धरान: लामो समयदेखी तलब नपाएको भन्दै धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको अस्पताल फार्मेसीमा कार्यरत कर्मचारीहरूले फार्मेसी सेवा ठप्प पारेका छन ।
उनीहरूको आन्दोलनको कारण दुई दिनयता प्रतिष्ठानको फार्मेसी बन्द हुँदा बिरामी मर्कामा परेका छन । विगत ७ महिना देखि पाउनुपर्ने तलब र सेवा सुविधाहरू नपाएको भन्दै फार्मेसीमा कार्यरत १८ जना फर्मासिष्ट र ४ जना सहयोगीसहित २२ जना कर्मचारीहरू धर्नामा छन् ।
जसले गर्दा अस्पतालको फार्मेसीबाट पाउने स्वास्थ्य बीमाअन्तर्गतको औषधीहरू नपाउँदा विरामीहरू मारमा परेका हुन् । प्रतिष्ठानको फार्मेसीमा औषधि व्यवस्थापनको जिम्मा केटीएम सेक्युरिटी सर्भिसेज प्रालिले गर्दै आएको छ ।
त्यहाँ कार्यरत कर्मचारीहरू केटीएम सेक्युरिटीमार्फत भर्ना भएका हुन् । उनीहरूलाई तलब सुविधा दिने दायित्व पनि उक्त कम्पनीकै भएपनि तलब नपाएपछि बाध्य भएर आन्दोलनमा उत्रनुपरेको एक कर्मचारीले बताइन्।
प्रतिष्ठानले फार्मेसी सेवा अवरूद्ध हुनु गैरकानुनी भएको दाबी गर्दै आपूर्ति कम्पनी केटीएम सेक्युरिटी सर्भिसेज प्रालिले गैरकानुनी कार्य गरेको जनाएको छ ।