‘हामी क्षयरोग अन्त्य गछौँ’ भन्ने नाराका साथ विश्व क्षयरोग दिवस मनाइँदैँ छ। हरेक वर्ष २४ मार्चका दिन विश्वभर नै विभिन्न कार्यक्रमको आयोजना गरी विश्व क्षयरोग दिवस मनाउने गरिन्छ । सन् २०५० सम्ममा क्षयरोग विहिन विश्वको परिकल्पना साकार पार्नको लागि आजबाट नै क्षयरोग निदान दर बढाई, क्षयरोग सर्ने प्रकृयालाई कम गर्दै गएको खण्डमा भविष्यमा क्षयरोगलाई जनस्वास्थ्यको समस्याबाट हटाउन सकिन्छ। क्षयरोग सरुवा रोग भएको हुँदा एक संक्रमित व्यक्तिबाट अर्को व्यक्तिमा सजिलै सर्नसक्छ। यो रोग विश्वमा एउटा प्रमुख जनस्वास्थ्य समस्याको रुपमा रहेको छ। विशेष गरी नेपाल जस्तो विकासोन्मुख राष्ट्रमा क्षयरोगले चुनौतिपूर्ण परिस्थिति सिर्जना गरेको छ। त्यसैले हामी सबैजनाको सक्रिय सहभागिता र सहयोगले मात्र क्षयरोगलाई जनस्वास्थ्य समस्याको रुपबाट अन्त्य गराउन सकिन्छ।
नेपालमा कुल जनसंख्याको ४५ प्रतिशत व्यक्तिहरु क्षयरोगबाट संक्रमित भएका र तिनिहरुमध्ये करीब ६० प्रतिशत वयश्क व्यक्तिहरु रहेको अनुमान गरिएको छ। ‘राष्ट्रिय क्षयरोग प्रिभ्यालेन्स सर्वे २०१९’ को प्रतिवेदन अनुसार नेपालमा क्षयरोगीको संख्या प्रतिवर्ष ६९ हजार देखिन्छ भने प्रति एकलाख जनसंख्यामा २४५ क्षयरोगका बिरामीहरु छन्। आर्थिक वर्ष २०७८/७९ मा कुल ३७८६१ जना क्षयरोगका बिरामीहरु उपचारमा रहेका थिए। आ.व २०७८/७९ मा कुल ६६३ जना मानिसको क्षयरोगबाट मुत्यु भएको थियो र क्षयरोगको सफल उपचार दर ९२ प्रतिशत छ।
क्षयरोग माइकोव्याक्टेरियम ट्युवरकुलोसिस ;; (mycobacterium tuberculosis) नामक किटाणुबाट लाग्ने एक किसिमको सरूवा रोग हो। यो एक व्यक्तिबाट अर्को व्यक्तिमा श्वासप्रश्वासको माध्यमबाट सर्छ ,खाना, यौनजन्य क्रियाकलापबाट भने सर्दैन। र अर्को कुरा क्षयरोगका किटाणुबाट प्रभावित सबै व्यक्तिलाई पनि क्षयरोग लाग्दैन।
यदि क्षयरोगका किटाणुले आक्रमण गरेका व्यक्तिमा रोगसँग लड्ने क्षमता राम्रो छ भने रोग लाग्दैन, रोगसँग लड्ने क्षमता कम भए यो रोगले छिटो आक्रमण गर्छ। जस्तैः कुपोषण, एच.आई.भी.संक्रमण भएका मानिसहरुमा यो रोग छिटो विकसित हुन्छ। क्षयरोगको किटाणुले आक्रमण गरेका व्यक्ति मध्ये करिब १० प्रतिशत व्यक्तिमा मात्र क्षयरोग विकशित हुन सक्छ अर्थात रोगका लक्षण देखा पर्दछन्।
मुख्यतः क्षयरोगलाई दुई भागमा वर्गीकरण गर्न सकिन्छ –फोक्सोको क्षयरोग र फोक्सो बाहेक अन्य भागमा लाग्ने क्षयरोग (ग्रन्थी, आन्द्रा, मेनेन्जेस, हाड, प्रजनन तथा मूत्र प्रणाली, छाला, आँखा आदि)। फोक्सो बाहेक अन्य भागमा लाग्ने क्षयरोगको निदान गर्न फोक्सोको क्षयरोग भन्दा गाह्रो हुन्छ ।
फोक्सोको क्षयरोगका लक्षणहरू – दुई साता वा सो भन्दा बढी समयसम्म लगातार खोकी लागिरहनु ,शरीरको तौल घट्नु , खासगरी बेलुकापख ज्वरो आउनु ,छाति दुख्नु ,खाना अरुची हुनु ,खकारमा रगत देखिनु आदि। त्यसैगरी फोक्सोबाहेक अन्य भागमा लाग्ने क्षयरोगका लक्षणहरु अंग अनुसार फरक हुने गर्छ।
जस्तै टि.बी. मेनेन्जाइटिस भएको खण्डमा विस्तारै– विस्तारै टाउको दुख्न थाल्ने, ज्वरो आउने ,घाँटी अररो हुने ,मानसिक भ्रम हुने ,शरीर काम्ने तथा बेहोस हुने आदि हुन सक्छ। हाड तथा जोर्नीको क्षयरोग भएको खण्डमा क्षयरोगले प्रभावित पारेको हाड वा जोर्नी दुख्ने,हाड जोर्नी चलाउन गाह्रो हुने तथा सुन्निने, पछि छालामा प्वाल बनी पीप निस्कने आदि हुन सक्छ। पेटको क्षयरोग भएको खण्डमा पेट दुख्ने,दिसा पातलो हुने, दुब्लाउँदै जाने, पेटमा छाम्दा डल्लो फेला पनेर्, मन्द ज्वरो आउने तथा खाना रुची नहुने आदि हुन सक्छ।
त्यस्तै ग्रन्थीको क्षयरोग भएको खण्डमा ग्रन्थीको आकार बढ्ने, ग्रन्थीमा तातोपन नहुने, सुन्निने ग्रन्थी नदुख्ने साथै धेरै ग्रन्थीहरु एक अर्कामा जोडिएको जस्तो हुने र पछि छालामा प्वाल बनी पीप निस्कने आदि हुन सक्छ। फोक्सोको क्षयरोग निदान गर्ने सरल ,भरपर्दो उपाय भनेको खकार परीक्षण गर्नु नै हो।
दुइ हप्ता भन्दा बढी खोकी लागेमा अनिवार्य खकार परीक्षण गर्नुपर्दछ। त्यस्तै क्षयरोग निदानको लागि एक्स–रे, मण्टुटेष्ट पनि सहायक माध्यम हुन्। केही गरी निदान गर्न गाह्रो भएमा Gene Xpert प्रविधिबाट परीक्षण गराउनु पर्छ। फोक्सोबाहेक अन्य भागमा लाग्ने क्षयरोग निदानको लागि FNAC, Biopsy, Culture test आदि परीक्षण उपयोगी हुन्छन् ।
क्षयरोग नियमित रूपमा औषधिको सेवनबाट पूर्ण रूपमा निको हुन्छ । नेपाल सरकारले क्षयरोग विरुद्धमा अति प्रभावकारी औषधिहरु निःशुल्क वितरण गराउँदै आएको छ । उपचार अवधी भने संक्रमित अंग, रोगको प्रकृति हेरी फरक हुन्छ। यस अवधिमा सबै विरामीहरुलाई डट्स अन्तर्गत राखेर उपचार गरिन्छ ,जसमा विरामीलाई प्रत्येक दिन उपचार सहयोगीको प्रत्यक्ष निगरानीमा औषधि खुवाउने गरिन्छ। औषधिहरुको सेवनबाट पिसाव रातो हुन सक्छ तर यो सामान्य हो,डराउनु पर्दैन ।