क्यान्सर उपचारका लागि कोशी अस्पताल र भक्तपुर क्यान्सर अस्पतालबीच सम्झौता

    • स्वास्थ्य पेज

  • १३ भाद्र २०८१, बिहीबार

नेपालगन्जः विराटनगरस्थित कोशी अस्पतालमा क्यान्सर उपचार सेवा विस्तार गरिएको छ । भक्तपुर क्यान्सर अस्पतालको प्राविधिक सहयोगमा कोशी अस्पतालमा क्यान्सर रोगका बिरामीहरुको उपचारको लागि थप सेवा विस्तार गरिएको हो । बिहीबार सेवा विस्तार कार्यक्रममा दुई पक्षीय सम्झौतामा हस्ताक्षर भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल, सचिव डा रोशन पोखरेलको उपस्थितिमा भक्तपुर क्यान्सर अस्पतालका निमित्त कार्यकारी निर्देशक डा उज्ज्वल चालिसे र कोशी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा रविनराज सिंहबीच सेवा विस्तार सम्झौता—पत्रमा हस्ताक्षर भएको हो । सम्झौताअनुसार भक्तपुर क्यान्सर अस्पतालका चिकित्सकसहितको टोलीले कोशी अस्पतालमा महिनाको एक दिन सेवा दिनेछन् । त्यस वापतको यातायात तथा खाजा खर्चको व्यवस्थापन कोशी अस्पतालले गर्नुपर्नेछ । बहिरंग, अन्तरंग एवं उपचार सेवा बिरामीले पाउने छन् ।

जसका लागि कोशीमा क्यान्सर रोगको उपचार सेवाका लागि आवश्यक वातावरण तयार पार्ने, सेवाग्राहीलाई सेवाबारे जानकारी गराउने, कोशीको पूर्वाधार, औजार, उपकरण र जनशक्ति परिचालन गरिने उल्लेख छ । भक्तपुर क्यान्सर अस्पतालका कार्यकारी निर्देशक चालिसेकाअनुसार कोशीमा बिरामी चापको आवश्यकता हेरेर सेवामा सहजीकरण गरिने बताए । उनकाअनुसार क्यान्सरमा एकै विद्याका चिकित्सकले सबै कुरा हेर्न नसक्ने भएकोले बिरामीको अवस्था र आवश्यकताअनुसार चिकित्सकहरु आउने बताएका छन् । अहिले भक्तपुर क्यान्सर अस्पतालका चिकित्सकहरु महिनामा एक पटक कोशीमा आएर बिरामीलाई सेवा प्रदान गर्ने उनले बताए ।

‘अहिले महिनामा एक पटक चिकित्सकको टोली आउने भनिएको छ । आवश्यकता पर्यो भने त्यहीअनुसार पनि आइन्छ,’ उनले भने, ‘अहिले सुरुवाती चरणमा ६ जना क्यान्सरका विशेषज्ञ चिकित्सकको टोली आएको छ ।’ यहाँका चिकित्सकसँग गरेर विरामीको आवश्यकताअनुसार क्यान्सरका विशेषज्ञ चिकित्सकको टोली आउने उनले बताए । कोशी अस्पतालमा यसअघि पनि क्यान्सरको ओपीडी सेवा मात्रै सुरु भएको थियो । कोशी अस्पतालका मेडिकल अंकोलोजिष्ट डा रवि कटेथले क्यान्सरका बिरामीलाई सेवा दिदैं आएका थिए ।

कार्यक्रममा मन्त्री पौडेलले क्यान्सर रोगमा सरकारले गर्ने सहयोगलाई व्यापक बनाउने तयारी स्वरुप पाँच लाख रपैयाँको स्वास्थ्य बीमा कार्यक्रम कार्यन्वयनमा ल्याउन चाहेको बताए । उनले त्यसका लागि स्वास्थ्य सेवा कर लाग्ने क्षेत्रबाट निश्चित रकम जम्मा गर्न लगाउने बताए । यसैगरी स्वास्थ्य सेवालाई जसरी पनि नागरिकको पहुँचयोग्य बनाउनका लागि सरकारले तत्काल गर्नसक्ने कार्यक्रमहरु कार्यन्वयनमा ल्याउन चाहेको बताए ।

  • १३ भाद्र २०८१, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech