काठमाडौंः नेपालको मेडिकल शिक्षाले यस वर्ष एउटा महत्वपूर्ण मोड लिएको छ। एमबीबीएस कार्यक्रमतर्फ सरकारले विदेशी विद्यार्थीका लागि छुट्याएको सिटमा पहिलोपटक शतप्रतिशत भर्ना हुने अवस्थामा पुगेको छ। कहिल्यै नभरिने मानिएका विदेशी सिट यसपटक पूरै भरिनु केवल संख्यात्मक उपलब्धि मात्र होइन, नेपालको मेडिकल शिक्षाप्रति बढ्दो अन्तर्राष्ट्रिय भरोसाको संकेत पनि हो।
चिकित्सा शिक्षा आयोगका सूचना अधिकारी अर्जुन ढकालका अनुसार यस वर्ष एमबीबीएस कार्यक्रमका लागि विदेशी विद्यार्थीका लागि छुट्याइएका ७४९ वटै सिटमा भर्ना हुने तयारी अन्तिम चरणमा पुगेको छ। “अघिल्ला वर्षमा केही सिट खाली रहने गर्थे, तर यस वर्ष सबै सिट विदेशी विद्यार्थीले भरिने अवस्था बनेको छ,” ढकाल भन्छन्।
आयोगका अनुसार अघिल्लो वर्ष सन् २०२५ मा विदेशीका लागि एमबीबीएस कार्यक्रममा ५९४ सिट छुट्याइएको थियो । तर, ४८२ जना मात्रै विदेशी विद्यार्थी भर्ना भएपछि आयोगले ११२ सिट फेरि नेपाली विद्यार्थीका लागि खुला गरेको थियो ।
आयोगले यसै वर्ष एमबीबीएस कार्यक्रमतर्फ ४९५ सिट संख्या थपेको थियो । यसअघि एमबीबीएसमा २१ सय ४० सिट संख्या तोकिएकोमा यस वर्षदेखि यो सिट संख्या बढाइएको हो । ४९५ सिट थपिएपछि एमबीबीएसतर्फ सिट संख्या २६ सय ३५ पुगेको छ ।
एमबीबीएस पढ्न नेपाल आउने विदेशी विद्यार्थीले नेपालका विभिन्न २७ वटा मेडिकल कलेजमा अध्ययन गर्नेछन् । आयोगले समूहगत रूपमा बाँडबाँट गरेको सिट संख्याका आधारमा उनीहरूले विभिन्न मेडिकल कलेजमा अध्ययन गर्नेछन् ।
७४९ विदेशी विद्यार्थीका लागि छुट्याइएको सिट संख्याबाट विदेशी विद्यार्थी पढाउन सबैभन्दा धेरै चितवनको कलेज अफ मेडिकल साइन्सेस टिचिङ हस्पिटलले ६५ सिट पाएको छ ।
त्यसपछि मणिपाल कलेज अफ मेडिकल साइन्सेजले ६०, विराट मेडिकल कलेजले ४३, काठमाडौं मेडिकल कलेजले ४३, धुलिखेल हस्पिटलले ४३, चितवन मेडिकल कलेजले ४३, किस्ट मेडिकल कलेजले ४०, लुम्बिनी मेडिकल कलेजले ४०, युनिभर्सल कलेज अफ मेडिकल साइन्सेस एन्ड टिचिङ हस्पिटलले ४० र गण्डकी मेडिकल कलेजले पनि ४० सिट पाएका छन् ।
त्यसैगरी, नेपाल मेडिकल कलेज काठमाडौंले ४३ सिट, नेपाल आर्मी हस्पिटलले ४ सिट, नेपालगञ्ज मेडिकलल कलेजले ४३ सिट, नोबेल मेडिकल कलेजले ४३ सिट, पाटन हस्पिटलले ६ सिट, पोखरा एकेडेमी अफ हेल्थ साइन्सेसले ४ सिट, पूर्वाञ्चल यूर्निभर्सिटी स्कुल अफ हेल्थ साइन्सेसले ४ सिट र राप्ति एकेडेमी अफ हेल्थ साइन्सेसले पनि ४ सिट पाएका छन् ।
त्यस्तै, देवदह मेडिकल कलेजले ३० सिट, जानकी मेडिकल कलेजले २० सिट र झापाको बी एन्ड सी मेडिकल कलेज टिचिङ हस्पिटलले २० सिट पाएका छन् ।
यसका साथै महाराजगञ्ज मेडिकल क्याम्पसले ९ सिट, बीपी कोइराला इन्टिच्युट आफ हेल्थ साइन्ससेसले ९ सिट, कर्णाली एकेडेमी अफ हेल्थ साइन्सेसले ५ सिट, मधेश इस्टिच्युट अफ हेल्थ साइन्सले ४ सिट र मदनभण्डारी एकेडेमी अफ हेल्थ साइन्सले ४ सिट पाएका छन् ।
आयोगले सार्वजनिक गरेको तथ्यांकअनुसार नेपालमा डाक्टर पढ्न आउने विदेशी विद्यार्थीमा सबैभन्दा बढी भारतीय छन् । यसबाहेक केही श्रीलंका, माल्दिभ्स, अस्ट्रेलिया, साउथ कोरिया, ओमान, अमेरिकालगायतका देशबाट समेत नेपालमा एमबीबीएस अध्ययन गर्न आउने गरेका छन् ।
भारतको नेसनल इलिजिबिलिटी कम इन्ट्रान्स टेस्ट (निट) मा उत्तीर्ण भएकाहरूले सिधै नेपालमा एमबीबीएस अध्ययनका लागि आवेदन दिन पाउँछन् । उनीहरूको र्यांकअनुसार क्रम निर्धारण गरेर आयोगले सिटअनुसार उनीहरूको म्याचिङ गर्ने गर्छ । मेरिट लिस्टमा अगाडि भएकाहरूले फस्ट क्याटगोरीमा भर्ना पाउँछन् भने बाँकी रहेको सिटमा सेकेन्ड क्याटगोरीबाट भर्ना गरिन्छ । यसका साथै चिकित्सा शिक्षा आयोगले कमन इन्ट्रान्स पनि लिने गर्छ ।
विदेशी विद्यार्थीले नेपालमा एमबीबीएस गर्न लाग्ने खर्च युनिभर्सिटीअनुसार फरकफरक पर्छ । तर, औसतमा प्रतिव्यक्ति करिब १ करोड रुपैयाँ खर्च हुने अनुमान गरिन्छ । नेपालमा मेडिकल शिक्षातर्फ विभिन्न १७ विधामा पठनपाठन हुन्छ । पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा पनि नेपालमा उत्पादन भएका एमबीबीएस डाक्टर र नर्सको माग बढ्दो छ ।








