एन्टिबायोटिक प्रतिरोध (Antimicrobial Resistance, AMR) अहिलेको विश्व स्वास्थ्य प्रणालीको सबैभन्दा गम्भीर र बढ्दो चुनौतीहरूमध्ये एक हो। जब औषधिले काम गर्न छोड्छ, सामान्य संक्रमणहरू समेत ज्यान लिने खालका रोगमा परिणत हुन्छन् । यो अवस्था केवल एक व्यक्ति वा एक देशको मात्र होइन, सम्पूर्ण मानव स्वास्थ्य, पशु स्वास्थ्य र वातावरणीय सन्तुलनको साझा समस्या हो । यसले उपचार खर्च बढाउने, अस्पताल बसाइ लम्ब्याउने र मृत्युदर बढाउने गर्दछ। यस्तो भयावह स्थिति रोक्न अहिले नै वैज्ञानिक, सामाजिक र व्यावहारिक उपायहरूसहित बहु-क्षेत्रीय सहभागिता आवश्यक छ, जसको लागि “One Health” दृष्टिकोण अत्यावश्यक छ ।
एक स्वास्थ्य (One Health) भनेको मानव, पशु र वातावरणीय स्वास्थ्यबीचको अविच्छेद्य सम्बन्धलाई बुझ्दै एकीकृत र सहकार्ययुक्त उपायहरू अपनाउने अवधारणा हो। AMR को सन्दर्भमा यसले अझ महत्वपूर्ण स्थान ओगट्छ, किनकि एन्टिबायोटिकहरूको अनावश्यक वा अत्यधिक प्रयोग न केवल मानिसहरूमा, तर पशुहरू र कृषि प्रणालीमा पनि व्यापक रूपमा भइरहेकै छ।
कृषि क्षेत्रमा पशुहरूलाई छिटो बढाउन वा रोग रोक्न दिइने एन्टिबायोटिकहरूले खाद्य श्रृंखला र वातावरणमा यसको प्रतिरोधी अंश फैलाइरहेका छन्। यसले गर्दा मानव शरीरमा अप्रभावी औषधिको संख्या बढ्दै गएको छ। One Health दृष्टिकोणले यस्तो चक्रलाई रोक्नको लागि तीनै पक्ष—मानव, पशु र वातावरण—को सुरक्षामा सामूहिक कदम चाल्न प्रेरित गर्छ।
यस साझा प्रयासमा क्लिनिकल फार्मासिष्टको भूमिका अति महत्वपूर्ण हुन्छ। क्लिनिकल फार्मासिष्ट भनेको अस्पताल, स्वास्थ्य संस्था वा समुदायमा सेवा दिने तिनै फार्मेसी विशेषज्ञ हुन् जसले रोगीको औषधि व्यवस्थापनमा प्रत्यक्ष रूपमा सहभागिता जनाउँछन्। उनीहरूले सही एन्टिबायोटिक छनोट गर्न, उचित मात्रा र समय निर्धारण गर्न, अनावश्यक औषधिको प्रयोग रोक्न, साथै चिकित्सक र स्वास्थ्यकर्मीहरूलाई औषधि सम्बन्धी मार्गदर्शन गर्न सहयोग गर्छन्। अझ महत्वपूर्ण कुरा, उनीहरू “Antibiotic Stewardship Program” को एक प्रमुख स्तम्भको रूपमा काम गर्छन्। यस्तो कार्यक्रमले अस्पतालमा औषधिको जिम्मेवार प्रयोग सुनिश्चित गर्छ, अनावश्यक प्रयोग घटाउँछ, र डेटा सङ्कलनका माध्यमबाट रणनीतिमा सुधार ल्याउँछ।
क्लिनिकल फार्मासिष्टहरूले केवल चिकित्सकलाई मात्र हैन, रोगीहरूलाई पनि शिक्षित बनाउँछन् । औषधि कसरी, कति दिन, कुन समयमा प्रयोग गर्ने भन्ने बारे सही जानकारी प्रदान गर्नु उनीहरूको कर्तव्य हो। धेरैपटक, एन्टिबायोटिक सुरु गरेपछि केही दिनमै लक्षण हराउँदा मानिसहरू औषधि अधुरो छाड्छन्, जसले ब्याक्टेरिया झनै बलियो बन्ने खतरा बढाउँछ। क्लिनिकल फार्मासिष्टहरूले यस्तो अभ्यासलाई सचेत गराउँदै औषधिको पूर्ण कोर्स पुरा गर्न उत्प्रेरित गर्छन्। यिनले समुदायस्तरसम्म पुगेर जनचेतना फैलाउने कार्यमा समेत भूमिका खेल्न सक्छन्।
एक स्वास्थ्य (One Health) रणनीति अन्तर्गत, पशुचिकित्सकहरूलाई पनि उचित औषधि प्रयोगको तालिम दिनु, कृषि प्रणालीमा औषधि प्रयोगको निगरानी गर्नु, तथा जलस्रोत र वातावरणमा औषधि अवशेष नजाने उपायहरू अवलम्बन गर्नु आवश्यक छ। यस क्षेत्रमा पनि फार्मासिष्टहरूको वैज्ञानिक ज्ञान अत्यन्त उपयोगी हुनसक्छ। उनीहरू अनुसन्धान, नीति निर्माण र औषधि आपूर्ति प्रणालीमा समेत योगदान गर्नसक्छन्।
नेपाल जस्तो विकाशोन्मुख देशमा, जहाँ अझैपनि औषधि मनपरी तरिकाले किनबेच हुने अवस्था छ, क्लिनिकल फार्मासिष्टहरूको उपस्थिति अझ आवश्यक छ। खुलेआम फार्मेसीबाट एन्टिबायोटिक बिक्री हुने, चिकित्सकको सल्लाह बिना औषधि प्रयोग हुने, तथा पशुपालनमा औषधिको अनियन्त्रित प्रयोगजस्ता अभ्यासले AMR को खतरा भयावह बनाएको छ। यस्तो अवस्थामा, क्लिनिकल फार्मासिष्टहरूले सरकारसँग मिलेर नीतिगत सुदृढीकरण, फार्मेसी नियमन तथा निगरानीमा समेत मुख्य भूमिका निर्वाह गर्नसक्छन्।
एन्टिबायोटिक प्रतिरोधको विरुद्धमा हामी सबैले साझा जिम्मेवारी वहन गर्नुपर्छ। व्यक्तिगत रूपमा हामीले चिकित्सकको सल्लाह बिना औषधि नखाने, पूरा डोज पुरा गर्ने, अनावश्यक एन्टिबायोटिक प्रयोग नगर्ने, तथा Self Medication नगर्ने प्रतिबद्धता लिनुपर्छ। स्वास्थ्यकर्मीहरूले नयाँ एन्टिबायोटिकको प्रयोगको सट्टा विद्यमान प्रभावकारी विकल्पहरू प्रयोग गर्ने, सन्देहास्पद अवस्थामा ब्याक्टेरियोलोजिकल परीक्षणको भरपर्दो प्रयोग गर्ने र संक्रमण रोकथाम उपायमा ध्यान दिने आवश्यक छ।
निष्कर्षमा, एन्टिबायोटिक प्रतिरोध आजको युगको मौन महामारीजस्तै हो, जसको प्रभाव समग्र स्वास्थ्य प्रणालीमा विनाशकारी बन्न सक्छ। यसको समाधान कुनै एक क्षेत्र वा पेशाले मात्र सम्भव छैन । एक स्वास्थ्य दृष्टिकोणले हामीलाई सबै क्षेत्रका विशेषज्ञहरूलाई एउटै उद्देश्यमा एकजुट गराउँछ। र यस यात्रामा क्लिनिकल फार्मासिष्टहरूले सही औषधि प्रयोगको संस्कार फैलाउने, नीति कार्यान्वयन गर्ने र वैज्ञानिक पहलमा अग्रसर हुने सशक्त भूमिका खेलिरहेका छन् ।
यदि हामी सबैले आ-आफ्नो ठाउँबाट जिम्मेवार भूमिका निर्वाह गर्न थाल्यौं भने मात्र, हामी एन्टिबायोटिक प्रतिरोध जस्तो साझा समस्याको समाधान पत्ता लगाउन सक्छौं। यसैले, आउनुहोस्—आजैबाट सचेत बनौँ, जिम्मेवार बनौँ, र स्वस्थ भविष्यको जग निर्माण गरौँ ।
( लेखक आचार्य नेपालगन्ज स्थित भेरी अस्पतालमा कार्यरत छन् ) ।