सल्यानः सशस्त्र द्वन्द्वको क्रममा तीनपल्ट भिडन्तको चपेटामा परेको सल्यानको गुराँसे गाउँमा नेपाली सेनाले आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरले बिरामीलाई राहत दिएको छ ।
सेनाको उपस्थितिलाई त्रासको रूपमा लिने स्थानीय अहिले सेनाबाट पाएका सेवाबाट खुसी भएका छन् । श्री सिद्धीबक्स गण, सिमखर्क र १९ नम्बर बाहिनी, तुलसीपुर दाङको संयुक्त आयोजनामा छत्रेश्वरी गाउँपालिका –२, बुरासेटाकुरीमा सम्पन्न शिविरमा २१२ जना स्थानीयले सेवा लिए, जसमध्ये १४५ महिला र ६७ पुरुष रहेका थिए ।
नेपाली सेना सिद्धीबक्स गण सिमखर्कका प्रमुख सेनानी कृष्णचन्द्र ठकुल्लाले स्वास्थ्य शिविरमा हाडजोर्नी, स्त्रीरोग, बालरोग तथा नाक–कान–घाँटीसम्बन्धी उपचार सेवा दिइएको बताए । उनका अनुसार हाडजोर्नीसम्बन्धी समस्या लिएर आएका ५२ जना, स्त्रीरोगसम्बन्धी परामर्श र उपचारका लागि ४१ जना महिलाले सेवा लिएका थिए ।
यस्तै, ३५ जना बालबालिकाले बालरोग, नाक–कान–घाँटी समस्या बोकेर आएका ३८ जनाले विशेषज्ञबाट उपचार गराएका हुन । शिविरमा १२ जनाको मुटुको इसिजी परीक्षण गरिएको छ । २८ जनाको रगत लगायतका ल्याब परीक्षण गरिएको थियो । जाँचपछि आवश्यक औषधी सबै सेवाग्राहीलाई निःशुल्क वितरण गरिएको छ ।
नेपाली सेनाका ७ जना चिकित्सक, जिल्ला स्वास्थ्य कार्यालय सल्यानका ३ जना र छत्रेश्वरी स्वास्थ्य चौकीका ३ जना स्वास्थ्यकर्मीले सेवा दिएका थिए । तत्कालीन शाही नेपाली सेना र माओवादी सेनाविचको लडाइँको मारमा परेका गुराँसेवासी नेपाली सेनाले गरको स्वास्थ्य शिविरबाट खुसी भएका छन् ।