नेपालगन्जः बाँकेमा मृगौला प्रत्यारोपण गरेका एकजना व्यक्तिले कोरोना जितेका छन् । २०७० सालमा मृगौला प्रत्यारोपण गर्नुभएका राप्तीसोनारी गाउँपालिका–८ पेरानीका ३३ वर्षीय सरोजकुमार विश्वकर्माले कोरोना जित्नुभएको हो ।
कोरोना संक्रमण पुष्टि भएको १५ दिनपछि उहाँ संक्रमणमुक्त हुन सफल हुनुभयो । बैशाख २० गते उहाँलाई कोभिड पुष्टि भएको थियो । होमआइसोलेसनमा बसेका विश्वकर्मालाई भाइरसले च्याप्दै गएपछि २३ गते भेरी अस्पतालको कोभिड वार्डमा भर्ना हुनुभयो । ‘बैशाखको पहिलो साता मेरो आमाबुवासहित परिवारका सबै सदस्यलाई भाइरस संक्रमण भयो उहाँले स्वास्थ्य पेजलाई भन्नुभयो–‘म नेगेटिभ थिए तर उहाँहरुको केयर गर्दा गर्दै मलाई पनि २० गते संक्रमण पुष्टि भयो ।’
पेशाले शिक्षक समेत रहनुभएका विश्वकर्माले दरो आत्मबल र समयमै उपचार पाउने हो भने कोरोना जित्न सकिने बताउनुहुन्छ । ‘आत्मबलले मात्रै कोरोना जित्न सकिदैन उहाँले भन्नुभयो–‘समयमै रोगको पहिचान गरेर त्यहीअनुसारको उपचार पाउन सकियो भने मात्रै कोरोनालाई जित्न सकिन्छ ।’
उहाँले सरसफाई र आवश्यक सावधानी अपनाउन सबैलाई सुझाव पनि दिनुभएको छ । स्वास्थ्य सुरक्षाका मापदण्ड पूर्णरुपमा पालना गर्न उहाँको आग्रह छ । अहिले उहाँको सबै परिवार कोरोना संक्रमणबाट मुक्त भइसकेको छ ।
२०७० साल भदौमा काठमाडौंस्थित त्रिवि शिक्षण अस्पतालमा विश्वकर्माको मृगौला प्रत्यारोपण भएको थियो । उहाँलाई आमाले मृगौला दान गर्नुभएको थियो ।