खाना र पानी निल्नु हाम्रो दैनिक जीवनको एकदमै स्वाभाविक प्रक्रिया हो। हामीले प्रायः यसबारे सोच्नुपर्दैन। तर जब कसैलाई निल्न गाह्रो हुन थाल्छ, घाँटीमा केही अड्किएजस्तो महसुस हुन्छ वा खाना–पानी खान असहज लाग्न थाल्छ, त्यसलाई सामान्य समस्या ठान्नु हुँदैन। चिकित्सकीय भाषामा यस अवस्थालाई डिस्फेजिया भनिन्छ।
डिस्फेजिया आफैंमा कुनै रोग होइन, तर यो शरीरभित्र भइरहेको गम्भीर स्वास्थ्य समस्याको संकेत हुन सक्छ। समयमै पहिचान र उपचार नगरेमा खाना वा पानी फोक्सोमा पस्ने (एस्पिरेशन), निमोनिया, कुपोषण, डिहाइड्रेसन तथा गम्भीर अवस्थामा ज्यानसमेत जोखिममा पर्न सक्ने स्वास्थ्य विशेषज्ञहरू बताउँछन्। यही कारणले डिस्फेजियाको व्यवस्थापनमा स्वालोइङ थेरापी र यसका विशेषज्ञको भूमिका अत्यन्त महत्वपूर्ण मानिन्छ।
धेरैलाई थाहा नहुन सक्छ, निल्ने प्रक्रिया पनि बोल्ने प्रक्रियाजस्तै जटिल स्नायु–मांसपेशी समन्वयमा आधारित हुन्छ। यही जटिल प्रणालीको मूल्याङ्कन र उपचार गर्ने विशेष स्वास्थ्यकर्मीलाई स्वालोइङ थेरापीका विशेषज्ञ (स्पिच एन्ड ल्याङ्ग्वेज प्याथोलोजिस्ट – एसएलपी) भनिन्छ। डिस्फेजियाको पहिचान, उपचार तथा सुरक्षित निलाइ सुनिश्चित गर्न यी विशेषज्ञहरू अग्रपङ्क्तिमा काम गर्छन्।
विशेषज्ञहरूका अनुसार नियमित स्वालोइङ थेरापीले धेरै बिरामीलाई पुनः सुरक्षित रूपमा खान र पिउन सक्षम बनाउँछ। यसले बिरामीको पोषण अवस्था सुधार गर्नुका साथै आत्मविश्वास र जीवनको गुणस्तरमा समेत सकारात्मक प्रभाव पार्छ।
डिस्फेजियाका केही लक्षणहरू परिवारले घरमै पहिचान गर्न सक्छन् :
निल्दा दुख्नु वा घाँटीमा अड्किएजस्तो महसुस हुनु
आवाज भासिनु वा परिवर्तन हुनु
मुखबाट थुक वा खाना बगिरहनु
खाना खान डराउनु वा इन्कार गर्नु
तौल घट्दै जानु तथा बारम्बार श्वासप्रश्वास सम्बन्धी समस्या देखिनु
यी चेतावनी संकेत देखिएमा ढिला नगरी चिकित्सकसँगै स्वालोइङ थेरापी विशेषज्ञको परामर्श लिनु आवश्यक हुन्छ।
डिस्फेजियाको सफल व्यवस्थापन टिमवर्क मा आधारित हुन्छ। चिकित्सकले समस्याको चिकित्सकीय कारण पहिचान गर्छन् भने स्वालोइङ थेरापी विशेषज्ञले निलाइ सुरक्षित र प्रभावकारी बनाउने उपचार प्रदान गर्छन्। परिवारले दैनिक हेरचाहमा विशेषज्ञले दिएको सल्लाह पालना गरेर उपचारलाई सफल बनाउन महत्वपूर्ण भूमिका खेल्छ।
खाना खाँदा बिरामीलाई सिधा बसाल्ने, सानो मात्रामा र धैर्यपूर्वक खाना दिने, सिफारिस गरिएको बनावटको खाना मात्र प्रयोग गर्ने, खाना खाँदा कुरा गर्न नलगाउने तथा खाना खाएपछि कम्तीमा ३० मिनेटसम्म सुत्न नदिने जस्ता उपायहरूले जोखिम कम गर्न सहयोग पुर्याउँछन्।
अन्त्यमा, डिस्फेजिया एक गम्भीर तर उपचार सम्भव समस्या हो। यदि सही समयमा विशेषज्ञको सहयोग लिइयो भने धेरै जटिलता रोक्न सकिन्छ। निल्न सक्नु केवल शारीरिक क्षमता मात्र होइन, यो व्यक्तिको स्वाभिमान, पोषण र समग्र जीवनको गुणस्तरसँग प्रत्यक्ष रूपमा जोडिएको विषय हो।








