ब्लड प्रेसर लो किन हुन्छ ?

    • स्वास्थ्य पेज

  • २४ बैशाख २०७९, शनिबार

उच्च रक्तचाप भएजस्तै कतिपयलाई ब्लड प्रेसर लो हुने गर्छ । रक्तचाप न्यून भएका बिरामीहरुलाई पनि समान हेरचाह र जीवनशैली परिवर्तन आवश्यक पर्छ भन्नेबारे धेरैलाई थाहा नहुन सक्छ। तर धेरैले न्युन रक्तचापलाई भने बेवास्ता गर्ने गरेको पाइन्छ। तर त्यसो गर्नु हुँदैन र हल्का रुपमा लिनुहुँदैन। रक्तचाप कम हुँदा शरीरका अंगहरु फेल हुने, हृदयाघात हुनेजस्ता खतरनाक स्थिति निम्तन्छन्।

न्युन रक्तचापलाई मेडिकल भाषामा हाइपोटेन्सन भनिन्छ। यदि कुनै व्यक्तिको रक्तचाप ९०/६० भन्दा कम हुन्छ भने न्युन रक्तचाप भएको मानिन्छ। यसो हुनुका थुप्रै कारण हुन्छन्–शरीरमा पानीको कमी, औषधिको असर, सर्जरी या गम्भीर चोटका कारण, आनुवंशिक समस्या, तनाव, लागुऔषध, गलत जीवनशैली, बढी समय भोको बस्नु आदि।

न्युन रक्तचापले मुटुकको समस्यातर्फ पनि संकेत गरेको हुन्छ। किनभने रगतको सञ्चार सिधै मुटुको पम्पिङमा निर्भर गर्छ। यस्तोमा धमनीमा कुनै पनि प्रकारको अवरोधले रगतको आपूर्तिमा समस्या उत्पन्न हुनसक्छ र शरीरका अंगमा पर्याप्त रगत पुग्न पाउँदैन।

लक्षण
रिंगटा लाग्नु

आँखाले अँध्यारो देख्नु

वान्ता हुनु

थकान महसुस हुनु

हातखुट्टा चिसो हुनु

अनुहार सेतो देखिनु

सास फेर्न समस्या हुनु

सावधान रहनुपर्छ
न्युन रक्तचाप छ भने सावधान हुनुपर्छ। यो स्थितिमा शरीरका अंगमा सही हिसाबले रगतको आपूर्ति हुन सक्दैन, जसका कारण स्ट्रोक, हृदयाघात, मिर्गौला फेलजस्ता समस्या उत्पन्न सक्छ। रक्तचाप लो छ भने व्यक्ति बेहोस हुनसक्छ, जसका कारण टाउको गम्भीर चोट लाग्न सक्छ। यस्तोमा ब्रेन हेमरेज पनि हुनसक्छ।

के गर्ने?
खानामा नुनकोमात्रा सार्‍है कम नराख्ने। किनकि रक्तचाप कायम गर्न नुनको भूमिका पनि उत्तिकै हुन्छ।

दिनभरमा कम्तीमा ८ गिलास पानी या अन्य प्रकारका तरल पदार्थ आवश्यक हुन्छ, ताकि शरीर हाइड्रेट बनिरहोस्।

बसिरहेको बेला एक्कासी उठ्नुहुन्न।

औषधि डाक्टरको सल्लाहमा मात्रै सेवन गर्नुपर्छ। यदि कुनै औषधिबाट रियाक्सन हुन्छ भने रक्तचाप गडबड हुनसक्छ।

बढी मानसिक या शारीरिक तनाव लिनबाट बँच्नुपर्छ।

धूमपान र मध्यपान गर्नुहुँदैन।

खानामा सागसब्जी र फल बढी समावेश गर्नुपर्छ।

उच्च कार्बोहाइड्रेट भएको खानाबाट बँच्नुपर्छ।

उपचार के?
न्युन रक्तचापको लक्षण देखिनेबित्तिकै चिकित्सकको सल्लाह लिनुपर्छ। चिकित्सकले यसको कारण पत्ता लगााउँछन् र सोहीअनुसारको औषधि वा रक्तचाप सामान्य बनाउने उपायबारे सल्लाह दिन्छन्। योग र व्यायामले पनि रक्तचापलाई नियमित बनाउन सहयोग गर्छ। तर पहिलेदेखि नै रक्तचाप कम छ भने योग गर्नुअघि विशेषज्ञको सल्लाह लिनुपर्छ।

  • २४ बैशाख २०७९, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech