भदौ महिना सीमान्ततिर ढल्किैँदै थियो । भदौरे गर्मीको रापले सेकिएको नेपालगञ्ज विस्तारै गोधुली साँझको निम्तोमा अभ्यस्त हुँदै थियो । स्वास्थ्यपेजकर्मी हामी ‘युगल जोडी डाक्टर’ संगको अन्तरंग भलाकुसारीका लागि निजी निवासतर्फ पाइला अगाडि बढाउँदै थियौं । गणेशमान चोकदेखि चारबाहिनी जोड्ने अति ब्यस्त सडकको करीब मध्य–मध्यतिर पुग्दा वेष्टर्न अस्पतालको छेउँबाटै हामी दक्षिणतर्फ मोडियौं । केही अगाडि बढेपछि ‘बदामे रंग’ ले पोतिएको सुन्दर घरमा हाम्रो नजर टक्क अडियो । गेट खोलेर भित्र प्रवेश गर्यौं । डा. विनोद थापाले हामीलाई स्वागत गर्दै बस्न आग्रह गरे । हामीहरु सबै आमनेसामने संगसंगै बसेर हालखबर सोध्दै गर्दा डा. विनोदले ‘कल्पना तिमी पनि आऊ न’ भनेर डा. कल्पना थापालाई पनि बोलाए । अनि…सुरु भयो हाम्रो साक्षात्कार कर्म !

स्वास्थ्यपेजकर्मी ‘युगल जोडी डाक्टर’ संगको अन्तरंग भलाकुसारीका लागि निजी निवासमा
दाङका डा. विनोद र धनुषाकी डा. कल्पनाको पहिलो भेट कानपुरको जिएसभिएम मेडिकल कलेजमा भएको थियो । जहाँ विनोद, कल्पना भन्दा एक ब्याच सिनियर विद्यार्थी थिए । दाङको सौडियारस्थित राजपुर गाउँमा जन्मिएका विनोद प्रशस्त जग्गा जमिन भएको परिवारमा हुर्के । उनको जन्म वि.सं. २०१८ सालमा भयो । पारिवारिक भागबण्डामा देउखुरीको साविक गढवा गाविसको चन्दनपुर र भोजपुरको जमिन उनीहरुलाई परेपछि बसाइँ त्यतै भयो । तर, डा. विनोदको सानैदेखिको शिक्षा–दिक्षा लखनउमा भयो । “त्यतिबेला कोइलाबास हुँदै भारतको तुलसीपुरबाट लखनउ जान सजिलो थियो,” विगत सम्झिँदै उनी भन्छन्–“मैले नर्सरीदेखि नै त्यतै (लखनउ) पढें, क्याथेड्रल र सिटी मन्टेश्वरी स्कुलबाटै मेरो १२ कक्षा सम्मको पढाई सकें ।”
बुवा एमए बहादुर थापा र आमा इन्दुदेवी थापाको दुई भाई छोरा र एक छोरी मध्ये विनोद कान्छा छोरा हुन् । सानैदेखि डाक्टर बन्ने चाहना बोकेका उनले जब सन् १९८० मा १२ पास गरे, त्यसपछि प्रि–मेडिकल टेस्टमा सहभागी भए । अब मनभित्रको सुन्दर चाहनाको कोपिला फक्रिने भयो । उनी औधि खुसी भए । सन् १९८३ मा कानपुरको जिएसभिएम मेडिकल कलेजमा भर्ना भई एमबिबिएस अध्ययन गर्न थाले । उनले माथिल्लो कक्षा चढ्दै गर्दा पढाईको स्तर झन् झन् सुदृढ बनाउँदै लगेका थिए । डा. विनोदले एमबिबिएस पढ्दै गर्दा डा. कल्पना पनि एक ब्याच जुनियर विद्यार्थीको रुपमा सन् १९८४ मा कानपुरको जिएसभिएम मेडिकल कलेजमै भर्ना भइन् । उनीहरुको चिनजान त्यहीँ भयो ।
जनकपुरमा वि.सं. २०२० मा जन्मिएकी कल्पना बुवा बशिष्ठ नारायण सिंह र आमा इन्दिरादेवी सिंहका दुई छोरा र दुई छोरी मध्ये जेठी छोरी हुन् । उनले जनकपुरकै सरस्वती स्कुलबाट २०३५ सालमा एसएलसी उत्तीर्ण गरिन् । पढाईमा मेधाबी उनी कक्षामा अब्बल थिइन् । जनकपुरकै रामस्वरुप रामसागर बहुमुखी क्याम्पसबाट वि.सं. २०३८ सालमा आइएस्सी गरेकी उनले कोलम्बो प्लान अन्तर्गत छात्रबृत्ति पाएर एमबिबिएस पढ्न कानपुर पुगेकी थिइन् । कानपुरमै एमबिबिएस पढेका डा. थापा दम्पतीलाई पंक्तिकारले माया प्रेम त्यहीँ बसेको हो भन्ने प्रश्न गर्दा दुबै जनाले एक अर्कालाई हेर्दै मुुसुक्क हाँसेर परिवारले नै मागी विवाह गरिदिएको स्पष्टिकरण दिए । कलेजमा चिनजान गरेका उनीहरुको मागी विवाह सन् १९९२ फेब्रुअरी २२ मा भएको थियो ।
सन् १९८८ मा राम्रो अंकका साथ एमबिबिएस उत्तीर्ण गरेका डा. विनोदले केवल १५ दिनको इन्टर्नपछि मेरिटको आधारमा एमएसमा भर्ना पाए । उनका लागि पढ्ने माहौल अझ बन्दै गयो । भलाकुसारीका क्रममा झन् झन् खुल्दै अनि आत्मीय बन्दै गएका डा. थापाले त्यतिबेला ट्युशन फी मासिक केवल २२१ भारतीय रुपैयाँ र होस्टेल खर्च २४० भारतीय रुपैयाँ मात्र तिर्नुपरेको स्मरण गरे । उनको घरबाट पढाई खर्च मासिक एक हजार रुपैयाँ मात्र जान्थ्यो । विवाह गरेको एक बर्षपछि सन् १९९३ मा हाडजोर्नी (अर्थो) मा एमएस सकेका विनोदले त्यसै बर्ष अक्टोबरमा टिचिङ हस्पिटल महाराजगञ्ज काठमाडौंमा २१ दिन काम गरे । त्यसपछि चिकित्सकीय सेवामा नवीन आयाम थप्न उनले पश्चिम नेपालको उडान भरे । उनले रोजे जन्मघर वरपरको सेरोफेरो ‘नेपालगञ्ज’, जहाँबाट उनलाई फर्केर पछाडि हेर्नु परेन ।

उनको रोजाइँमा नेपालगञ्ज नै किन पर्यो त ?
पंक्तिकारको मथिंगलमा उब्जिएको प्रश्नको जबाफ दिँदै डा. थापाले भने–‘म दाङको मान्छे भएकोले घर नजिकैको सहर नेपालगञ्ज रोजें अनि अर्को कारण चाहिँ मेरी बहिनीको विवाह लखनउमा भएकोले पनि मैले नेपालगञ्जलाई पछ्याएँ ।” उनले सन् १९९३ कै अक्टोबरदेखि भेरी अस्पतालमा जागिरे जीवन सुर गरे । जतिबेला बुटवलदेखि पश्चिममा हाडजोर्नीका डाक्टर नै थिएनन् । त्यसपछि उनले नेपालगञ्जको भेरी अस्पताललाई मुकाम बनाएर पश्चिम नेपालमा अथ्र्रोको बिँडो थामे । डा. विनोदसंग लगनगाँठो कसिसकेकी डा. कल्पना पनि अस्पताल विकास समितिबाट सन् १९९७ मा भेरीमा आइन् । जतिबेला उनले गाइने (प्रसुति तथा स्त्री रोग) मा डिप्लोमा गरिसकेकी थिइन् । बंगलादेशको ढाकास्थित आइपीजिएमआरबाट उनले सन् १९९६ मा विशेषज्ञता हासिल गरेकी हुन् । त्यसअघि ६ महिना बीर अस्पताल र ६ महिना नै प्रसुति गृहमा उनले कार्यानुभव लिएकी थिइन् ।
भेरीका सुरुवाती दिनहरु सम्झँदै डा. विनोदले भने, “सामान केही पनि थिएन, स्वर्गीय डा. दुर्गा प्रधान मेसु हुनुहुन्थ्यो, मलाई त्यतिबेला लखनउबाट सामान ल्याउन भनेर उहाँले एक हजार रुपैयाँ दिनुभएको थियो, पछि स्वास्थ्य मन्त्रालयबाट पनि केही सामान आएपछि उपचार र शल्यक्रियामा केही सहज भयो ।” तत्कालीन समयमा अस्थायी दरबन्दीमा रहेका उनले हाडजोर्नी विभागको नेतृत्व सम्हाले । भेरीमा विशेषज्ञ अभ्यास (Specialist Practice ) सुरु गर्ने उनी पहिलो डाक्टर हुन् । भेरीको २९ बर्षे सेवा अवधिमा उनी एक पटक मात्र बीचमा तीन महिनाका लागि लुम्बिनी अञ्चल अस्पताल बुटवल सरुवा भएका थिए । वि.सं. २०५२ सालमा लोक सेवाबाट सातौं तहमा नाम निकालेका डा. थापा सन् २०२२ मा रिटायर्ड हुँदा १०औं तहका चिकित्सक थिए ।
डा. कल्पनाले वि.संं. २०५६ सालमा सातौं तहमा स्थायी दरबन्दीमा नाम निकालिन् । त्यस लगत्तैै उनी एमडी अध्ययनका लागि न्याम्स (NAMS) गइन् । त्यसपछि सन् २००७ मा खजुरा हेल्थ पोष्टमा उनको पोष्टिङ भयो । त्यहाँ दुई बर्ष सेवा गरेकी डा. थापा पुनः भेरीमा फर्किइन् । जहाँ उनले आफ्नो सिनियर डा. उषा शाहसंग सहकार्य गरेर सेवा दिइन् । दैनिक कम्तीमा १२/१३ वटासम्म शल्यक्रिया गरेर गर्भवती महिलाहरुलाई सुत्केरी गराएको अनुभव सुनाउँदै गर्दा डा. कल्पनाको अनुहारमा खुसी र सन्तुष्टिको कान्ति झल्किन्थ्यो । सन् १९९७ मा सेवा आरम्भ गरेकी उनी सन् २०२३ मा भेरीबाट सेवा निबृत्त भइन् । श्रीमान श्रीमतीको अनुकरणीय जोडीले भेरी अस्पतालको मञ्जिलबाट दशौं हजार नागरिकको सेवा गर्ने ‘दुर्लभ’ शौभाग्य प्राप्त गर्यो ।
दशौं हजार विरामी / घाइतेको ज्यान जोगाएर नयाँ जीवन दिएका डा. थापाले कैयौंका टुक्रिएका हड्डी जोडे, भाँचिएका अंगहरु सग्लो गराएर दौडिने बनाए, च्यापिएका नशाको उपचार गरे, चोटपटकले थिचिएर जिन्दगीदेखि हारेका घाइते मनहरुलाई सिए । तर, उनको मानसपटलमा केही यस्ता सुखद् यादगार पलहरु छन्, जो नमेटिने डोब बनेर ताजै बसेका छन् । उनले बुटवलमा रहँदा चोटपटक लागेर गम्भीर अवस्थामा स्वाँस्वाँ गर्दै अस्पताल आएका एक जना विरामीलाई एक्सरे गर्न पठाएको भए ती विरामी शायद बाँच्दैनथे होला, तर उनको दिमागमा त्यतिबेला ‘क्लिक’ गरेको निडल (सुइँ) घोेचेर भरिएको हावा निकाल्ने विधिले विरामीले पुनर्जीवन पाए । उनी रोमाञ्चित हुँदै भन्छन्, “मैले एक्सरेमा पठाएको भए उनको श्वास रहँदैन थियो होला, तर अपर्झट मेरो दिमागमा आएको कुराले उनको ज्यान जोगियो, यो घटना मैले कहिल्यै विर्सिंदैन ।”

अर्को त्यस्तै घटना छ, जुन घटनाले डा. विनोदलाई आनन्दित र सन्तुष्ट बनाउँदछ । भेरी अस्पतालमा शल्यक्रियापछि होशमै नआएको विरामीलाई अब के गर्ने भन्ने चिन्ता भयो । ४० बर्षकी महिलाको पित्त थैलीको शल्यक्रिया भएको थियो । तर, अपरेशनपछि वार्ड लैजाँदा उनी बहोस थिइन् । डा. थापाको दिमागमा एकाएक ‘मुटुमा मुक्काले बेस्सरी हिर्काउने’ सोच आयो र, उनले त्यसै गरे । शौभाग्यबश, ती महिला होशमा फर्किइन् र पुनर्जीवन पाइन् । डा. थापा फेरि अर्को घटना सम्झँदै भन्छन्, “मुटको धड्कन एकदमै अनियमित भएको एक जना मधुमेहका विरामीलाई पनि मैले अप्रत्याशित ढंगले जोगाएको छु, ७० बर्षका एक जना पुरुषलाई शरीरमा १७ प्रतिशत मात्र ग्लुकोज भएको अवस्थामा सुरुमै २५ प्रतिशत ग्लुकोज दिएर बचाएको म बिर्सिंदैन ।”
वेष्टर्न अस्पताल, जुन उनी आफैंले सञ्चालन गरेका छन्, त्यहाँ केही महिना अघिको घटना स्मरण गरेका उनले हत्केला छेउँको सानो रड तानेर सामान्य अवस्थामा छोडेको एक जना पुरुष एक छिनपछि बेहोस भएर श्वास लिन झण्डै छोडिसकेको बेला उनका स्टाफले विरामीलाई आइसियुमा लैजान भनिरहँदा एकाएक उनको दिमागमा आएको ‘माउथ टु माउथ अक्सिजन’ दिने विधिले विरामीले नयाँ जीवन पाए । यो घटना पनि उनको लागि अविस्मरणीय छ । यसको साक्षी उनकी धर्मपत्नी डा. कल्पना पनि हुन् । उनले यसमा सही थप्दै विचित्रको घटनाको संज्ञा दिइन् । अर्को रोचक प्रसंग पनि छ, डा. विनोदको । इमरजेन्सीमा एक जना गर्भवती प्रसुति तथा स्त्री रोग विशेषज्ञ डाक्टरको पर्खाइमा रहेको बेला ती गर्भवती महिलाले डा. विनोदलाई विश्वास गरी सिएसका लागि आग्रह गरेर बच्चा जन्माएको दुर्लभ अनुभव पनि उनीसंग छ ।
डा. कल्पनासंग पनि चिकित्सकीय जीवनका थुप्रै अनुभूतिहरु छन्, जसले उनलाई सधैं उत्साहित, उर्जावान र रोमाञ्चित बनाइरहन्छन् । धेरै गर्भवतीहरुको शल्यक्रियाका क्रममा ‘क्विक र इम्मिडियट रेस्पोन्स’ ले सफलता दिलाएको उनको अनुभव छ । “मैले हरेक घटनाहरुमा क्विक रेस्पोन्स गरें, त्यसले मलाई सधैं सफलता दिलायो, उनी सन्तोष भावमा पोखिन्छिन्,”–“सबैभन्दा ठूलो कुरा आत्मविश्वास र त्यसपछिको सन्तुष्टि रहेछ ।” उच्च प्रेसर भएका गर्भवती महिला, रगत निकै कम भएको, बच्चाको अवस्था दयनीय भएको कैयौं केशहरु उनले सकुशल ह्याण्डलिङ गरेकी छिन् । सधैं समय र कामलाई प्राथमिकतामा राख्ने थापा दम्पतीले आफ्नो कर्मसंग कहिल्यै कम्प्रमाइज गरेनन् । “समय र परिस्थितिलाई चिन्यौं र त आज सफलता मिलेको अनुभूति हुन्छ,” उनीहरुको बुझाई छ ।
थापा दम्पतीले सन् २००७ देखि नेपालगञ्जमा वेष्टर्न अस्पताल सञ्चालन गर्दै आएका छन् । अहिले यो अस्पताल उनीहरुकै अभिभावकत्व र रेखदेखमा छ । एक मात्र चिकित्सक छोरा डा. राहुल अहिले हाडजोर्नीकै विशेषज्ञता हासिल गर्न (एमएस) भारतमा छन् । छोरा उच्च शिक्षाका लागि बाहिर रहँदा थापा दम्पतीलाई अस्पतालको ब्यवस्थापन हेर्न चटारो त छँदैछ, अहिले पनि दिनहुँ विरामीको उपचारमा उनीहरु संलग्न पनि छन् । डा. विनोदले स्पाइनको सबै अपरेशन अहिले पनि आफैं गर्छन् । त्यो बाहेक हाडजोर्नीका अन्य अपरेशन पनि उनी गरिरहन्छन् । उमेरले साढे ६ दशकको सेरोफेरोमा रहेका डा. विनोदमा अहिले पनि उस्तै उर्जा र आत्मविश्वास देखिन्छ ।

डा. कल्पना पनि उस्तै कर्मले ओतप्रोत छिन् । उनी पनि दिनहुँ काममा खटिन्छिन् । प्रसुति तथा स्त्री रोग विभाग सम्हालेर बसेकी छिन् । एक सय बेडको वेष्टर्न अस्पताललाई जोर्नी प्रत्यारोपण (जोइन्ट रिप्लेसमेन्ट) सेन्टरका रुपमा विकास गर्ने लक्ष्य रहेको डा. विनोद बताउँछन् । उनी तिनै चिकित्सक हुन्, जसको नेतृत्वमा भेरीमा काठमाडौं बाहिर पहिलोपटक जोर्नी प्रत्यारोपण सेवा सुरु भएको थियो । छोरा डा. राहुल आएपछि अब विश्राम लिने सोच होला नि भन्ने पंक्तिकारको प्रश्नमा दुबै जना मुस्कुराउँदै भन्छन्, “शरीर र स्वास्थ्यले साथ दिँदासम्म काम छोड्ने इच्छा छैन, विरामीको सेवा गर्न पाउँदा हामी रमाइरहेका छौं ।” उनीहरु विहान सबेरैदेखि अबेर रातीसम्म पनि विरामीको उपचारमै खटिइरहेका छन् । पश्चिम नेपालमा सफल र बेजोड चिकित्सकीय उडान भरेका थापा दम्पतीले आफ्नै लगानीमा सानो भाडाको घरबाट सुरु गरेको वेष्टर्न अस्पतालले अहिले आफ्नै संरचनामा विशाल स्वरुप लिएको छ । विरामीहरुको भरोसाको केन्द्रका रुपमा विकास भएको छ । छोरालाई समेत जोडेर हेर्दा थापा परिवार चिकित्सा क्षेत्रको ‘अनुकरणीय र आइकन परिवार’ हो ।
डा. विनोद नेपाल चिकित्सक संघ (एनएमए) भेरीको अध्यक्ष रहँदा ‘एनएमए’ को भवनमै सुरु गरेको योग अभियानले पनि सार्थकता र नियमितता पाउँदा खुसी लागेको बताउँछन् । नियमित योग र प्रातःकालीन हिंडाई (ःयचलष्लन धबपि) ले स्वस्थ जीवनशैलीलाई बल पुर्याउने उनको अनुभव छ । डा. थापा दम्पती पनि नियमित योग र हिंडाईमा अभ्यस्त छन् । यति लामो सेवा गरेर जीवनमा के पाएँ जस्तो लाग्छ भन्ने जिज्ञासमा डा. विनोद भन्छन्, “सेटिस्फेक्शन (सन्तुष्टि) ।” डा. कल्पनाको पनि उस्तै भाव छ, “जीवनमा खुसी, सन्तुष्टि र आत्मसम्मान मिलेको छ ।” तर, केही परिपाटीसंग भने उनीहरुको विमति छ । आवेदन दिएर सम्मान लिने अनि त्यसमा पनि सोर्सफोर्सको परिपाटीले दिग्दारी लाग्ने थापा दम्पतीको भनाई छ । डा. विनोदले स्वास्थ्य मन्त्रालयको सिफारिसमा गोरखा दक्षिण बाहु पाएको स्मरण पनि गर्छन् । यो एक प्रतिष्ठित विभूषण हो ।
डा. विनोद र डा. कल्पना स्वदेशमै सेवा गर्न पाउँदा आफूलाई धन्य सम्झन्छन् । आफूसंगका अधिकांश साथीभाई विदेशमै रहेको बताउने थापा दम्पतीले आफ्नै देशमा निरन्तर विरामीको सेवा गर्न पाउनु अहोभाग्य ठान्छन् । डा. विनोदले आफूमा कहिल्यै पनि विदेश मोह नजागेको बताउँछन् । “मलाई विदेश मन पर्दैन, केही सिक्न, पढ्न विदेश गए पनि सेवा आफ्नै देशमा गर्नुपर्दछ भन्ने भावना सधैं मेरो मनमा रहिरह्यो,” डा. विनोद भन्छन् । उनको भनाईमा सही थाप्दै डा. कल्पना पनि स्वदेशमै सन्तुष्टि मिलिरहेको अनुभव सुनाउँछिन् । ६० को दशकमा हिंडिरहेका थापा दम्पतीले शरीर र स्वास्थ्यले साथ दिँदासम्म चिकित्सकीय उडान भरिहने प्रतिज्ञा सुनाउँछन् । ढल्किँदै गरेको साँझमा थापा निवास प्रवेश गरेका हामीहरु बाहिर निस्कँदा झमक्कै साँझ परिसकेको थियो । न्यानो आतिथ्यता र खुला संवादले थापा दम्पतीको जीवन अन्तर्य पंक्तिकारको मानसपटलमा गहिरो गरी बसिसकेको थियो ।








