कोहलपुरः नेपालगन्ज शिक्षण अस्पताल कोहलपुर बाँकेका न्यूरोसर्जन डा. सुवोध गौतमको दैनिकी अरु चिकित्सकभन्दा भिन्न र अत्यन्त संवेदनशील छ । उनी चौबिसै घण्टा ‘हाइ–अलर्ट’मा रहने चिकित्सक हुन् । न्यूरोसर्जरीको क्षेत्र नै जोखिमपूर्ण र क्षण–क्षणमा बदलिनसक्ने अवस्थासँग भरिएको हुन्छ । त्यसमा पनि ट्रामा र आपतकालीन केस त झनै चुनौतीपूर्ण—जहाँ एक सेकेन्डको ढिलाइले बिरामीको ज्यान तलमाथी हुन सक्छ । आपतकालीन कक्षमा स्ट्रेचर धकेलिँदै आउँदा सिरिन्ज हुने आवाज र बिरामीका परिवारको चिच्याहटबीच पनि डा. गौतम शालिन मुद्रामै देखिन्छन् र सतर्क रहिरहन्छन् ।

बिरामी उपचारका क्रममा डा.सुबोध
न्यूरो केसमा ‘वेट’ भन्ने शब्द कहिल्यै प्रयोग हुँदैन । यसलाई पुष्टि गर्न उनी आफ्नो बुवाको वार्षिकोत्सवको दिन सम्झिन्छन् । केक लिएर घर पुगेका उनलाई अस्पतालबाट आकस्मिक कल आयो—सिरियस केस आएको छ । उनले केक घरमा छोडेर बुबालाई नभेटेरै अस्पताल फर्किए । उनी भन्छन्–‘एक क्षणको ढिलाइ नै बिरामीको ज्यानमाथि खतरा बन्न सक्छ ।’ उनले गर्ने काम साधारण होइन—मस्तिष्कमा रक्तस्राव, टाउकोमा गम्भीर चोट, स्पाइनल चोट, स्नायु प्रणालीका जटिल समस्या, साथै बाल–न्यूरोका संवेदनशील शल्यक्रियासम्मको व्यवस्थापन गर्नु हिंजोआज उनको दैनिकी हो र जिम्मेवारी पनि । कोहलपुरमै बसेर न्यूरो–सर्जरीको विशिष्टिकृत सेवाप्रदान गर्दै आएका डा. सुवोधको काम अत्यन्तै चुनौतीपूर्ण छ । शल्यकक्षको चिसो वातावरण, मोनिटरमा दौडिरहेका सेकेन्डका संकेत र गम्भीर अवस्थामा आएका बिरामीहरुको निरन्तर दबाबबीच उनको खटाइ लोभ लाग्दो छ ।

बिरामी निको भएपछि बिरामीसँगै खुशी साट्दै डा.गौतम
उनी भन्छन्–‘यहाँ आउने अधिकांश केस ट्रामा, स्ट्रोक, ट्युमर, टाउको–ढाड दुखाइका सामान्य समस्या नै हुन्छन् ।’ पछिल्लो समय मादक पदार्थ सेवन गरेर हुने सडक दुर्घटनाका केसहरु बढ्दै गएपछि उनको व्यस्तता झनै बढेको छ । घाइते, अप्ठ्यारा केस, रात–दिन चल्ने सर्जरी—यी सबै बीच कोहलपुरमा यी जटिल केसलाई सफलतापूर्वक व्यवस्थापन गर्ने एक्ला न्यूरोसर्जन हुन् डा. सुवोध गौतम । सीमित स्रोतसाधनका बीच पनि उनको नेतृत्वमा मेडिकल कलेज कोहलपुरले न्यूरोसर्जरी सेवा निरन्तर प्रदान गर्दै आएको छ । डा. गौतमले भन्छन्–‘स्तरीय सेवाका लागि उपयुक्त उपकरण, इमरजन्सी र आइसीयुको आवश्यकता हुन्छ । यदि बिरामी समयमै अस्पताल आउँछन् भने न्यूरो केसहरु व्यवस्थापन गर्न सहज हुन्छ ।’
को हुन् डा.सुवोध ?

डा.सुवोध
सुर्खेतको इतराममा वि.सं. २०४५ सालमा जन्मिए पनि डा.सुवोध गौतमको वास्तविक बाल्यकाल नेपालगन्जमै बित्यो । श्याम प्रसाद गौतम र सरस्वती गौतमका दोस्रो सन्तानका रुपमा जन्मिएका सुवोधको जीवनमा परिवारको साथ, त्याग र पढाइको प्रभाव अत्यन्त गहिरो छ । उनीसँग एकजना दाइ पनि छन्, जो बाल्य दिनका साथी र प्रेरणा बनेर उभिँदै आए । वि.सं. २०५२ मा गौतम परिवार सुर्खेतबाट नेपालगन्जलाई नयाँ घर बनाउँदै बसाइँ सरेपछि सुवोधको शैक्षिक यात्रा पनि यतैबाट सुरु भयो । सेन्टथोम स्कूलमा कक्षा ८ सम्म पढ़ेका उनले कक्षा ९ र १० भने जय बागेश्वरीमा पूरा गरे । २०६० सालमा एसएलसी पहिलो श्रेणीमा उत्तीर्ण गर्दै उनले आफ्नो मिहिनेतको पहिचान बनाए ।
त्यही निरन्तरता २०६३ सालमा हिमालय ह्वाइट हाउसबाट प्लस टु र २०६८ सालमा नेपालगन्ज मेडिकल कलेजबाट एमबीबीएस पूरा गर्दै झनै बलियो बन्यो । एमबीबीएसपछि उनको पेशागत यात्रा सुरु भयो—दूरदराज बैतडीको प्राथमिक स्वास्थ्य चौकीबाट । त्यहाँ उनले एक वर्ष जनताको सेवामा बिताए । यसबीच केही महिना डडेल्धुरा उप–क्षेत्रीय अस्पतालमा पनि काम गरे, जहाँ एसबीए तालिम लिएर पुगेका उनी सिजेरियनसमेत गर्न सक्षम थिए । त्यतिबेला डडेल्धुरा अस्पतालमा आठ जना मेडिकल अधिकृत भए पनि सिजेरियन कसैले गर्दैनथे । त्यसबेला तत्कालीन स्वास्थ्य निर्देशक पर्शुराम क्षेत्रीले सुवोधलाई त्यहाँ पठाए ।
२३ वर्षको उमेरमा सेतो एप्रोनमा, आत्मविश्वासले भरिएका सुवोधले त्यहाँ करिब दुई दर्जन सिजेरियन सफलतापूर्वक गरे । बिरामीहरु उनलाई देखेर अलमलिन्थे—‘यति कम उमेरको डाक्टरले अपरेसन गर्छ र ?’ उनीहरु बारम्बार सोध्थे—‘अप्रेसन गर्ने डाक्टर तपाईं नै हो र ?’ तर सुवोधले कहिल्यै आत्मविश्वास डगमगिन दिएनन् । उनी बिरामीलाई समय दिन्थे, काउन्सिलिङ गर्थे, सुन्थे, बुझ्थे । र यही व्यवहारले बिरामीको आधा रोग भनेजस्तै आफैँ घटाइदिन्थ्यो ।
२०७४ सालमा उनले नेपालगन्ज मेडिकल कलेजमै एमएस पूरा गरे । त्यसपछि दाङको दीपज्योति अस्पतालमा १३ महिनासम्म मेडिकल अधिकृतका रुपमा सेवामा रहे । तर सुवोधको लक्ष्य अझ ठूलो थियो—न्यूरोसर्जरी । २०७९ सालमा वीर अस्पतालमा १२ कोटामध्ये पहिलो नम्बरमा छनोट भएर एमसीएच अध्ययन गर्ने अवसर पाए । तीन वर्षको कठिन परिश्रम, रात–दिनको संघर्षपछि उनी पूर्ण न्यूरोसर्जन बने । एमसीएचपछि उनको पहिलो पोस्टिङ भेरी अस्पतालमा दुई वर्षका लागि करारमा भयो । यही समयमा उनले आफ्नै क्षेत्रका मानिसलाई नजिकबाट सेवा पुर्याउने संकल्प लिए । आज उनी नेपालगन्ज मेडिकल कलेज, कोहलपुरमा न्यूरो विभाग प्रमुखका रुपमा कार्यरत छन् ।








