भदौको दोस्रो साता, डा.अनुप सिंह रनहोत्राको दोस्रो सन्तानको रूपमा छोरी जन्मिन् । सुत्केरी श्रीमती रविन्दर करको हेरचाह गर्नुपर्ने हो । डा. रनहोत्रोले १५ दिन सुत्केरी स्याहार विदा पाउँछन् । तर, उनी बिरामीप्रति यति प्रतिबद्ध छन् कि एक दिन पनि विदा लिएनन् । बरु भेरी अस्पतालको ओपीडी र एनआइसीयूमा रहेका तमाम नवजात शिशुहरूको उपचारमा खटिए । उनी भन्छन्–‘म १५ दिन विदामा बसे अस्पताल आउने नवजात शिशुहरुले कसरी सहज उपचार सेवा पाउँछन ?’ यसले झल्काउँछ कि उनी बिरामीप्रति कति जिम्मेवार र संवेदनशील छन् ।
बालरोग विशेषज्ञको रुपमा डा. रनहोत्राले बालबालिकाको उपचारमा आफ्नो सम्पूर्ण समय र ऊर्जा समर्पित गर्दै आएका छन् । उनी बालबालिकाको स्वास्थ्यमा सुधार ल्याउन, परिवारलाई सचेत बनाउन र जटिल रोगहरूको उपचारमा आफ्नो अनुभव प्रयोग गर्न सक्रिय छन् । उनी भन्छन्–‘बाल स्वास्थ्य केवल रोगको उपचार मात्र होइन, जीवनको आधार निर्माण गर्नु हो ।’ बालरोगमा विशेषज्ञता हासिल गरेको एक दशक लामो उपचार अनुभवमा उनी भन्छन्–‘म सधैं बालबालिकाको आँखामा देखिने आशा र डरलाई हेर्छु । कहिलेकाहीँ एक सरल उपचारले जीवन बदल्छ भने, कहिलेकाहीँ जटिल केसले धेरै समय र प्रयास माग्छ ।’
उनको उपचारका शैलीमा धैर्यता, संवेदनशीलता र वैज्ञानिक दृष्टिकोण स्पष्ट देखिन्छ । डा.रनहोत्राले बालबालिकामा ज्वरो, सङ्क्रमण, श्वासप्रश्वासको समस्या, पेट रोग र नवजात शिशुका जटिल स्वास्थ्य समस्यामा लामो अनुभव हासिल गरेका छन् । सामान्य उपचारबाट पनि स्वस्थ हुन सक्ने बालबालिकाहरु ढिला गरी अस्पताल ल्याउँदा जटिल अवस्थामा पुग्ने गरेको उनी सुनाउँछन् । गाउँघरमै खुलेका मेडिकलहरुबाट औषधि ल्याएर खुवाउने परिपाटीले बालबालिकाहरुमा थप जोखिम निम्तने गरेको उनको भनाई छ ।
‘बालबालिकाहरु गम्भीर अवस्थामा पुगे मात्रै विशेषज्ञ चिकित्सककहाँ ल्याउने चलन छ,’ उनी भन्छन्–‘यसले एकातिर बालबालिकाहरुको स्वास्थ्यमा जटिलता निम्त्याउँछ भने अर्कोतर्फ थप आर्थिक व्यभार पनि अभिभावकहरुमा थपिन्छ । त्यसैले सकेसम्म बालबालिकाहरुमा स्वास्थ्य समस्या देखिन्छ भने तत्काल विशेषज्ञ चिकित्सककै परामर्श जरुरी छ ।’ यो अवधिमा डा. रनहोत्राले अभिभावकहरुले समेत आशै मारेका बालबालिकाहरुको प्राण भरेका छन् । उनी सम्झिन्छन्–‘त्यो बेला मलाई महसुस हुन्छ, प्रत्येक शिशुको जीवन एक जिम्मेवारी हो ।

स्वास्थ्यपेज टिमसँग डा.रनहोत्रा
स्वस्थ बच्चा लिएर जब अभिभावक खुसीले मुस्कुराउँदै अस्पतालबाट घर फर्किन्छन त्यो पलको खुसी कसरी बाँडु ?’ बालबालिकाको उपचार केवल चिकित्सकको काम मात्र होइन । डा. रनहोत्राले अभिभावकसँगको सहकार्यलाई धेरै महत्व दिएका छन् । उनी भन्छन्–‘बच्चाको स्वास्थ्य सुधार केवल औषधि र उपचारले मात्र होइन, परिवारको समझदारी, पोषण र मानसिक सहयोगले पनि निर्भर गर्छ ।’ डा. रनहोत्रा बालरोग विशेषज्ञको रूपमा बालबालिकाको जीवन जोगाउने योद्धा हुन् । बाल स्वास्थ्य केवल चिकित्सकको काम मात्र होइन, जीवन बचाउने समर्पण हो । त्यो समर्पण, त्याग र लगनशीलता डा. रनहोत्राको आँखाभरी छचल्किएको महसुस सहजै गर्न सकिन्छ ।
को हुन् डा.अनुप रनहोत्रा ?

डा.अनुप
नेपालगञ्ज उपमहानगरपालिका, वडा नं. ११ मा २०४२ साल साउन ७ गते जन्मिएका अनुप सिंह रनहोत्रा अहिले केवल एक डाक्टर नभई शिख समुदायका लागि प्रेरणाको प्रतीक बनेका छन् । उनी आफ्नो समुदायका पहिलो नेपाली डाक्टर हुन्, जसले परम्परागत व्यापारिक पृष्ठभूमिबाट सामाजिक मान र प्रतिष्ठा रच्ने साहस देखाएका छन् । अमर जित सिंह र प्रमजित करका एक्ला छोरा अनुपसँग दुई बहिनी छन् । अनुपका श्रीमती र दुई छोरी छन् । उनको बाल्यकाल साधारण तर शिक्षाप्रतिको लगावले भरिएको थियो । घरपरिवारले उनलाई प्रारम्भिक शिक्षा नेपालगञ्जको एञ्जल्स स्कूलबाट गराए ।
यहाँ उनी आफ्नो कक्षाका सहपाठीहरू भन्दा उत्कृष्ट विद्यार्थी थिए । बाल्यकालमै पढाईप्रति गहिरो लगाव र जिज्ञासा देखिएको अनुपको प्रतिभा परिवार र शिक्षकहरूका लागि प्रेरणादायक थियो । कक्षा ५ सम्म उनले रुपैडियास्थित एसम्बली अफ गड चर्च स्कूलमा अध्ययन गरे । त्यहाँ उनले अनुशासन, ध्यान केन्द्रित गर्ने क्षमता र समयको मूल्य सिके । उनका शिक्षकहरूले सधैं उनलाई उन्नति र मेहनतको प्रतीकको रूपमा सम्झन्छन् । सानो उमेरमा नै अनुपले आफ्नो भविष्यको लक्ष्य तय गरिसकेका थिए ।
उनको पढाईको यात्रा भारतको नैनीतालस्थित अमतुल पब्लिक स्कूलमा जारी रह्यो, जहाँ सन् २००१ मा उनले एसएलसी उत्तीर्ण गरे । त्यहाँको वातावरण र अन्तर्राष्ट्रिय स्तरको शिक्षा प्रणालीले अनुपको दिमागलाई अझ व्यापक बनायो । उनले कितावी ज्ञानमा मात्र निपूर्णता हासिल गरेनन्, तर अनुशासन, समय व्यवस्थापन र आत्मविश्वास पनि सिके । सन् २००३ मा दिल्ली पब्लिक स्कूलबाट आइएस्सी पूरा गरेपछि अनुप नेपालगञ्ज फर्किए । यहाँ उनको प्रतिभा अझ उजागर भयो । माध्यमिक तहसम्म कक्षामा कहिल्यै दोस्रो हुनुपर्ने स्थिति आएको थिएन । पढ्नमा उत्कृष्ट नै भएका कारण उनी सधैं अग्रस्थानमा रहिरहे ।
डाक्टर बन्ने सपना
बाल्यकालमै डाक्टर बन्ने सपना उनीमा अंकुरित भयो । उनी भन्छन्–‘पढ्नमा उत्कृष्ट नै थिए, त्यसैले डाक्टर बन्ने इच्छा मनमा थियो ।’ यो सपना मात्र आकांक्षा नभई उनको जीवनको मार्गनिर्देशक बनेको थियो । परिवार र शिक्षकहरूको प्रेरणाले उनलाई लक्ष्य मार्गमा दृढ राख्यो । सन् २००४ मा कोहलपुर मेडिकल कलेजमा एमबीबीएसका लागि भर्ना भए । मेडिकल शिक्षामा प्रवेशसँगै उनको जीवनमा नयाँ अध्याय सुरु भयो । प्रारम्भिक शिक्षा र अनुशासनले उनलाई चुनौतीहरुको सामना गर्न सक्षम बनायो । पाँच वर्षको कडा मेहनत र अध्ययनपछि सन् २००९ मा एमबीबीएस उत्तीर्ण गरे ।
एमबीबीएस पूरा गरेपछि उनले थप अनुभवका लागि ६ महिना कोहलपुरमै काम गरे । त्यसपछि काठमाडौंको टिचिङ अस्पतालमा थप ६ महिना सेवा दिए । यस अनुभवले उनलाई चिकित्सकीय अभ्यासमा दक्ष बनाउँदै लग्यो । त्यसपछि पिजी अध्ययनका लागि टिचिङ अस्पतालमा भर्ना भए । सन् २०१३ मा बालरोग विशेषज्ञता पूरा गरे । बालरोग विशेषज्ञ बन्ने निर्णयबारे उनले भने–‘मलाई सर्जरीतिर रुची थिएन ।
उपचार र अनुसन्धान दुवैका लागि बालरोग विशेषज्ञता उपयुक्त लाग्यो । फेरि बालबालिकाको विषय अरु भन्दा बढी संवेदनशील हुन्छ, त्यसैले यही क्षेत्रमा काम गर्न मन लाग्यो ।’ पिजी सकेपछि उनले नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालमा बालरोग विशेषज्ञका रुपमा करिव पाँच वर्ष सेवा गरे । सन् २०२० देखि भने उनी भेरी अस्पतालको बालरोग विभागमा रहेर पश्चिम नेपालका बालबालिकाको उपचारमा अहोरात्र खटिएका छन् ।
परिवार र समुदायसँगको सम्बन्ध

बालबालिकाका डा.अनुप अनुभव साट्दै
डा. अनुप रनहोत्रा नेपालगञ्जमै बसोबास गर्दै आएका छन् । उनको परिवार चौथो पुस्ता हो जसले भारतको पञ्जावबाट नेपालगञ्जमा बसाइँ सरेको हो । पञ्जाबी समुदाय प्रायः सुन व्यवसायमा संलग्न हुन्छन्, तर अनुपका पिता मेडिसिन डिस्ट्रिव्युटर हुन् । अनुपले चिकित्सा पेशामा आफ्नो पहिचान बनाए र समुदायमा नयाँ मार्ग देखाए । उनी भन्छन्–‘आफ्नो समुदायबाट पहिलो डाक्टर बन्न पाउँदा अत्यन्तै खुसी लाग्छ ।
यसले सन्देश दिन्छ कि पञ्जाबीहरु केवल व्यापारी मात्र होइनन्, चिकित्सक पनि हुन सक्छन् ।’ नेपालको जनगणना २०७८ अनुसार, शिख समुदाय नेपालमा सानो अल्पसंख्यक समूह हो, करिब एक हजार जनासम्मको अनुमान छ । प्रायः व्यापार र व्यवसायमा संलग्न भए पनि अनुपले चिकित्सा पेशा अंगालेका छन् र शिख समुदायको सम्मान र मान बढाएका छन् ।
चुनौती र सफलता
अनुपको यात्रामा चुनौती कम थिएनन् । बाल्यकालमा राम्रो शिक्षा पाउनु, भारतमा पढ्न जाने अवसर पाउनु र त्यसपछि चिकित्सकीय पेशामा प्रवेश गर्नु सजिलो थिएन । तर, उनले धैर्यता, आत्मविश्वास र मेहनतले यी चुनौतीहरू पार गरे । उनको सफलता केवल व्यक्तिगत नभई समाज र समुदायका लागि प्रेरणादायक छ । शिख समुदायका अन्य सदस्यहरूले पनि अनुपको उदाहरणबाट चिकित्सकीय पेशामा प्रेरणा लिएका छन् ।
बालबालिकाप्रति संवेदनशीलता
बालरोग विशेषज्ञका रूपमा अनुप बालबालिकाप्रति अत्यन्तै संवेदनशील छन् । उनी भन्छन्–‘बालबालिकाको उपचारमा केवल चिकित्सकीय ज्ञान पर्याप्त हुँदैन, संवेदनशीलता र माया पनि आवश्यक हुन्छ ।’ यस कारणले उनी बालबालिकासँगको सम्बन्धमा विश्वास र माया निर्माण गर्न सफल भएका छन् । अनुप केवल डाक्टर नभई सामाजिक सेवा र शिक्षा क्षेत्रका योगदानकर्ता पनि हुन् । आफ्नो समुदायमा स्वास्थ्य सचेतना फैलाउन, बालबालिकाको स्वास्थ्य सुधार्न र शिख समुदायको प्रतिष्ठा बढाउन उनले सक्रिय भूमिका निर्वाह गरेका छन् ।

स्वास्थ्यपेज विशेषांक प्रदान गर्दै स्वास्थ्यपेजकर्मी समिरमान श्रेष्ठ








