अस्पताल), लहान (प्रादेशिक अस्पताल सिरहा), जनकपुर (प्रादेशिक अस्पताल मिटिङ हल) र वीरगंज (नारायणी शाखा कार्यालय भवन) मा मतदान हुनेछ ।

एनएमए भेरी शाखा मतदान केन्द्रको निर्वाचन समिति । यहाँ वरिष्ठ सर्जन डा.केएन जोशी मुख्य निर्वाचन अधिकृत हुन् ।

त्यसैगरी, चितवन (भरतपुर अस्पताल तालिम केन्द्र), पोखरा (पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान), बुटवल (लुम्बिनी शाखा कार्यालय, हस्पिटल लाइन), धनगढी (सेती प्रादेशिक अस्पताल परिसर), सुर्खेत (प्रादेशिक अस्पताल), दाङ (राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान), जुम्ला (कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान), पाल्पा (लुम्बिनी मेडिकल कलेज), हेटौंडा (हेटौंडा अस्पताल), तनहुँ (जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र, दुलेगौँडा), रौतहट (प्रादेशिक अस्पताल गौर) र काभ्रे (शीर मेमोरियल अस्पताल, बनेपा) मा आज र भोलि मतदान हुने छ ।\

मतदानका लागि लाइनमा भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा.निराजन सुवेदी

झापाको दमक (लाइफलाइन अस्पताल) मा वैशाख ४ गते मात्रै मतदान हुनेछ भने बिर्तामोड (संजीवनी हार्ट अस्पताल) र डडेलधुरा (डडेलधुरा अस्पताल) मा वैशाख ५ गते मात्रै मतदान हुने निर्वाचन समितिले जनाएको छ ।

बायाँबाट क्रमशः बद्री रिजाल, मंगल रावल र नारायणप्रसाद भुसाल ।

डा. बद्री रिजालको समूहबाट अध्यक्षमा डा. बद्री रिजाल, वरिष्ठ उपाध्यक्षमा डा. सन्जिब तिवारी, महासचिवमा डा. विश्वराज दवाडी, कोषाध्यक्षमा डा. संयुक्त आचार्य, सह–सचिवमा डा. हुलास अग्रवाल र सह–कोषाध्यक्षमा डा. तेजसुसिंह मल्ल उम्मेदवार छन् । त्यसैगरी, उपाध्यक्ष एवं प्रदेश संयोजकहरूमाः डा. रोशन खड्का (कोशी), डा. अमित रञ्जन मिश्र (मधेश), डा. सुवास भट्टराई (बागमती), डा. नवराज लम्डारी (गण्डकी), डा. नन्दा गुरूङ (लुम्बिनी), डा. सुरज कुमार गिरी (कर्णाली) र डा. प्रमोद जोशी (सुदूरपश्चिम) रहेका छन्। सदस्यहरुमा डा. परशु राम घिमिरे, डा. राकेश साह, डा. सुमेध मिश्र, डा. बिना श्रेष्ठ, डा. हिमलाल भण्डारी र डा. सुस्मित काफ्ले रहेका छन् ।

यस्तै डा. मंगल रावल समूहबाट अध्यक्षमा डा. मंगल रावल, वरिष्ठ उपाध्यक्षमा डा. कीर्तिपाल सुवेदी, महासचिवमा डा. कालुसिंह खत्री, कोषाध्यक्षमा डा. चन्दनी जयसवाल, सहसचिवमा डा. रामजीवन प्रसाद र सह–कोषाध्यक्षमा डा. सुवास गुरुङ उम्मेदवार छन् । उपाध्यक्ष एवं प्रदेश संयोजकहरूमाः डा. टंक बाराकोटी (कोशी), डा. उदय नारायण सिंह (मधेश), डा. अरुण शाही (वागमती), डा. यज्ञराज सिग्देल (गण्डकी), डा. सन्तोष पोखरेल (लुम्बिनी), डा. रविन खड्का (कर्णाली) र डा. निरज अर्याल (सुदूरपश्चिम) रहेका छन् । सदस्य पदका उम्मेदवारहरुमा डा. अमित झा, डा. अरुण उप्रेती, डा. निराजन तामाङ, डा. जेबाना अन्सारी, डा. दिक्षा बोहरा र डा. पल्पसा श्रेष्ठ रहेका छन् ।

त्यसैगरी डा. नारायण भुषाल समूहबाट अध्यक्षमा डा. नारायण भुषाल, वरिष्ठ उपाध्यक्षमा डा. अजय कुमार मिश्र, महासचिवमा डा. अमित भुषाल, कोषाध्यक्षमा डा. विनोद कुमार महाशेठ, सहसचिवमा डा. सन्तोष अधिकारी र सह–कोषाध्यक्षमा डा. राजकुमार दंगाल उम्मेदवार छन् । उपाध्यक्ष एवं प्रदेश संयोजकहरूमाः डा. हरी शंकर कार्की (कोशी), डा. मोहम्मद आनामुल हक (मधेश), डा. एकानन्द सिंह (वागमती), डा. लक्ष्मण शर्मा (लुम्बिनी) र डा. अनुप समाल (कर्णाली) रहेका छन् ।

सदस्य पदका उम्मेदवारहमा डा. आरती शाह, डा. गणेष चौधरी, डा. जीवन क्षेत्री, डा. विजय बाबु शाह, डा. शेषराज घिमिरे र डा. भवानी शिल्पकार रहेका छन् । संघको विधानअनुसार अध्यक्ष १, वरिष्ठ उपाध्यक्ष १, प्रत्येक प्रदेशबाट १–१ जना गरी ७ उपाध्यक्ष, महासचिव १, कोषाध्यक्ष १, सहसचिव १, सह–कोषाध्यक्ष १ र सदस्य ६ गरी कुल १९ जनाको केन्द्रीय कार्यसमिति निर्वाचित हुनेछ।

  • ४ बैशाख २०८३, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई healthpage0@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech