गीता मृत्यु प्रकरण : डाक्टर डीबी खत्री र सतिश रुपाखेती प्रहरी नियन्त्रणमा

    • स्वास्थ्य पेज

  • ९ बैशाख २०८३, बुधबार

नेपालगन्ज: गर्भपतनका क्रममा पाल्पाकी २९ वर्षीया गीता पाण्डेको ज्यान गएको घटनामा जोडिएका बुटवलका दुई चिकित्सकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । खत्री नर्सिङ होमका सञ्चालक समेत रहेका डा. डीबी खत्री र इन्दु लेखा स्वास्थ्य क्लिनिकका चिकित्सक डा. सतिष रुपाखेतीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

मृतकका पति प्रकाश पाण्डेले गिताको मृत्युमा आर्थिक लाभको उद्देश्य राखेर चिकित्सकले गम्भीर लापरवाही गरेको आरोप लगाई डा. खत्री र रुपाखेतीसहित पाँचजना विरुद्ध किटानी जाहेरी दिएका थिए । दुई डाक्टर बाहेक जोनल फार्मेसीका सन्ध्या बस्नेत र निलम घर्ती मगर तथा इन्दुलेखा स्वास्थ्य क्लिनिकका सञ्चालक खगेन्द्रप्रसाद पाण्डेमाथि पनि अनुसन्धान र कारवाहीको माग गर्दै इलाका प्रहरी कार्यालय बुटवलमा जाहेरी परेको थियो ।

बस्नेत, घर्ती र पाण्डे मंगलबार बिहान नै पक्राउ परेका थिए । डा. खत्री र रुपाखेती भने मंगलबार बेलुका अबेर आफैं प्रहरी कार्यालय आएपछि नियन्त्रणमा राखेर अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी निशान्त श्रीवास्तवले बताए ।

‘जाहेरी अनुसार तीनजनालाई पहिल्यै पक्राउ गरेका थियौं, दुई जना डाक्टर साबलाई घटनाबारे बुझ्नु छ आउनुस् भनेर फोन गरेपछि मंगलबार साँझ अबेर आफैं उपस्थित हुनभयो,’ डीएसपी श्रीवास्तवले भने, ‘घटनामा उहाँहरुको संलग्नता के कस्तो छ त्यो अनुसन्धान पछि थप प्रकृया अघि बढ्छ ।’‘पक्राउ परेका अन्य तीन जनालाई जिल्ला अदालतबाट तीन दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको छ,’ उनले भने, ‘अरुको पनि संलग्नता देखिए सबैलाई कारबाहीको दायरामा ल्याइने छ ।’

  • ९ बैशाख २०८३, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई healthpage0@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech