काठमाडौं: स्वस्थ रहन खानपानका साथै दैनिक व्यायाम पनि उत्तिकै आवश्यक हुन्छ । अहिले स्वास्थ्य शरिरका लागि भन्दै बिहान मर्निङ वाक जाने प्रचलन बढ्दो छ । चिकित्सकहरु पनि विभिन्न स्वास्थ्य समस्या तथा दिर्घरोगहरुबाट बच्न शारिरिक व्यायाम गर्नैपर्ने बताउँछन् । त्यसैले पनि बिहान हिंड्डुल गर्ने चलन बढेको पाइन्छ ।
शारीरिक व्यायामले मान्छेलाई बाहिरी रुपमा मात्रै स्वस्थ बनाउँदैन फुर्तिलो समेत बनाउँछ । स्वस्थ रहनुका साथै तौल घटाउन बिहान मर्निङ वाकमा निस्किने वा दौडिने परम्परा बढ्दो छ । यो बानिले मुटु र फोक्सोलाई मात्रै नभई शरीरका अन्य मांसपेशीलाई समेत बलियो बनाउने काम गर्छ । दैनिक ३० मिनेट हिंड्दा वा दौडिंदा हामी स्वस्थ रहन सक्छौं । दौडले शारीरिक अवस्थालाई मात्रै नभई मानसिक अवस्थालाई समेत स्वस्थ राख्ने चिकित्सकहरु बताउँछन् ।
मर्निङ वाक स्वास्थ्यका लागि निकै फाइदाजनक हुने कुरामा कुनै दुई मत छैन । तर जाडो मौसममा व्यायाम वा मर्निङ वाक गर्दा भने धेरै कुरामा ध्यान दिनुपर्छ । मुटुरोगी, हृद्धयघात, अनियन्त्रित रक्तचाप, मधुमेह, उच्च कोलस्ट्रोल, दीर्घरोगी, दमका रोगी लगायत अन्य विभिन्न समस्या भएका व्यक्तिहरुले चिसो मौसममा व्यायाम वा मर्निङ वाक गर्दा स्वास्थ्यमा केहि जटिलता देखिन सक्ने भएकाले त्यस्ता व्यक्तिले केही सावधानी अपनाउनुपर्ने विज्ञहरु बताउँछन् ।
जाडोको समयमा विभिन्न किसिमका रसायन र हर्मोनको उत्पादन बढ्ने गर्छ, जसले रगत जमाउने तत्वहरुको मात्रा पनि बढाउने गर्छ। रगतको बाक्लोपना (भिस्कोसिटी) पनि बढ्छ। यी सबै कुराले मुटु र मस्तिष्क रक्तनलीहरुमा रगत जमेर हृदयघात र मस्तिष्कघातको खतरा बढ्छ। तर, यी समस्या मुटु रोगको जोखिम हुनेहरुमा बढी हुन्छ। पूर्णरुपमा स्वस्थ व्यक्तिहरुमा यसको सम्भावना निकै कम हुन्छ। रक्तचाप र कोलस्टेरोल पूर्णरुपले नियन्त्रणमा रहेको एउटा सामान्य व्यक्ति चिसोबाट बच्ने उपयुक्त सुरक्षा अपनाएर मर्निङ वाकमा निस्कन मिल्छ।
फिजिसियन डा.उज्वल अर्यालका अनुसार व्यायाम सुरु गर्नुअघि वा मर्निङ वाक सुरु गर्नुअघि हल्का मनतातो पानी खाएर निस्कनु उचित हुन्छ, जसले गर्दा शरीरमा डिहाइड्रेसन हुँदैन र कुनै नोक्सान गर्दैन। मर्निङ वाकमा निस्किँदा जाडोबाट बच्न पर्याप्त कपडा लगाउनुपर्छ र मास्कको प्रयोग गर्न पनि उहाँ सुझाउनुहुन्छ।
चिसोमा मर्निङवाक गर्दा निम्न कुरामा ध्यान दिनुहोस् ।
- चिसो नपस्ने न्यानो कपडा लगाएर निस्कने
- व्यायाम सुरु गर्नुअघि वार्मअप गर्नु उपयुक्त हुन्छ
- सकेसम्म घाम उदाएपछि वाकमा निस्कनु उचित
- विहानीपख विशेषगरी जाडो याममा वायुमण्डलमा बढी प्रदुषण हुने हुँदा मास्कको प्रयोग गर्नुपर्छ