अर्थोपेडिक्सका गोल्डमेडलिष्ट डा.सन्दीप, जसले गृहनगर कोहलपुरमै दिइरहेका छन् सेवा

    • प्रियास्मृति ढकाल

  • १३ भाद्र २०८२, शुक्रबार

कोहलपुरः अर्थोपेडिक सर्जन सहायक प्रा.डा.सन्दीप कँडेलले सयौं व्यक्तिका भाँच्चिएका हड्डीहरु जोडेका छन् । हिड्ने र काम गर्न सक्ने गरी जीवनलाई नयाँ लय दिएका छन् । विगत पाँच वर्षदेखि नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा निरन्तर सेवामा खट्न उनलाई के कुराले उर्जा दिन्छ ? ‘उपचार गर्दा बिरामीले आदर गर्छन् स्वास्थ्य पेजलाई उनी सुनाउँछन्–‘अर्थोपेडिक्समा अलि सजिलो छ हातखुट्टा भाँच्चिएर आएका बिरामीको २–३ दिनको उपचारपछि ठिक हुँदा बिरामीको अनुहारमा चमक आउँछ, जुन हाम्रो पेशामा सन्तुष्टी दिने सबैभन्दा ठूलो खुराक हो ।

  • हड्डी र जोर्नी उपचारमा विशेषज्ञता: डा. सन्दीप कँडेलले हिप फ्याक्चर, स्पाइन इन्जुरी, ट्रामा र अन्य जटिल हड्डीका केसहरूमा बिरामीलाई सामान्य अवस्थामा फर्काउने सेवा प्रदान गर्दै आएका छन्।

  • गोल्डमेडलिष्ट भएपनि आफ्नै गाउँमा सेवा: एमएस अर्थोपेडिक सर्जरीमा गोल्डमेडलिष्ट डा. कँडेलले विदेश वा ठूलो शहरमा अवसर छोडी नेपालगन्ज मेडिकल कलेजमा निरन्तर सेवा दिइरहेका छन्।

  • समर्पण र समुदायप्रति प्रतिबद्धता: उनी र श्रीमती डा. अदिती धिताल एकै अस्पतालमा काम गर्दै स्वास्थ्य सेवा सुलभ र भरपर्दो बनाउनेमा जोड दिइरहेका छन्, जसले बिरामीलाई सहज उपचार सुनिश्चित गर्छ। सारांश AI बाट सिर्जना गरिएको हो ।

नेपालगन्ज मेडिकल कलेजमा आउने अर्थोका बिरामी जटिल खालकै हुन्छन् । ‘सानातिना शल्यक्रियाका लागि प्राय मेडिकल कलेजमा बिरामीहरु आउनु हुदैन उनी भन्छन्–‘जटिल खालकै अवस्था भएका बिरामी आउने हो । त्यसैले अधिकांश शल्यक्रिया जटिल नै हुन्छन् ।’ खासगरी हिप फ्याक्चर भएका, स्पाइन इन्जुरी भएका र ट्रामाका केसहरु अस्पतालमा आउने गरेका छन् । मेडिकल कलेजमा अर्थोका सबै उपचार सम्भव भएको बताउँछन् । ‘हामीले अत्यन्तै जटिल खालका शल्यक्रिया गरेर पनि बिरामीलाई सामान्य अवस्थामा फर्काएका छौं उनी भन्छन्–‘ठूला प्लाष्टिक सर्जरीबाहेक कुनै पनि बिरामी उपचारका लागि भारतको लखनउ वा काठमाडौं जानु पर्ने अवस्था छैन् ।’

हड्डी र जोर्नी, स्पाइन (मेरुदण्ड), स्नायु र मांसपेशी चोट, ट्रामा, शिशु र बालबालिकामा हुने हड्डीको समस्या, स्पोर्ट इन्जुरी लगायतका थुप्रै समस्या भएका बिरामीहरु उपचारका लागि भौतारिनु पर्ने अवस्था नरहेको उनी बताउँछन् । सन्दीप भन्छन्–‘नयाँ उपचारदेखि सर्जरी, पुनःस्थापना र रोकथामसम्मका सेवा अत्यन्तै सर्वसुलभ र गुणस्तरीय तरिकाले हामी दिन सक्छौं ।’

अर्थोपेडिक सर्जन सहायक प्रा.डा.सन्दीप कँडेल ।

कर्ममा बढी विश्वास गर्ने डा. कँडेलको जन्म २०४८ सालमा चितवनमा भयो । बुवा सिमनाथ कँडेल र आमा देवकुमारी कँडेलका ३ जना सन्तानमध्ये उनी कान्छो हुन् । सिमनाथ व्यापारी थिए । सन्दीपले चितवनकै बुद्धज्योति वोर्डिङ स्कुलबाट २०६३ सालमा एसएलसी गरे । सन्तानलाई शिक्षाको उज्यालो दिने निकै ठूलो अभिलाषा थियो सिमनाथको । दाई प्रदीप र दिदी सुजातापछि जन्मिएका सन्दीपलाई सिमनाथ डाक्टर बनाउन चाहन्थे । किनकि २०५८ सालमा बाँकेको कोहलपुर बसाइसरी आउँदासम्म दाई प्रदीपले बुवाको लय समातिसकेका थिए । सिमनाथ पोल्ट्री व्यवसायमा पश्चिम नेपालकै सफल र कहलिएका व्यापारी हुन् । पिविटी वेष्ट इन्डस्ट्रिज र न्यूँ भेरी पोल्ट्री व्यवसाय उनै सिमनाथका हुन् ।

कान्छो छोरा डाक्टर नै बनोस् भन्ने चाहना थियो सिमनाथलाई । सन्दीपले २०६६ मा काठमाडौंको बल्खुस्थित बनहार्ड कलेजबाट प्लस टु गरे । प्लस टु पढ्दासम्म उनलाई डाक्टर नै बन्छु भन्ने लागेको थिएन् । तर बुवा सिमनाथको चाहना र विस्तारै साथीभाइहरुको समेत डाक्टर बन्ने रुचिले उनलाई पनि डाक्टर बन्ने हुटहुटी बढ्दै गयो । कोहलपुर नगरपालिका वडा नं.११ पिपल चौतारा निवासी सन्दीप एमबीबीएस अध्ययनका लागि २०६७ मा नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा भर्ना भए । २०७२ मा उनले एमबीबीएस पूरा गरे । त्यसपछि मेडिकल अधिकृतको रुपमा उनी दार्चुला जिल्ला अस्पताल गए । करिव डेढ वर्ष त्यहाँ सेवा गरे । दार्चुला जिल्ला अस्पताल हुँदा उनले २५० बढीको सिजेरियन शल्यक्रिया गरे ।

यसैपनि शल्यक्रियाका लागि हातहरु क्लिन हुनै पर्छ । सन्दीपले पेशागत जीवनका हातहरु पनि दार्चुला हुँदा क्लिन बनाउँदै गए । उनले आफ्नो विज्ञतालाई थप बढाउन चाहे । २०७४ मा त्रिभुवन विश्वविद्यालय अन्तर्गत नेशनल मेडिकल कलेजमा एमएस अध्ययनका लागि भर्ना भए । २०७७ सालमा एमएस अर्थोपेडिक सर्जरी विषयको अध्ययन पूरा गरे । एमएसमा उनी नेपाल टपर हुन् अर्थात गोल्डमेडलिष्ट ।

यो शैक्षिक जीवनको सबैभन्दा ठूलो उपलब्धि मध्ये एक मानिन्छ । गोल्डमेडलिष्ट विद्यार्थीहरुका लागि प्रायः अवसरको कुनै कमी हुँदैन् । तर कँडेल त्यस्ता थुप्रै अवसरलाई तिलाञ्जली दिएर आफ्नै गृहनगरमा बसेर पश्चिम नेपालका बिरामीहरुलाई सेवा दिइरहेका छन् । ‘अवसर नपाएको होइन उनी भन्छन्–‘आफ्नै गाउँघरमा हामीले सेवा दिएनौं भने कस्ले दिन्छ ?’ उनको जीवनले देखाउँछ–‘साँचो चिकित्सक पैसाले होइन, सेवाभावले चिनिन्छ ।’ सर्वसाधारणका लागि स्वास्थ्य सेवा भनेको जीवन र मृत्युको सिधा सम्बन्ध हो । अस्पताल, डाक्टर र औषधि नपुग्दा स–साना रोगले पनि ज्यान लिन सक्छ । यही अवस्थाले उनलाई आफ्नै गाउँठाउँमा बसेर सेवा दिन प्रेरित गरेको छ । चिकित्सकले गाउँमै काम गर्दा लाभदायी पक्ष मात्र होइन, चुनौती पनि धेरै हुन्छ । उनी भन्छन्–‘जनताको जीवन बचाउने भावना, सामाजिक दायित्व, र व्यक्तिगत सन्तुष्टिले सधैं मलाई सेवाप्रति प्रेरित गरिरहेको छ ।’

दम्पतीः अर्थपेडिक सर्जन डा.सन्दीप कँडेल र प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा. अदिति धिताल ।

उनकी श्रीमति अदिती धिताल पनि पेशाले चिकित्सक हुन् । भर्खरैमात्र उनले नेपालगन्ज मेडिकल कलेज कोहलपुरबाट गाइनेमा विशेषज्ञता हासिल गरिन् । उनी पनि मेडिकल कलेजमै कार्यरत छिन् ।  ‘हामी दुवै एकै अस्पतालमा काम गर्नुको उद्देश्य केवल सुविधा होइन, समुदायमा स्वास्थ्य पहुँच बढाउनु र बिरामीलाई भरपर्दो सेवा उपलब्ध गराउनु हो । बिरामीले उपचार सहज पाउँदा हामीलाई ठूलो सन्तोष मिल्छ’–सन्दीप थप्छन् । यो जोडी चिकित्सकले स्वास्थ्य सेवा क्षेत्रको उदाहरणीय भूमिका निभाइरहेका त छन् नै उनीहरुको कामले प्रमाणित गर्छ कि स्वास्थ्य सेवा केवल अस्पतालमा सीमित हुँदैन, जब विशेषज्ञता, समर्पण र प्रेम सँगै हुन्छ, तब सेवा सबैका लागि सजिलो र सुलभ पनि बनिदिन्छ ।

  • १३ भाद्र २०८२, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech