नेपालगन्जः बाँकेको नरैनापुरमा झाडापखलाको प्रकोप नरहेको स्वास्थ्यकर्मीहरुले बताएका छन् । नरैनापुर गाउँपालिका–३ गेग्ली गाँउमा झाडापखलाको प्रकोपबाट ४ जनाको मृत्यु भएको घटना सार्वजनिक भएपछि जिल्लाबाट स्वास्थ्य कार्यालय बाँकेका प्रमुख अंगत बहादुर शाही, जनस्वास्थ्य अधिकृत नरेश श्रेष्ठ सहितको स्वास्थ्यकर्मीको टोलि आज गेग्ली गाउँमा पुगेको थियो ।
झाडापखालाको प्रकोप नै फैलिएको अवस्था नरहेको टोलिले निष्कर्ष निकालेको छ । मृत्यु भएकाहरु पनि झाडापखालाबाटै हो वा होइन त्यसको अनुसन्धान पनि भइरहेको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ । एक जना बालकको उच्च ज्वरो र जोर्नी दुख्ने लगायतका कारणबाट मृत्यु भएको पाइएको छ । उनलाई डेंगुको आशंका गरिएको छ ।
चार पाँच दिनको फरकमा नरैनापुर गाँउपालिका–३ मा एउटै घरका ३ जना र अन्य एक जना सहित ४ जनाको मृत्यु भएको थियो । मृत्यु हुनेमा २६ वर्षीय उषादेवी पासी, उनकी १ वर्षीय नन्दनी पासी र काकी नाता पर्ने ७२ वर्षीय कान्ति पासी रहेका छन् । १० वर्षीय युसुफ अलि शेषको पनि मृत्यु भएको छ ।
उषालाई भदौं ११ गते वान्ता र झाडापखालाको भएको थियो । त्यसपछि उनलाई उपचारका लागि नरैनापुरको निजी मेडिकलमा लगिएको थियो । उनको १२ गते मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका सूचना अधिकारी श्रेष्ठले बताए । उनकी छोरी नन्दनीलाई १४ गते वान्ता र झाडापखालाको लक्षण चिन्ह देखिएको थियो ।
उनलाई उपचारका लागि भारतको श्रावती लैजानेक्रममा १६ गते मृत्यु भएको परिवारले जानकारी दिएको पनि श्रेष्ठले बताए । काम्तिलाई १३ गते वान्ता र झाडापखालाको लक्षण चिन्ह देखिएको थियो । उनको स्थानीय निजी मेडिकलमा उपचार गरिएको थियो । उनको १४ गते घरमै मृत्यु भयो । युसुफलाई भने उच्च ज्वरो, जोर्नी दुख्ने, तल्लो खुट्टा नचल्ने लगायतका लक्षण चिन्ह थिए । उक्त लक्षण चिन्ह युसुफलाई ९ गते देखिएको थियो । उपचारका लागि भारतको श्रावस्ती लैजानेक्रममा उनको १२ गते मृत्यु भएको हो ।
उनको मृत्यु झाडापखालाबाट नभएको स्वास्थ्यकर्मीहरुले पुष्टि गरेका छन् । लक्षण चिन्हका आधारमा उनको मृत्यु डेंगुबाट भएको आंशका गरिएको छ । ६ जना बिरामीहरु भने उपचारपछि घर फर्किसकेका छन् । ‘मृत्यु भएकाहरुको झाडापखालाको प्रकोपकै कारण हो भन्न सक्ने अवस्था छैन श्रेष्ठले भने–‘फोहोर पानीको संक्रमण र खानपिन नमिल्दा समस्या देखिएको प्रारम्भिक अनुमान गरेका छौं । तर त्यसको अनुसन्धान भइरहेको छ ।’
झाडापखालाको पुष्टि गर्न स्याम्पल कलेक्शन गरेर लक्षणपुर स्वास्थ्य चौकीमा पठाइएको छ । त्यसैगरी पानीको परीक्षण गर्न पनि खानेपानी कार्यालय नेपालगन्जमा नमुना संकलन गरि पठाइएको छ । ‘सम्भवतः भोलि (मंगलवार) रिपोर्ट आउने छ’– उनले भने । नल्काको पानी अत्यन्तै प्रदूषित पाइएको र उनीहरुले त्यही पनि पिउने गरेका छन् ।