नसा भन्नाले के बुझिन्छ ?
मस्तिष्क र मेरुदण्डका सन्देश शरीरका विभिन्न भागमा पुर्याउने संरचना नै नसा (Nerve) हो । यो शरीरको सबै भागमा हुन्छ । कुहिना ठोक्किँदा औँलाहरूमा हुने झमझमाहट वास्तविक रूपमा नसा हो । आम रूपमा रगत बग्ने नलीलाई पनि नसा भन्ने गरिन्छ । तर, फोहोर रगत बोकेको नलीलाई धमनी (Vein) भनिन्छ भने सफा रगत बोक्ने नलीलाई शिरा (Artery) भनिन्छ । यसैगरी, हड्डीमा टाँसिन आउने मासुको त्यान्द्रोलाई लिगामेन्ट (Ligament) भनिन्छ, जसलाई पनि आम रूपमा नसा नै भन्ने चलन छ ।
कस्ता समस्या देखिन्छन् नसामा ?
नसामा विभिन्न कारणले समस्या देखिन्छन् । नसा च्यापिँदा, चोटपटक लाग्दा, हातखुट्टामा गाँठा (त्यान्द्रो सुन्निने) लगायतका कारण नसामा समस्या देखिन्छ । ढाडमा कुरकुरे हड्डी (Disc) निस्किएको अवस्थामा पनि ढाडको नसा च्यापिन्छ । हातको ‘फाइब्रस ब्यान्ड’ले थिचेर पनि नसा च्यापिने हुन्छ । हातको नसा च्यापिँदा औँला चलाउन नसकिने पनि हुन सक्छ । यस्तै, चोटपटक लाग्दा हड्डी भाँचिएर पनि नसा च्यापिने हुन्छ । रगतको नली पनि च्यापिँदा भने शरीरको कुनै पनि भागमा रक्तप्रवाह नै बन्द हुन सक्छ । हातमा भएको मासुको त्यान्द्रो (Ligament) सुन्निन सक्छ र औँला पनि नचल्ने हुन सक्छ, त्यसलाई हामी नसा सुन्निएको भन्छौँ । औँलामा बाङ्गोपना पनि देखिन सक्छ ।
नसा च्यापिँदा कस्ता लक्षण देखिन्छन् ?
नसा (Nerve) च्यापिँदा शरीरका भाग झमझम गर्ने नै एउटा मुख्य लक्षण हो । ढाडको नसा च्यापिँदा तिघ्राको पछाडिपट्टिको भागदेखि दुखेर तल खुट्टासम्म पुग्ने हुन्छ, झमझम गर्छ । सियो अथवा काँडाले घोचेजस्तो हुन्छ । हातको नसा थिचियो भने चोरी औँला, माझी औँला र बूढीऔँला झमझमाउने हुन्छ ।
कुहिनाको छेउमा ठोक्कियो भने कान्छी औँला र साइँली औँला झमझमाउने हुन्छ । यस्तो नसा च्यापिएको समस्यामा शल्यक्रिया गर्ने या नगर्ने भन्ने कुरा हामी एमआरआई (MRI) गरेर थाहा पाउँछौँ । शल्यक्रिया नगर्नुपर्ने अवस्था हो भने औषधि दिएर उपचार गरिन्छ । नसाको शल्यक्रिया न्युरो अथवा अर्थोपेडिक सर्जनले गर्छन् ।
टेन्डनको शल्यक्रिया भने अर्थोपेडिक सर्जनले गर्छन्, अरूले गर्दैनन् । रगतको नली च्यापिँदा पनि त्यस्तै खालको दुखाइ र झमझम हुने हुन्छ, तर त्यसको लक्षण नसा च्यापिएको लक्षणभन्दा अलि बेग्लै हुन्छ । रगतको नली च्यापिँदा हिँड्दा दुख्ने, तर एकैछिन आराम गर्ने हो भने निको हुन्छ र पुनः हिँड्न मिल्छ । तर, नसा च्यापिएको छ भने निको हुन केही समय लाग्छ । यो दुईको फरक छुट्याउन धेरै जरुरी हुन्छ । रगतको च्यापिएको नसा पत्ता लगाउन कलर डप्लर (Ultrasound) गरिन्छ । यसको शल्यक्रिया भने रगत नली विशेषज्ञद्वारा गरिन्छ ।
लिगामेन्टमा समस्या कसरी आउँछ ?
विभिन्न कारणले चोटपटक लागेर लिगामेन्ट च्यातिन्छ, या सुन्निन्छ । च्यातिएको अवस्थामा सिलाउनुपर्छ । लिगामेन्ट च्यातिँदा जोर्नी, खुट्टाका औँला अथवा कुहिना नचल्ने हुन्छ । रातो मासु जब हड्डीमा टाँसिन आउँछ, त्यसलाई टेन्डन भनिन्छ, यसमा चोटपटक लागेमा च्यातिन्छ या फाटिन्छ, जसले गर्दा जोर्नीहरू नै नचल्ने पनि हुन सक्छ ।
कस्तो अवस्थामा औषधिले निको हुन्छ ?
कुरकुरे हड्डी बाहिर निस्किएर नसाको नजिक पुगे पनि हिँड्डुलमा असर गरेको छैन भने शल्यक्रिया नगरे पनि हुन्छ । यस्तो समस्यालाई फिजियोथेरापीमार्फत् आराम गराएर औषधि दिएर सञ्चो बनाउन सकिन्छ । यदि नसा पूरै थिचिएको छ भने शल्यक्रियाबाहेक अरू विकल्प हुँदैन । डेढ महिनाजति फिजियोथेरापी गरेर हेर्दा पनि सुधार देखिएन भने शल्यक्रियामा जानुपर्ने हुन्छ । सुधार भइरहेको छ भने बिना शल्यक्रिया पनि निको हुन्छ ।
तर, पिसाब नै रोकिने, दिसा निस्केको थाहा नहुने अवस्था छ भने इमर्जेन्सी रूपमा शल्यक्रिया गर्नुपर्ने हुन्छ । यस्तो अवस्थामा धेरै कुरेर समय बर्बाद गर्नुहुन्न । एकपटक नसामा क्षति भएपछि फर्केर आउन गाह्रो हुन्छ । ढिलो भएमा नसामा रक्तसञ्चार बन्द भएर कामै नगर्ने पनि हुन सक्छ, त्यसैले यसको शल्यक्रिया जतिसक्दो चाँडो गर्न जरुरी हुन्छ ।
हामी नसा भनेर सबै चिजलाई बुझ्छौँ । तर नसा भनेको तीन विभिन्न कुरा हुन् भनेर बुझ्नुपर्ने हुन्छ– कुहिना ठोक्किँदा औँला झमझम गर्ने एउटा नसा, हातखुट्टाको हड्डी चलाउन प्रयोग हुने अर्को लिगामेन्ट र रगतका नसा (Arteries and Veins) ।








