बुटवलमा गर्भपतन गराउने क्रममा गीताको मृत्यु, तीन स्वास्थ्यकर्मी पक्राउ

    • स्वास्थ्य पेज

  • ८ बैशाख २०८३, मंगलवार

बुटवल: रुपन्देहीकाे बुटवलमा गर्भपतन गराउने क्रममा एक महिलाको मृत्यु भएको छ । पाल्पाको बगनासकाली गाउँपालिका–२ घर भई हाल रुपन्देहीको तिलोत्तमा नगरपालिका–३ मा बस्दै आएकी २९ वर्षीया गीता पाण्डेको बुटवलका एकपछि अर्को क्लिनिकमा धाउँदाधाउँदै मृत्यु भएको हो । मृतक गीता रक्त सञ्चार सेवा केन्द्र भैरहवाकी कर्मचारी हुन् ।

चिकित्सकको लापर्वाही तथा क्लिनिकको कमाउ धन्दाको चक्करमा गीताले अकालमा ज्यान गुमाउनुपरेको मृतकका परिवारको आरोप छ । गर्भमा दोस्रो बच्चा बसेपछि पाण्डे दम्पती गर्भ परीक्षणका लागि गत २७ चैतमा बुटवलको इँटाभट्टीमा रहेको खत्री नर्सिङ होम पुगेका थिए । परिवारका अनुसार त्यहाँ डा. डीबी खत्रीले जाँच गरेपछि गर्भमा करिब १२ हप्ताको भ्रूण रहेको र भ्रूण असामान्य रहेको भन्दै नर्सिङ होमले गीतालाई गर्भपतन गराउन सुझाव दिएको थियो ।

त्यसपछि उनीहरूलाई ४ वैशाखमा नर्सिङ होममा बोलाइएको थियो । उनीहरू ४ वैशाखमा नर्सिङ होममा जाँदा गीतालाई जाँच गरेका डा. डीबी खत्री नभएको भन्दै स्वास्थ्यकर्मीहरूले फेरि ५ वैशाखमा बोलाएका थिए । ५ वैशाखमा नर्सिङ होममा पुगेर जाँच गरेपछि डा. खत्रीले ‘प्रेस्क्रिप्सन लेटर’ र ‘लोकेसन कार्ड’ दिएर बुटवलकै जोनल फार्मेसीमा रिफर गरे ।

जोनल फार्मेसी पुगेपछि त्यहाँका स्वास्थ्यकर्मीले गर्भपतनको १६ हजार शुल्क लाग्छ भन्दै २ हजार एड्भान्स लिएर दुईथरी औषधि दिई ६ वैशाखमा आउन भनी घर पठाएको गीताका श्रीमान् प्रकाश पाण्डेले बताए ।

सोहीअनुसार भोलिपल्ट थप उपचारका लागि जोनल फार्मेसी पुगेकी गीता घर फर्किन भने पाइनन् । ‘जोनल फार्मेसीले दुईवटा औषधि दिएर घर पठाएको थियो । ‘फार्मेसीले भनेबमोजिम साँझ १ गोली र बिहान १ गोली खाएको हो । अर्को दिन बोलाएकै समयमा जोनल फार्मेसीमा गयौँ, फेरि अर्को औषधि दिए,’ प्रकाशले भने ।

जोनल फार्मेसीमा पुगेपछि गीताको स्वास्थ्य अवस्था अचानक बिग्रिएको उनले बताए । औषधिको प्रतिक्रिया देखिएपछि उनलाई पखाला लाग्न थालेको र केही समय फार्मेसीमै राखिएको थियो । त्यहाँ उनको उपचार प्रक्रिया सफल नभएपछि नजिकैको इन्दुलेखा क्लिनिकमा लगिएको थियो, जहाँ डा. सतीश रुपाखेतीले उपचार सुरु गरेका थिए ।

त्यहाँसमेत औषधि प्रयोग गरेर गर्भपतन गराउने प्रयास गरिएको प्रारम्भिक अनुसन्धानले देखाएको छ । लगातार औषधि प्रयोगपछि स्वास्थ्य अवस्था गम्भीर बनेपछि ६ वैशाखको दिउँसो ३ बजेतिर गीतालाई अन्ततः बुटवलकै लुम्बिनी सिटी अस्पतालमा पुर्‍याइएको थियो ।

अस्पताल पुगेलगत्तै गीताको स्वास्थ्य जाँच गर्दा त्यहाँका चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए । क्लिनिकको लापर्वाही र गलत उपचारका कारण यस्तो अवस्था आएको उनका श्रीमान् प्रकाशले बताए । ‘गीतालाई कुनै दीर्घ रोग थिएन, उनी स्वस्थ थिइन्,’ प्रकाशले भने, ‘चिनेको डाक्टरसँग नियमित उपचार गराउँदा बिरामीको मृत्यु हुने अवस्था आयो । यो सरासर उपचारमा गम्भीर लापर्वाही हो । दोषीलाई कारबाही हुनुपर्छ ।’

श्रीमतीको मृत्युले विक्षिप्त बनेका प्रकाशको काँधमा ५ वर्षीय छोरा हुर्काउने जिम्मेवारी आएको छ । प्रारम्भिक अनुसन्धानले अनुभवी तथा विशेषज्ञ चिकित्सकको सल्लाहबिना नर्सिङ होम, क्लिनिक र फार्मेसीमार्फत असुरक्षित तरिकाले औषधि प्रयोग गरिएको देखाएको छ । इलाका प्रहरी कार्यालय, बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक निशान्त श्रीवास्तवले पीडित परिवारले डाक्टर र स्वास्थ्यकर्मीसहित ५ जनाविरुद्ध किटानी जाहेरी दिएको बताए ।

पीडित परिवारले खत्री नर्सिङ होमका डा. डीबी खत्री, इन्दुलेखामा कार्यरत डा. सतीश रुपाखेती, जोनल फार्मेसीका सञ्चालक सन्ध्या बस्नेत, निलम घर्तीमगर र इन्दुलेखा क्लिनिकका सञ्चालक खगेन्द्रप्रसाद पाण्डेविरुद्ध जाहेरी दिएका छन् । ‘अहिले हामीले तीन जना स्वास्थ्यकर्मीलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाएका छौँ,’ प्रहरी नायब उपरीक्षक श्रीवास्तवले भने, ‘कमजोरी कसको हो भन्ने अनुसन्धानपछि खुल्नेछ ।’

पक्राउ परेकाहरूमा सन्ध्या बस्नेत, निलम घर्तीमगर र खगेन्द्र पाण्डे छन् । प्रकाशले श्रीमती गीताको मृत्युमा मुख्य दोषी भन्दै डा. डीबी खत्री र डा. सतीश रुपाखेतीलाई पक्राउ गरी कानुनी कारबाही गर्न माग गरेका छन् । चिकित्सकको लापर्वाहीले गीताको मृत्यु भएको भन्दै पीडित परिवार र आफन्तले मंगलबार खत्री नर्सिङ होम, इन्दुलेखा र जोनल फार्मेसी घेराउ गर्दै तालाबन्दी गरेका छन् ।

  • ८ बैशाख २०८३, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई healthpage0@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech