नेपालगन्जमा चार जना बालबालिकामा दादुरा पुष्टि, महामारीकै जोखिम बढ्यो

    • प्रियास्मृति ढकाल

  • १८ पुष २०७९, सोमबार

नेपालगन्जः नेपालगन्ज उपमहानगरपालिका–७ मा ४ जना बालबालिकालाई दादुराको संक्रमण देखिएको छ । श्वासप्रश्वासका माध्यमबाट सर्ने र सजिलै फैलने दादुराले ४ जना बालबालिका संक्रमित बनाएपछि नेपालगन्जमा दादुराको महामारी नै फैलिन सक्ने जोखिम बढेको छ ।

दादुराको शंकास्पद ५ जनाको स्याम्पल जाँचका लागि काठमाडौंस्थित राष्ट्रिय प्रयोगशालामा पठाइएकोमा ४ जनामा दादुराको संक्रमण देखिएको राष्ट्रिय प्रयोगशालाले जनाएको छ ।

संक्रमित ५ देखि १२ वर्ष उमेर समूहका बालबालिका छन् । ३ जना बालिका र १ जना बालक रहेको बताइएको छ । गएको १३ गते स्याम्पल काठमाडौं पठाइएको थियो । आधारभूत स्वास्थ्य केन्द्रका प्रमुख लीला शर्माले भने आफुलाई दादुरा संक्रमण भए नभएको रिपोर्ट जानकारी नभएको बताउनुभयो ।

‘शंकास्पद विरामीको स्याम्पल पठाइएको हो उहाँले स्वास्थ्य पेजसँग भन्नुभयो–‘तर रिपोर्ट आएकोबारे मलाई जानकारी छैन ।’ उहाँले बच्चाहरुमा दादुराको शंकास्पद लक्षण देखिएको भने बताउनुभयो । नेपालगन्ज उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्दले पनि दादुराको पुष्टि भए नभएकोबारे अनविज्ञता जनाउनुभयो ।

‘शंकास्पद केही केसहरु देखिएको भन्ने छ उहाँले स्वास्थ्य पेजसँग भन्नुभयो–‘आधिकारिकता जिल्लालाई बुझ्नु पर्छ ।’ विश्व स्वास्थ्य संगठनले एकहप्ताकै वीचमा पाँच जनामा दादुरा देखिए महामारीका रुपमा लिने गर्छ ।

तर महामारीको सुरुवाती चरण देखिदा पनि स्वास्थ्यका अधिकारीहरु भने यसलाई गुपचुप बनाउने प्रयासमा रहेको देखिन्छ । स्वास्थ्य पेजलाई प्राप्त जानकारी अनुसार थप ५ जना बालबालिकाको स्याम्पल परीक्षणका लागि काठमाडौं पठाइएको छ ।

दादुरा संक्रमण पुष्टि भएका बालबालिकालाई आधारभूत स्वास्थ्य केन्द्रको निगरानीमा उपचार भइरहेको छ ।

  • १८ पुष २०७९, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech