स्वास्थ्य कार्यक्रम सूचकाङ्कमा डुडुवा जिल्लाकै पहिलो, अन्य पालिकाको अवस्था के छ ?

    • स्वास्थ्य पेज

  • २३ पुष २०८२, बुधबार

नेपालगन्जः बाँकेको डुडुवा गाउँपालिका आर्थिक वर्ष २०८१/०८२ मा स्वास्थ्य कार्यक्रमहरुको सूचकाङ्कमा जिल्लाकै पहिलो भएको छ । विभिन्न ३२ वटा इन्डिकेटरबाट प्राप्त ९० अंक र स्वास्थ्य कार्यालयले प्रदान गर्ने १० अंक गरी कूल एक सय अंकमध्ये ७९.३६ प्रतिशत अंक ल्याएर डुडुवा गाउँपालिका पहिलो भएको हो ।

जानकी गाउँपालिका दोस्रो भएको छ । जानकी गाउँपालिकाले ७५.२१ प्रतिशत अंक प्राप्त गरेको छ । त्यसैगरी ७१.९७ प्रतिशत अंक ल्याएर खजुरा गाउँपालिका तेस्रो भएको छ । राप्तीसोनारी गाउँपालिका चौथो, नरैनापुर गाउँपालिका पाँचौँ, बैजनाथ गाउँपालिका छैटौँ, कोहलपुर नगरपालिका सातौँ र नेपालगन्ज उपमहानगरपालिका आठौँ स्थानमा रहेका छन् ।

प्रमाणपत्र ग्रहण गर्दै जानकी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख दलबहादुर राना ।

खोप, परिवार नियोजन, सुरक्षित मातृत्व, टीबी, क्षयरोग, पोषण लेखाजोखा, सुशासन लगायतका सूचकाङ्कलाई आधार बनाएर मूल्याङ्कन गरिएको हो । ‘यी सबै सूचकाङ्कका आधारमा मूल्याङ्कन गर्दा डुडुवा, जानकी र खजुराको कार्यसम्पादन उत्कृष्ट देखियो,’ स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत नरेश श्रेष्ठले भने, ‘अन्य पालिकाहरूको कार्यसम्पादनलाई समेत सुधार गरेर अघि बढ्न सुझाएका छौँ ।’

प्रमाणपत्र ग्रहण गर्दै खजुरा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख लक्ष्मी ओली ।

कार्यसम्पादनमा उत्कृष्ट भएका डुडुवा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख सिताराम चौधरी, जानकी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख दलबहादुर राना र खजुरा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख लक्ष्मी ओलीलाई लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेमबहादुर सारु, नेपालगन्जका नगर प्रमुख प्रशान्त विष्ट, स्वास्थ्य सचिव दुर्गालक्ष्मी श्रेष्ठ लगायतले दोसल्ला ओढाएर सम्मानसहित प्रमाणपत्र प्रदान गरेका थिए ।

स्वास्थ्य कार्यालय बाँकेद्वारा बुधबार नेपालगन्जमा आयोजित आर्थिक वर्ष २०८२/८३ को प्रथम चौमासिक अवधिका जनस्वास्थ्य कार्यक्रमहरूको समीक्षा तथा कार्ययोजना गोष्ठीमा उनीहरु सम्मानित भएका हुन् ।

  • २३ पुष २०८२, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई healthpage0@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech