नेपालगन्ज: अन्तर्राष्ट्रिय छारेरोग (Epilepsy) दिवसको अवसरमा नेपालगन्ज न्यूरो हस्पिटलले छारेरोग सम्बन्धी जनचेतनामुलक कार्यशाला गरेको छ । छारेरोगको पहिचान, उपचार र समाजमा फैलिएका भ्रमहरू चिर्नुका साथै समुदाय स्तरमा जनचेतना फैलाउन सचेतनामुलक कार्यशाला आयोजना गरिएको अस्पताल प्रशासनले जनाएको छ ।

कार्यक्रमका सहभागीहरु
कार्यक्रममा अस्पतालका वरिष्ठ न्यूरोसर्जन डा. जोशन न्यौपानेले छारेरोगका लक्षण, उपचारका उपाय र समाजमा यसलाई हेर्ने दृष्टिकोणबारे जानकारी दिएका थिए । डा. न्यौपानेका अनुसार, “छारेरोग सामान्य न्यूरोलोजिकल समस्या हो, तर समाजमा अझै पनि अन्धविश्वास र डरका कारण बिरामीप्रति गलत दृष्टिकोण रहन्छ । यी भ्रम चिर्न र बिरामीलाई उपचारमा सहज पहुँच दिलाउन जनचेतना अत्यावश्यक छ ।”
डा. न्यौपानेले सिकेका कुरा घर, परिवार र समाजमा पुर्याउन सबैले भूमिका निर्वाह गर्नुपर्नेमा सहभागीलाई आग्रह गरे ।

सहभागीहरुसँग डा.जोशन न्यौपाने
अस्पतालले हरेक वर्ष झैं यस वर्ष पनि शिक्षक, विद्यार्थी र स्वास्थ्यकर्मीहरूसँग बसेर छारेरोगबारे मन्थन गरेको जनाएको छ । कार्यक्रममा ज्ञानोदय मावि खजुरा र मंगल प्रसाद मावि नेपालगन्जका शिक्षक, शिक्षिका र विद्यार्थीहरू साथै अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारीहरू सहभागी भएका थिए ।








