नसर्ने रोग स्क्रिनिङ्ग अभियानमा प्युठान,अर्घाखाँची र पाल्पा उत्कृष्ट

    • स्वास्थ्य पेज

  • ३० फाल्गुन २०८२, शनिबार

भालुबाङ्ग, दाङ्ग-  स्वास्थ्य मन्त्रालय लुम्बिनी प्रदेश सरकार र स्थानीय सरकारको संयुक्त आयोजनामा Conference – 2026, “ACCELERATING NCD PREVENTION & EARLY DETECTION IN LUMBINI PROVINCE: TOWARD UNIVERSAL SCREENING & HEALTHY LIVING” सम्पन्न भएको छ । सो सम्मेलन अन्तर्गत सञ्चालन भएको “३० वर्ष माथिका नागरिकहरूको नसर्ने रोग स्क्रिनिङ्ग अभियान – २०८२” मा प्युठान, अर्घाखाँची र पाल्पा जिल्लाले लक्ष्यभन्दा माथि प्रगति हासिल गरेका छन् ।

प्युठान जिल्लाले ११६.२३%, अर्घाखाँचीले ११३.५८%, र पाल्पाले १०३.९७% लक्ष्य प्रगति हासिल गर्दै उत्कृष्ट प्रदर्शन गरेका छन् । यस उपलब्धिलाई सम्मान गर्दै लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयले तीनै जिल्लाका स्वास्थ्य कार्यालय प्रमुख र नसर्ने रोग फोकल पर्सनहरूलाई प्रशंसा पत्र सहित सम्मान प्रदान गरेको छ ।

स्वास्थ्य कार्यालय प्युठानले प्राप्त गरेको प्रशंसा पत्र

प्युठान जिल्लामा विशेष योगदान पुर्याउने स्वास्थ्यकर्मीहरूमा स्थानीय तहका प्रमुख, उपप्रमुख, स्वास्थ्य शाखा प्रमुख, ६४ वटै वडाका स्वास्थ्यकर्मी तथा स्वास्थ्य कार्यालय प्यूठानका फोकल पर्सन पुस्कल प्रसाद श्रेष्ठ रहेका छन् । उनीहरूले दुई महिनासम्म निरन्तर सेवा प्रवाह र प्रतिवेदन पेश गरी अभियानलाई सफल बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको स्वास्थ्य कार्यालय प्युठानका प्रमुख नरेश बाबु श्रेष्ठले बताए ।

स्वास्थ्य मन्त्रालयले अभियानमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा योगदान पुर्याउने सबै स्वास्थ्यकर्मी, स्थानीय सरकारका प्रतिनिधि र सहभागीहरूमध्ये सबैलाई धन्यवाद ज्ञापन गरेको छ । यो अभियानले लुम्बिनी प्रदेशमा नसर्ने रोगको रोकथाम, प्रारम्भिक पहिचान र स्वास्थ्य सचेतनाको प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

कार्यक्रममा लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेम बहादुर सारु, स्वास्थ्य मन्त्रालयका सचीव दुर्गालक्ष्मी श्रेष्ठ, स्वास्थ्य निर्देशनालय लुम्बिनी प्रदेशका निर्देशक रोशन लाल चौधरी लगायतको उपस्थिति रहेको थियो ।

  • ३० फाल्गुन २०८२, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई healthpage0@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech