प्युठानमा स्वास्थ्यकर्मीले सुत्केरीलाई बोकेर घरै पुर्‍याइदिए

    • स्वास्थ्य पेज

  • २४ असार २०८१, सोमबार

नेपालगन्जः प्युठानमा स्वास्थ्यकर्मीले सुत्केरीलाई बोकेर घरै पुर्‍याइदिएका छन् । ऐरावती गाउँपालिका–६, काल्नेकी ३० वर्षीया जिवा विकलाई शनिबार साँझ सुत्केरी व्यथा सुरु हुँदा बाहिर झमझम् पानी परिरहेको थियो । तीन दिनअघिबाटै जिवाको तल्लो पेट दुखिरहेको थियो ।

तर, एक्कासी त्यसरी च्याप्ला भन्ने सोच्नु भएको थिएन् । पालिकामा गर्भवती भएका महिलाहरुलाई स्वास्थ्यकर्मीहरु नियमित निगरानीमै राखेका हुन्छन् । त्यो साँझ पनि पेट अलि बढ्तै दुख्न थालेपछि स्वास्थ्यकर्मीलाई सम्पर्क गर्नुभयो । उनीहरुले जिवालाई स्वास्थ्यचौकीमै आउन आग्रह गर्नुभयो ।

बाहिर झरी रोकिएको थिएन । रात परिसकेकाले गाडीमा स्वास्थ्यचौकीमा जाने सम्भावना पनि थिएन । माइती घरबाट उहाँ ३ वर्षको छोरो र आमासहित करिब साढे दुई किलोमिटर टाढा मल्लरानी गाउँपालिका–३, धरमपानीमा रहेको स्वास्थ्य चौकीमा पुग्नुभयो । उहाँ स्वास्थ्यचौकी पुग्दा रातको ८ बजिसकेको थियो । त्यसैदिन राति करिब १० बजे सामान्य अवस्थामा छोरीलाई जन्म दिनुभयो । सुत्केरी भएको २४ घण्टासम्म आराम गरेपछि स्वास्थ्यकर्मीहरुले उहाँलाई घर जान सल्लाह दिए । तर पानी परिरहेकाले गाडी चलेका थिएनन् । उहाँलाई बोकेर घरसम्म लैजान गाउँका अरु कोही तयार भएनन् । त्यसपछि स्वास्थ्यकर्मीहरुले नै स्टेचरमा बोकेर उहाँको घरसम्मै पुर्‍याइदिए ।

‘स्वास्थ्य चौकीमा गाउँका अरु मान्छेहरु पनि थिए । उनीहरुलाई घरसम्म पुर्‍याइदिनुस् भनेर अनुरोध गर्दा पनि कोही तयार भएनन्,’ जनस्वास्थ्य निरीक्षक टुकाराम पोख्रेलले भन्नुभयो, ‘त्यसपछि खाजा खाने समयमा हामीले नै बोकेर उहाँको घरसम्म पुर्‍याइदियौं ।’ जनस्वास्थ्य निरीक्षक पोख्रेलसहित, अहेब मुना केसी, अनमी पार्वता पुन, ल्याब असिस्टेन्ट शान्ता पुन र कार्यालय सहयोगी नमा पौडेलले जिवालाई पालैपालो बोक्नु भएको थियो ।

जिवा विक मल्लरानी–२ को स्याला भन्ने ठाउँबाट हालैमात्र बसाइँ सरेर ऐरावती गाउँपालिकामा आउनुभएको थियो । उहाँका श्रीमान् रोजगारीको सिलसिलामा भारतमा हुनुहुन्छ । त्यसैले उहाँ माइतमा बस्दै आउनुभएको छ । स्वास्थ्य चौकीमा २४ घण्टे प्रसूति सेवा उपलब्ध छ । त्यहाँ सात जनाको जनशक्ति छ । तर जनस्वास्थ्य निरीक्षक पोख्रेल एक मात्र पुरुष कर्मचारी हुनुहुन्छ । अहेब, अनमी, ल्याब असिस्टेन्ट, कार्यालय सहयोगी सबै महिलामात्र छन् ।

  • २४ असार २०८१, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech