डा.धर्मराज रेग्मीको उपचार अनुभवः जव ती गर्भवतीको प्रेसर जाँच्दा १८०/१२० देखियो…

प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा. धर्मराज अहिले सुर्खेतलाई कर्मथलो बनाएर दुर्गम क्षेत्रका महिलाहरुको स्वास्थ्य उत्थानका निमित्त निरन्तर जुटिरहेका छन् । आधुनिक स्वास्थ्य सेवा सहज रुपमा नपुग्ने पहाडी र दुर्गम बस्तीका महिलाका लागि उनी केवल चिकित्सक मात्र होइनन्, भरोसाको नाम बनेका छन् ।


    • प्रियास्मृति ढकाल / समिरमान श्रेष्ठ

  • २ पुष २०८२, बुधबार

सुर्खेतः जुम्ला, चन्दनाथ–१०, सिलाममा डा. धर्मराज रेग्मीको जन्म २०४६ सालमा बुवा कृष्णप्रसाद रेग्मी र आमा अमृता रेग्मीको कोखबाट भएको थियो । उनले गाउँकै चन्दनाथ माध्यमिक विद्यालयबाट प्रारम्भिक शिक्षा पूरा गरे । २०६१ सालमा प्रथम श्रेणीबाट एसएलसी उर्तिण गरे । त्यसपछि प्लस टु अध्ययनका लागि काठमाडौं गए । भिएस निकेतनबाट २०६३ सालमा उनले प्लस टु पूरा गरे । प्लस टु पढ्दासम्म उनलाई डाक्टर बन्ने सोच थिएन । उनी इन्जिनियर बन्ने सपना बुनिरहेका थिए । पढाइ राम्रै थियो । साथीभाइहरुले डाक्टर बन्न सुझाव दिए । उनको मन फेरिन थाल्यो । प्लस टु पछि एमबीबीएसको तयारी थाले ।

२०६५ सालमा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा छात्रवृत्तिमा नाम निस्कियो र त्यहाँबाट उनको डाक्टरी यात्रा सुरु भयो । २०७० सालमा एमबीबीएस पूरा गरे । एमबीबीएस पूरा भएपछि छात्रवृत्ति करारअनुसार उनी अछामको बयलपाटा अस्पताल गए र त्यहाँ ११ महिना काम गरे । करिब तीन महिना जुम्ला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सेवा दिएपछि उनले लोक सेवा आयोगको परीक्षा दिई २०७२ सालमा आठौं तहमा नाम निस्कियो । लोकसेवामा नाम निस्केपछि उनको पहिलो पोष्टिङ सुर्खेतको दशरथपुर स्वास्थ्य केन्द्रमा भयो, जहाँ एक वर्ष काम गरे । त्यसपछि उनी जाजरकोट जिल्ला अस्पताल सरुवा भए । करिब साढे दुई वर्ष सेवा दिए ।

स्वास्थ्यपेजकर्मीसँग डा.धर्मराज ।

त्यसपछि न्याम्समा एमडी अध्ययनका लागि नाम निस्कियो । डा. धर्मराजले प्रसूति तथा स्त्रीरोगमा मास्टर्स गर्ने योजना बनाउने मुख्य कारण भनेको ठूली आमाको निधन थियो । आफु १२ वर्षको छदा ठूलीआमाको रक्तश्रावकै कारण मृत्यु भएको घटनाले उनलाई गहिरो रुपमा प्रभाव पारेको थियो । त्यसैले डाक्टर बनेपछि उनले प्रसूति तथा स्त्रीरोग विशेषज्ञ बन्ने अठोट लिएका थिए । २०७८ सालमा एमडी पूरा गरेपछि उनी कर्णाली प्रादेशिक अस्पतालमा आए र करिब ९ महिना सेवा दिए ।

त्यसपछि २ वर्ष जिल्ला अस्पताल दैलेखमा मेडिकल सुपरिन्टेन्डेन्टका रुपमा काम गरे । २०८१ साल कार्तिकमा पुनः प्रादेशिक अस्पताल कर्णालीमा सरुवा भए । कर्णालीमा जन्मिएर कर्णालीकै सेवामा अहोरात्र खटिएका कन्सल्टेन्ट प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा.धर्मराज रेग्मीले आफ्नो एक दशक लामो चिकित्सकीय पेशामा केही घटना भने स्मरणीय रहेको बताउँछन् ।

पाठेघर फुटेर आएकी ती महिला…

करिव दुई वर्ष अघिको कुरा हो । उनी दैलेख जिल्ला अस्पतालमा कार्यरत थिए । २८ वर्षकी गर्भवती व्यथा लागेर अस्पताल आइन् । यसअघि उनले दुई वटा वच्चा जन्माइसकेकी थिइन् । यो उनको तेस्रो गर्भ थियो । उनी असह्य पीडामा थिइन् । आवश्यक परीक्षण गर्दा उनको पाठेघर फुटिसकेको थियो । अपरेसन नगरी अरु उपाय नै थिएन । रक्तश्राव भइरहेको थियो । डा.धर्मराजले तत्काल रगतको व्यवस्थापन गरे । रगत चढाउँदै अपरेशन गरे ।

करिव चार घण्टा लाग्यो । आमाको ज्यान जोगियो । तर बच्चा जोगाउन सकिएन् । पहिले सिजेरियन वा कुनै अन्य गर्भाशयमा गरिएको शल्यक्रियाको ठाउँ कमजोर भएको अवस्थामा पाठेघर फुट्ने जोखिम बढी हुने डा.धर्मराज बताउँछन् । दोस्रो वा तेस्रो गर्भमा बच्चा ठूलो हुँदा पनि कमजोर ठाउँ फुट्न सक्ने जोखिम रहन्छ । ती महिलाको पेटमा खत थियो । पाठेघर तन्कने र खुम्चने गति बढ्दा त्यही ठाउँबाट पाठेघर फुटेको अवस्था थियो । धन्न समयमै उपचार पाइन् र ती महिलाको ज्यान जोगियो । यो घटना उनी अहिलेपनि सम्झिरहन्छन् ।

वेहोस अवस्थामा ल्याइएकी ती गर्भवतीको प्रेसर जाँच्दा जव १८०/१२० देखियो…

चार वर्ष अघिको घटना पनि उनको मानसपटलमा अझै ताजा बनेर बसिरहेको छ । एमडी गरेर उनी भरखरै कर्णाली प्रादेशिक अस्पतालमा आएका थिए । इमरजेन्सी कक्षमा एक जना महिला वेहास अवस्थामा ल्याइयो । गर्भ रहेको ९ महिना पुगिसकेको रहेछ । उनको प्रेसर नै १८०/१२० थियो । सामान्य रक्तचाप करिब १२०/८० मानिन्छ । प्रेसरका कारण उनी वेहोस अवस्थामा थिइन् । पिसाव बन्द भएको दुई दिन भइसकेको रहिछ ।

डा.धर्मराजले तत्काल उनलाई म्याग्नेसियम सल्फेट औषधि दिए । जुन औषधि गर्भवती महिलामा ईक्ल्याम्पसिया अर्थात उच्च रक्तचाप र झटका आएको उपचारमा प्रयोग गरिन्छ । अक्सिजन जोडेर पनि उनी होसमा आइनन् । त्यसपछि श्वासप्रश्वास नलीमै पाइप राखेर बाहिरबाट अक्सिजन दिए । यो अत्यन्तै जोखिमपूर्ण मानिन्छ । सावधानी अप्नाइएन भने सास रोकिने, घाँटी वा दाँतमा चोट खतरा रहन्छ । २२ वर्षकी ती महिलाको ज्यान त जोगियो तर पहिलो गर्भ खेर गयो । एक हप्तामा आइसीयूमा राखेर उपचार गरेपछि उनी स्वस्थ भइन् । त्यसको एक वर्षपछि उनै महिला धर्मराजलाई भेट्न आइन् । उनले आफ्नो ज्यान जोगाएकोमा धर्मराजलाई धन्यवाद दिइन् । बच्चा प्लानिङबारे आवश्यक परामर्श लिएर फर्किन् यो घटना पनि धर्मराज कहिल्यै विर्सन सक्दैनन् ।

स्वास्थ्यपेज विशेषांक ग्रहण गर्दै डा.धर्मराज ।

प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा. धर्मराज अहिले सुर्खेतलाई कर्मथलो बनाएर दुर्गम क्षेत्रका महिलाहरुको स्वास्थ्य उत्थानका निमित्त निरन्तर जुटिरहेका छन् । आधुनिक स्वास्थ्य सेवा सहज रुपमा नपुग्ने पहाडी र दुर्गम बस्तीका महिलाका लागि उनी केवल चिकित्सक मात्र होइनन्, भरोसाको नाम बनेका छन् । कर्णालीका धेरै दुर्गम गाउँहरुमा अझै पनि सुरक्षित सुत्केरी सेवा पहुँच बाहिर छ । स्वास्थ्य चेतनाको अभाव, आर्थिक कमजोर अवस्था र भौगोलिक कठिनाइका कारण गर्भवती महिलाले समयमै उपचार पाउन नसक्ने अवस्था व्याप्त छ ।

डा. धर्मराजका अनुसार, दुर्गम क्षेत्रका महिलामा पाठेघर खस्ने, रक्तअल्पता, उच्च रक्तचाप, असुरक्षित गर्भपतनजस्ता समस्या व्यापक छन् । यी समस्याको समाधान केवल उपचारबाट मात्र सम्भव नहुने भन्दै उनी स्वास्थ्य शिक्षालाई पनि उत्तिकै महत्व दिन्छन् । गर्भावस्थामा खानपान, नियमित जाँच र सुरक्षित सुत्केरीका विषयमा चेतना फैलाउनु पहिलो प्राथमिकता भएको ठान्छन् । दुर्गमका महिलाको स्वास्थ्य सुधारमा उनीजस्ता चिकित्सकको योगदान केवल पेशागत कर्तव्य होइन, सामाजिक दायित्वको उदाहरण पनि हो ।

  • २ पुष २०८२, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई healthpage0@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech