काठमाडौं । पूर्वस्वास्थ्यमन्त्री प्रदीप पौडेलले सरकारी अस्पतालहरूमा ओपीडी सेवा खुम्चिँदै गएकोप्रति गम्भीर ध्यानाकर्षण गराउँदै सेवा विस्तार गर्न सरकारसँग आग्रह गरेका छन् ।
सार्वजनिक बिदाका दिनमा सरकारी अस्पतालमा ओपीडी सेवा उपलब्ध नहुँदा बिरामीहरूले ठूलो सास्ती भोग्नुपरेको उनले बताएका छन् । उनका अनुसार यस्तो अवस्थाले सर्वसुलभ र सहज हुनुपर्ने स्वास्थ्य सेवाको पहुँच घटाएको छ भने बिरामीमाथि थप आर्थिक भार पनि परेको छ ।
सामाजिक सञ्जालमार्फत उनले सरकारी सेवामा कमी आउँदा नागरिक निजी अस्पतालतर्फ धकेलिने अवस्था सिर्जना हुने र यसले समग्र स्वास्थ्य प्रणालीमा असन्तुलन ल्याउने जोखिम बढ्ने बताएका छन् । उनले सरकारी तथा निजी दुवै क्षेत्रलाई सन्तुलित रूपमा प्रोत्साहन गर्दै नागरिकमैत्री स्वास्थ्य प्रणाली निर्माण गर्नुपर्नेमा जोड दिएका छन् ।
नेपाली कांग्रेसका महामन्त्रीसमेत रहेका पौडेलले स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा सेवा कटौती गर्नुको सट्टा विस्तार गर्नुपर्ने आवश्यकता औंल्याएका छन् । उनले आफ्नो कार्यकालमा सुरु गरिएका सुधारका कार्यक्रमहरूलाई निरन्तरता दिन पनि सरकारसँग आग्रह गरेका छन् ।
पौडेलले आफ्नो कार्यकालका प्रमुख उपलब्धिहरू सम्झँदै सार्वजनिक बिदामा पनि सेवा सञ्चालन गर्न स्वास्थ्यकर्मीलाई प्रोत्साहन, ओपीडी सेवा दुई सिफ्टमा सञ्चालन, ‘एक्सटेन्ड हेल्थ सर्भिस’ लागू, स्वास्थ्यकर्मीका लागि प्रोत्साहन भत्ता तथा २५ सय नयाँ जनशक्ति थप गर्ने प्रक्रिया अघि बढाइएको बताएका छन् ।
उनले स्वास्थ्य सेवा अझ प्रभावकारी, पहुँचयोग्य र नागरिकमुखी बनाउन यस्ता सुधारहरूलाई निरन्तरता दिन आवश्यक रहेको उल्लेख गरेका छन् ।







